देश पर्यटन

पर्यटकीय क्षेत्र बयलीखर्क ओझेलमा

पर्यटकीय क्षेत्र बयलीखर्क ओझेलमा

Myagdi

साउन ३० । म्याग्दीको पर्यटकीय शिख–४ स्वाँतको बयलीखर्क ओझेलमा परेको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको बयलीखर्क प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । समुद्री सतहदेखि तीन हजार ४५० मिटर अग्लो ठाउँमा अवस्थित बयलीबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृष्यसँगै धौलागिरि रेन्जका दर्जन बढी हिमशृङ्खला देखिन्छ ।

अनेकौ अग्ला डाँडाकाँडाको प्राकृतिक सुन्दरतालाई नियाल्न सकिने बयलीबाट विभिन्न बस्तीसमेत अवलोकन गर्न सकिने स्थानीय लोकबहादुर पाइजाले बताए । “यहाँ आउने पर्यटक हिमशृङ्खलाको अवलोकन, लालीगुराँसको जङ्गल र यहाँका प्राकृतिक सौन्दर्यताले खुसी हुँदै फर्कने गरेका छन् । विशेष गरी चरन क्षेत्रमा रहेका चौरीको अवलोकन गर्न पाउनु पनि यहाँको थप विशेषता होे ।”

अहिले विशेष गरी नागी–महरे–टिकोट–खिवाङ–स्वाँत, ढाडखर्क हुँदै खोप्रा पुगेका पर्यटक बयली हुँदै घान्द्रुक क्रस गर्ने गरेका छन् । त्यस्तै घोरेपानीको भ्रमणमा आएका पर्यटकसमेत स्वाँत–ढाँडखर्क–खोप्रा हुँदै बयलीमा पुग्ने गर्छन् । कतिपय पर्यटक भने घान्द्रुकबाट छिरेर बयली हुँदै खोप्रालेक जाने गरेको पाइजाले बताए ।पहिलेदेखि नै बयलीमा पर्यटकले क्याम्पिङ गरी बस्दै आए पनि विगत सात वर्षदेखि भने स्वाँतका स्थानीयवासीले सामुदायिक लज सञ्चालन गर्दै आएका छन् ।  यस क्षेत्रका बारेमा आवश्यक प्रचारप्रसार नहुनु र पदमार्ग, खानेपानी, आवासलगायतका पूर्वाधारको अभावले यथेष्ट पर्यटक भित्रन नसकेको उनको भनाइ छ । बयली स्वाँतदेखि करिब चार घन्टाको पैदल दूरीमा रहेको छ । करिब ५० घरधुरीको बसोबास रहेको स्वाँतमा समेत पर्यटकलाई लक्षित गरी चारवटा सुविधायुक्त लज सञ्चालनमा रहेका छन् ।

Bayali Kharka Myagdi