अन्तरवार्ता कभर स्टोरी समाज

भोको पेट बस्दैमा भगवान खुुसी हुँदैनन्

भोको पेट बस्दैमा भगवान खुुसी हुँदैनन्
anupama-dahal-nepalaajaअनुपमा दाहालसँग शास्त्रीय नृत्य र अध्यात्मको अटुट सम्बन्ध छ भन्दा फरक पर्दैन । काठमाडौं जोरपाटीकी अनुपमा ध्यान र अध्यात्ममा गहिरो रुचि राख्छिन् । तर उनी आफूलाई नृत्यकै विद्यार्थी भन्न रुचाउँछिन् । नेपालआजले उनको जीवन, संघर्ष र विचार बुझने प्रयास गरेको छ । प्रस्तुत छ उनीसँग नेपाल आजका लागि कञ्चन न्यौपानेले गरेको कुराकानीको संपादित अंशः तपाईको बाल्यकाल कहाँ र कसरी बित्यो ? म काठमाडौँको बानेश्वरमा जन्मेँ । बानेश्वरमै हुर्के, यतै बाल्यकाल बित्यो । तपाईलाई ‘एक्स्ट्रा अर्डिनरी प्राक्टिस्नर’ भनिँदोरहेछ, कारण के हो ? म आफैलाई ‘एक्स्ट्रा अर्डिनरी’ छु जस्तो लाग्दैन । गायन, ‘डान्सिङ’लगायत धेरै क्षेत्रमा हात हालेको कारण मानिसहरुले त्यस्तो भनेका हुन सक्छ । १६ वर्षककै उमेरमा मैले अध्यात्मिक ज्ञान पाएँ । मेरो गुरु विद्याधरा आचार्य महायोगी श्रीधर राना रिम्पोचे हुनुहुन्छ । अध्यात्मिक ज्ञान प्राप्त गर्ने क्रममा कुनै पनि वस्तु र अवयवलाई हेर्ने दृष्टिकोणमा आएको विविधताका कारण मलाई ‘एक्स्ट्रा अर्डिनरी’ भनिएको होला । हिजोआज मानिसहरुको जीवनशैली अस्तव्यस्त हुन थालेको छ । यस्तो परिवेशमा अध्यात्मिक ज्ञानको महत्व कति हुन्छ ? नकारात्मक संस्कारको विकास भइरहेको अहिलेको समयमा अध्यात्मिक ज्ञानको धेरै महत्व छ । विज्ञानले धेरै विकास गर्यो । तर यसले नकारात्ममक परिणाम पनि सिर्जना गरिदियो । नकारात्मक परिणामलाई सन्तुलित गर्न अध्यात्मको महत्व धेरै हुन्छ । आफूलाई गायिका भनेर चिनाउन मन लाग्छ या ‘डान्सर’ ? मलाई ‘डान्सर’ नै भनेर चिनिन मन लाग्छ । म यो क्षेत्रकै हुँ जस्तो लाग्छ । पाँच वर्षको उमेरमा मैले प्रज्ञा प्रतिष्ठानमा ‘पुतली पुतली’ भन्ने गीतमा नाचेकी थिएँ । त्यो समयदेखि नै मेरो नृत्यको यात्रा सुरु भयो र अहिलेसम्म पनि निरन्तरता दिइरहेको छु । ‘डान्सर’ भनिन नै मलाई सहज लाग्छ । किनभने मैले नृत्य सिकाइ पनि रहेकी छु र विभिन्न संस्थाहरुमा आवद्ध पनि छु । तर संगीतमा भने पछि प्रवेश गरेकी हुँ । रुचि छ तर संगीतमा आफू कमजोर नै छु जस्तो लाग्छ । सिक्न धेरै बाँकी छ । आफूमा प्रतिभा छ भन्ने कसरी थाहा पाउनुभयो ? म नाच्न सक्छु भन्ने त पाँच वर्षकै उमेरबाट थाहा भइहाल्यो । गायिकाको रुपमा चाहँी मैले मेरो गुरुसगँ काम गर्दै जाँदा सिकेँ । ममा एक्कासी कविताहरु लेख्ने र गीत गाउँने बानी विकास हुन थाल्यो । आफूमा त्यो बानीको विकास भइसकेपछि मैले त्यसलाई गुनगुनाउन थालेँ  । सबैले मन पराउन थालेपछि मैले पनि गीत गाउन सक्ने रहेछु भन्ने लाग्यो । २००७ मा मैले पहिलो एल्बम