विचार

फरक स्वभावका राजा विरेन्द्र र रानी ऐश्वर्या

फरक स्वभावका राजा विरेन्द्र र रानी ऐश्वर्या

King Birendra

दरबारमा ३५ वर्षे दीर्घसेवामा संलग्न रेवतीरमण खनाललाई दरबारभित्र संकलित दृश्य ‘सिलबन्दी’मा राख्नुपरेन । राजतन्त्र र दरबार यथावत् रहेको भए उनको अनुभूति ‘सिलबन्दी’मै सीमित रहन्थ्यो, कम्तीमा उनको जीवनभर । राजतन्त्र हुँदा ‘दरबारका कुरा’ बाहिर ल्याउनु भनेको विध्वंस निम्त्याउनुसरह हुन्थ्यो । खनालले भूमिकामा लेखेको एक वाक्य काफी छ, ‘लेखेर गोप्य सिलबन्दी गरेर राख्छु । मेरो शेषपछि प्रकाशित गरे हुन्छ ।’ ‘जाने दरबार नजाने तरबार’को स्कुलिङमा हुर्किएकाहरूले जिउँदै छँदा ‘दरबारका कुरा’ लेख्न सक्ने अवस्था थिएन । तर लोकतन्त्र बहालीसँगै राजतन्त्र समाप्त भयो । ‘

सिलबन्द’ अनुभवका पोका आफैंलाई खोल्ने अवसर मिल्यो, खनाललाई । उनले भर्खरै त्यसलाई पुस्तकका रूप दिए ‘अनुभूति र अभिव्यक्ति ।’ ‘सिलबन्द अनुभव’मा केही थप र परिमार्जन गरी प्रकाशित गरेका हुन् उनले । दरबारका ‘गोप्य विषय’ बाहिर ल्याउने मामलामा राजा वीरेन्द्रका शाही पाश्र्ववती र ज्ञानेन्द्रका सैनिक सचिव विवेककुमार शाहले बाजी मारिसकेका थिए, २०६७ मै । दरबार–सेनाका पोका–पन्तुरा खोल्ने क्रमको सुरुआत उनै सैन्यसचिव शाहबाट भएको हो, ‘मैले देखेको दरबार’ मार्फत् । महेन्द्र र वीरेन्द्र दुवैले मन पराएका ‘काजी’ ईश्वरीमान श्रेष्ठले २०७० मा दरबारभित्रका केही तथ्यहरू सामेल गरी ‘आत्मकथा’ सार्वजनिक गरेका थिए । दरबारका कुरा लेख्नेमा खनाल तेस्रा पात्र हुन् । त्यसो त, पञ्चायती राजनीतिक हस्ती नवराज सुवेदीको २०६९ मा प्रकाशित पुस्तक ‘इतिहासको एक कालखण्ड’मा दरबारभित्रका केही दृश्य सामेल छ ।

ईश्वरीमान श्रेष्ठ

जसले ४० वर्ष राजदरबारभित्र बिताए– काजीको दर्जा प्राप्त गर्ने सपना पूरा गरी बाहिरिएका थिए । २००८ मा दरबार प्रवेश गरी २०४८ मा बाहिरिएका यिनले तीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको सहयोगी भई काम गरे । खनाल भने मुलुकमा पञ्चायती व्यवस्था आगमनसँगै २०१७ फागुन १५ मा जनसम्पर्क अधिकृतको जागिरसँगै दरबार प्रवेश गरेका थिए । २०५२ वैशाख १ मा राजप्रासाद सेवाको प्रमुखसचिवको जिम्मेवारी पूरा गरी अवकाश लिएका हुन् उनले । शासकीय शक्ति खेलाउने ‘दरबार–सेना’ दुवैका विषयबारे कमै मात्र तथ्यहरू बाहिर आउँथ्यो, पञ्चायत र संसदीय कालखण्डभरि । दरबार–सेनाजस्ता रहस्यमय शक्तिकेन्द्रबारे बेला–बखत त्यहाँबाट चुहिएर आउने सूचनाले र्‘युमर’ सिर्जना गथ्र्याे । दरबारलाई अपारदर्शी र षड्यन्त्रको शासकीय थलो ठानिन्थ्यो । पारिवारिक किचलो, सचिव–एडीसीहरू षड्यन्त्रकारी खेलले सिंहदरबार अस्थिर हुन्थ्यो । तिनै दृश्यलाई लक्षित गर्दै पञ्चायती हस्ती सूर्यबहादुर थापाले ‘भूमिगत गिरोह’ र ‘असंवैधानिक शक्ति केन्द्र’का पदावली भित्र्याएका थिए ।

अब राजतन्त्र नरहेपछि दरबारका कुरा खोतल्दै छन्, पूर्वदरबारिया कर्मचारीहरू पनि । भलै पूर्वराजदरबारका विषयमा स्वतन्त्र अनुसन्धानमूलक फेहरिस्त अझै बाहिर आएका छैनन् । त्यही कारण तिनै पूर्व कर्मचारीका संस्मरणमा चित्त बुझाउनुपरेको छ । सेनाका सबाल भने सायदै अब गोप्य रह्यो, पूर्व सेनापतिद्वय रुक्मागद कटवाल र छत्रमान गुरुङका ‘बहादुरी आत्मकथा’ बजारमा ‘हिट’ भइसकेका छन् । यसले अरू जर्साबहरूलाई आत्मकथा लेख्ने हौसला बढाएको हुनुपर्छ । तर, उनीहरूको पुस्तकमा दिवंगत राजा वीरेन्द्रको वंश नास कसले र कसरी र्गयो भन्नेचाहिं भेट्टाउन सकिंदैन, सैन्य–सचिव शाहको ‘मैले देखेको दरबार’देखि रेवतीरमण खनालका अनुभूतिसम्ममा । उनीहरू सबै अनुमानमै सीमित छन् । २०५८ जेठ १९ को राति दरबारमा वीरेन्द्रको वंश समाप्त भएको थियो । उनीहरूको संकेतचाहिं दीपेन्द्रतिरै देखिन्छ, स्वभाव विश्लेषण गर्दै । दीपेन्द्रप्रति शाह र खनालको समान अनुभव छ, ‘दीपेन्द्र अस्वाभाविक उपद्रोकर्ता, हठी, बदमासी, परपीडक स्वभावयुक्त पात्र हुन् ।’

दरबारभित्रको तत्कालीन परिस्थिति र दीपेन्द्रको चरित्र–स्वभावलाई आधार मान्दै उनैलाई प्रमुख दोषी देखाउन खोजिएको छ । उता, ईश्वरीमान श्रेष्ठ भने ‘दीपेन्द्र भद्र, शालीन र दयालु युवराज’ ठान्छन् । तर उनै श्रेष्ठको तर्क छ, ‘युवराज दीपेन्द्रको प्रेमहठ र रानी ऐश्वर्यको राजहठको परिणाम दरबार हत्याकाण्ड थियो कि भन्ने लाग्छ ।’ ... दरबारका कुरा लेख्नेहरूले ‘बडामहारानी ऐश्वर्य’को स्वभावबारे राम्रैसँग खुलाएका मात्र छैनन् कि उनलाई ‘तारो’ नै बनाएका छन् । लेखकहरूको समान धारणा छ– रानी ऐश्वर्यको स्वभाव ‘रफ’ थियो । उनी चर्कैसँग रिसाउँथिन् । दरबारका प्रमुख सचिवहरूलाई ठाडै हकार्थिन् । छोरा दीपेन्द्रलाई रूखो स्वरमा गाली गर्थिन् । खनाल लेख्छन्, ‘दरबारको बैठक तथा बगैंचामा काम गर्ने कर्मचारीहरूले पनि बडामहारानीलाई अति कडा भन्थे ।’ शाही परिवारसम्बन्धी नियमावली रानी ऐश्वर्यको जिद्दीकै कारण ‘सुधार’ हुन सकेन । राज्य सञ्चालन रानीको हठले ‘प्रमुखता’ पाउँथ्यो भने वीरेन्द्र मौनता साँध्थे । खनालका अनुसार, २०३१ मा राजपरिवारमा ‘श्री ५’ को उपाधि पाएकाहरूले गल्ती गरेमा कानुनी सजायसम्बन्धी व्यवस्था नियमावलीमा उल्लेख हुन नहुने र राजाबाट जे हुन्छ, त्यही मान्नुपर्ने धारणा ऐश्वर्यबाट आयो ।

त्यसमा राजा वीरेन्द्र मौन रहे । श्रेष्ठको पनि उही अनुभव छ, ‘रानी ऐश्वर्यमा यस्तो हठ थियो कि प्रधानमन्त्री कसलाई बनाउने ? राज्य सञ्चालन कसरी गर्ने ? कर्मचारीतन्त्रको व्यवस्था कसरी गर्ने भन्ने विषयमा राजा वीरेन्द्रभन्दा रानी ऐश्वर्य एक कदम अघि भएको आभास हामीलाई हुन्थ्यो । कुनै पनि महत्त्वपूर्ण निर्णयमा रानी ऐश्वर्यको सहभागिता रहन्थ्यो ।’ श्रेष्ठ २०३७ मा राजा वीरेन्द्रका स्वकीय सचिव भएका थिए । रानी ऐश्वर्यको राजनीतिमा सक्रियता, एडीसीहरूको हैकम, शरदचन्द्र शाहको हालीमुहालीका कारण काम गर्न असहज भएको उल्लेख गरका छन् उनले । राजा महेन्द्र र वीरेन्द्र दुवैसँग निकै नजिकका राजनीतिक पात्र मानिन्थे, नवराज सुवेदी पनि । उनी पञ्चायतको आगमनसँगै मन्त्री र पञ्चायतको उत्तराद्र्धमा राष्ट्रिय पञ्चायत अध्यक्ष थिए । उनको पुस्तकमा पनि ‘रानी ऐश्वर्यको महत्त्वाकांक्षा, राजाको निरीहता, दरबारिया सचिवहरूको दबदबा’का केही झलक उल्लेख छन् ।

उनका अनुसार, ‘श्री ५ साह्रै भद्र र सोझा व्यक्ति । रानीको बढी सक्रियता र सचिवहरूको बढी दबदबाजस्ता कारणले राजा वीरेन्द्रको समयबाट राजसंस्थाको अधोगति सुरु भयो । सचिव र एडीसीहरू राजाका रूपमा देखिन थाले । मन्त्रिपरिषद् स्थापना मात्र हुन गयो । रानीले भनेपछि राजा कुरा नकाट्ने, प्रत्येक निर्णयमा रानीको उपस्थिति अनिवार्य हुँदै गयो । यसलाई सचिव र एडीसीहरूले आफ्नो स्वार्थ पूर्तिमा प्रयोग गर्न थाले ।’ हुन पनि वीरेन्द्रको पालामा शासनमा रानी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्रको बढ्ता प्रभाव थियो । रानी र दुई भाइलाई शासकीय कार्य्विभाजन गरिएको थियो । रानी ऐश्वर्य सामाजिक क्षेत्र हेर्थिन् । ज्ञानेन्द्रको भागमा वन तथा पर्यटन परेको थियो । अधिराजकुमार धीरेन्द्र प्रहरी हेर्थे । राजा वीरेन्द्र भने परराष्ट्र र राष्ट्रिय सुरक्षामा केन्द्रित थिए । त्यहीकारण चालीस दशकमा आमतहमै टिप्पणी हुन्थ्यो, ‘शासकीय शक्ति जति भाइ–भारदार खेलाउँछन् ।

रानी ऐश्वर्य पनि अधिक शक्ति उपयोग गर्छिन् । वीरेन्द्र त थापना मात्रका राजा हुन् ।’ रानी ऐश्वर्य समाज कल्याण परिषद् संरक्षक थिइन्, २०३४ पछि । त्यो संस्थाका निम्ति चन्दा संकलनको खेती खुब भयो । सँगै समाजमा अनेकन ‘किंवदन्ती’ सुनिन्थे । खुला आलोचना हुन सक्ने सम्भावना थिएन, सक्रिय राजतन्त्र भएकाले । दरबार नजिक हुने होडमा अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीहरू ‘चन्दा’ संकलन अभियानमा उत्रिए । व्यापारीहरूबीच परिषद्लाई चन्दा दिने होडबाजी नै चलाइयो । त्यतिखेर चन्दाअनुरूप ‘विभूषण’ दिने नीति परिषद्ले लिएको थियो । खनाल लेख्छन्, ‘नेपालका ठूला साहु–महाजन व्यापारीले धेरै चन्दा दिएर तक्मा पाउने थाले ।’ पञ्चायतको उत्तराद्र्धताका त्यो अथाह चन्दा रानीले ‘स्वीट्जरल्याण्ड बैंक’मा पम्फादेवीको नाममा राखेको हल्लाले सहर तरंगित भयो । ‘स्वीस बैंक खातामा १६ करोड अमेरिकी डलर राख्ने पम्फादेवी ठकुरी भनेकी को हुन् ?’ सबैको मुखमा झुन्डियो यो प्रश्न । २०४६ पहिलो जनआन्दोलनलई आक्रामक बनाउन पनि ‘पम्फादेवी’ र ‘स्वीस खाता’ले खुब काम र्गयो । उपल्ला व्यापारीका चन्दा र विदेशी सहायताबाट प्राप्त रकम ऐश्वर्यले आफ्नै खातामा राखेको टीकाटिप्पणीको पृष्ठभूमिमा ‘स्वीस खाता र पम्फादेवी’ प्रकरणलाई अकाट्य सत्य ठानियो । त्यहीखाले ‘हल्ला’ तीसको दशकमा पनि देखा नपरेको होइन, पात्र मात्र फरक थिए ।

त्यतिखेरको त्यो हल्ला आमतहमा नभएर शासकीय वृत्तमा मात्र सीमित थियो । जब राजा महेन्द्रको मृत्यु भयो, तब उनैका प्रमुखसचिव ईश्वरीमान श्रेष्ठलाई जर्मनीको राजदूत बनाइयो । वीरेन्द्रले उनलाई युरोपेली मुलुकमा आफ्ना पिता महेन्द्रको सम्पत्ति कहाँ, कति छ भनेर बुझ्न र व्यवस्थापन गर्न पठाएको टिप्पणी चलेको थियो त्यो बेला । हुन पनि, दरबारमा कार्यरत रहँदारहँदै श्रेष्ठलाई राजदूत बन्ने अवसर मिलेको थियो । उनी २०३७ सम्म राजदूतमा कार्यरत रहेर फेरि वीरेन्द्रको स्वकीय सचिव हुन आइपुगेका थिए । चालीस वर्षपछि श्रेष्ठले त्यसलाई ‘अफवाहपूर्ण आशंका’ मात्र भन्ने जिकिर गरेका छन् । राजा महेन्द्र र वीरेन्द्रले दरबारिया, दरबारमा कार्यरत कर्मचारी र बफादार पञ्चहरूलाई सरकारी सम्पत्ति ‘बक्सिस’ दिने प्रचलन बसाएका थिए । त्यतिखेर कतिपयलाई जंगल नै आफ्नो नाममा गराउने अवसर मिल्यो । त्यसरी सबभन्दा बढी पाउनेमा यिनै काजी ईश्वरीमान श्रेष्ठ थिए ।

उनले विराटनगरमा सिंगो ब्यारेक नै बक्सिस पाएका थिए । श्रेष्ठले आफ्नो पुस्तकमा सगर्व लेखेका छन्, ‘राजा महेन्द्रबाट कमलादीमा युवराज्ञीहरू शान्ति राज्यलक्ष्मी, शारदा राज्यलक्ष्मी, शोभा राज्यलक्ष्मीहरूकै घरको आडमा २ रोपनी ८ आना जग्गा र घर निर्माण गर्न १ लाख रुपैयाँ बक्सिस उपलब्ध भयो । राजाबाट गोदावरीमा ८० रोपनी जग्गा, चितवनमा केही बिघा जग्गा, विराटनगरमा सिंगो ब्यारेक नै बक्स प्राप्त भएको थियो भने सिमरामा श्रीमतीका निम्ति १५ बिघा जग्गा बक्स भएको थियो ।’ यसैगरी खनालले पनि हुकुम प्रमांगीबाटै कालीमाटीमा ठूलो परिमाणमा जग्गा प्राप्त गरे । उनीहरू मात्रै होइन, जो घरानियाँ र शक्तिसम्पन्न बनेका छन्– उनीहरूमध्ये धेरैले त्यो हैसियत बनाउनुको प्रमुख आधार उही हुकुम प्रमाङ्गी थियो । तर त्यो लाभ शाही परिवारका सदस्य र दरबारले मन पराएका व्यक्तिले मात्र प्राप्त गर्थे ।

खनालको पुस्तकमा राजा महेन्द्रको भारतप्रतिको दृष्टिकोणबारे छोटो प्रसंग छ । २०२६ फागुनमा राजा वीरेन्द्रको विवाह हुँदै थियो । त्यतिखेर विभिन्न देशका राजकुमारहरू, सरकारप्रमुखहरू र भारतबाट राष्ट्रपति निम्ता मान्न आएका थिए । पाहुनालाई राजा महेन्द्रले सम्बोधन गर्ने कार्यक्रम थियो । र, आफ्नो मन्तव्यमा महेन्द्रले घुमाउरो शैलीमा भारतप्रति असन्तुष्टि जनाउने एउटा वाक्य पारे, ‘भारतले नेपाललाई सानो भाइलाई जस्तै असुविधा गर्छ ।’ त्यो भाषण परराष्ट्र सचिव यदुनाथ खनाललाई लेख्न लगाइएको थियो । पाहुनासामु त्यस्तो वाक्य राख्न उचित नहुने मान्यता भए पनि महेन्द्रले ‘जिद्दी’ गरेर त्यो वाक्य राख्न लगाएका थिए ।

त्यसले भारतीयहरूलाई बेखुसी तुल्याएको थियो । पञ्चायत र संसदीय कालखण्डमा दरबारभित्रका ‘कुरा’ लेख्न वा बोल्न सकिने अवस्था थिएन । त्यहीकारण त्यहाँका क्रियाकलाप रहस्यमय रहे । कतिपय त किंवदन्तीमा परिणत भए । दरबारका दुई पूर्व प्रमुखसचिव श्रेष्ठ र खनाल, अनि सैन्य सचिव शाहको संस्मरण–पुस्तकले थोरै मात्र पर्दा खोलेको छ । उनीहरू अझै पनि डराएका पो हुन् कि ! कान्तिपुरबाट

King Birendra