निकाले ‘पागल बादल’ । त्यसपछि मैले गीतहरु लेखे । त्यो पहिलो एल्बमले मलाई प्रोत्साहन दियो । त्यसपछि सन् २००८, अगस्टमा सांगीतिक ‘ब्यान्ड’ कुटुम्बसगँको सहकार्यमा मैले कन्सर्ट गरेँ । त्यो पनि सफल भयो । त्यसपछि मैले संगीत सिक्ने अठोट ् लिएँ । जसरी मैले नृत्य सिके त्यसैगरि संगीतलाई पनि शुरु गर्न सक्छु भनेर शास्त्रीय संगीत सिक्न थाले । यो क्रमलाई मैले आजसम्म पनि निरन्तरता दिइरहेको छु । यहि यात्रा हिड्दा हिड्दै मैले आफैले आफ्नो प्रतिभा थाहा पाएँ । संगीत र नृत्यमा स्थापित हुन कति संघर्ष गर्नु पर्यो ? –म आफूलाई प्रयासकर्ताको रुपमा हेर्ने गर्छु । मलाई नाम दामभन्दा पनि सिकेका कुराहरुबाट जीवनमा पारेको सकारात्मक प्रभावलाई बढी महत्व दिन्छु । मैले दिन खोजेको सन्देश धेरै मानिसहरुसँम्म पुग्यो, र कसैको हृदय छोयो भने त्यो नै ठूलो सफलता हो जस्तो लाग्छ । एउटा आमा, श्रीमती र गृहिणी भएर सबै कुरालाई सन्तुलित गर्दै अगाडि बढ्न संघर्ष त धेरै गर्नुपर्छ । घरपरिवार सम्हालेर व्यवसायिक जीवनलाई सँगै लैजान गाह्रो छ । तर म संघर्षलाई स्वीकार गर्छु । संघर्ष गरिरहन्छु । आफ्नो काम गर्न छाड्दिन । सांगीतिक ‘ब्यान्ड’ कुटुम्बसगँको सहयात्रा चाहीँ कस्तो रह्यो ? पहिलो पटक गायिकाको रुपमा स्टेजमा जाँदा कुटुम्बसगँको त्यो सहकार्यले मलाई धेरै मद्यत गर्यो । त्यसपछि ममा धेरै हौसला बढ्यो । आठ वर्षसम्म भारतमा गुरुकुलमा बसाई कस्तो भयो ? त्यहाँ रहँदा, बस्दा बच्चाको आमा त कमै आउँथे । विशेषगरी युवा पुस्ता बढी आउने भएकाले उनीहरुको जान्ने र सिक्ने इच्छाले मलाई धेरै प्रभावित पार्ने गथ्र्यो । उनीहरुसगँ धेरै कुरा सिक्ने मौका पनि मैले पाएँ । अध्यात्मिक ज्ञान संरक्षणमा क्रियाशील हुनुहुन्छ, बाधाहरु कस्ता छन् ? –ज्ञान भन्ने कुरा सधैँ ताजा नै हुन्छ । वर्षौ अघि भगवान बुद्धले दिनुभएको ज्ञानलाई अहिले विज्ञानले पनि पुष्टि गरिरहेका छ । आधुनिकता भनेको उच्छृंखलता होइन । त्यसले गर्दा आध्यात्मलाई आफ्नो जीवनमा लागू गरेर त्यसले आफूमा र आफ्नो वरिपरि केहि प्रभाव पार्न सकिन्छ भने किन नगर्ने ? आध्यात्मलाई सबैसामु प्रचलन गराउनु भनेको सकारात्मकतालाई बलियो बनाउनु हो र हामीले त्यो गरिराख्नुपर्छ । युवापुस्ताको लागि आध्यात्मिक ज्ञान कतिको महत्वपूर्ण छ ? मैले युवाहरुसँग पनि सहकार्र्य गरेँ । मैले जति पनि कुरा आफ्नो गुरुहरुबाट सिके, त्यसबाट पाएको फाइदाहरुलाई मैले ‘प्याकेज फोर्स’ बनाएको छु । त्यो फोर्समा मैले युवा पुस्तालाई पाठ सिकाउने गरेको छु । उनीहरुलाई एउटा प्याकेजमा ध्यान गराउने । सोचाइलाई सकारात्मक बनाउने, व्यायम गराउने गरेको छु । कतिले त मेरो प्रयासले जीवनमा धेरै परिवर्तन आयो भनेर धन्यबाद पनि दिइरहेका हुन्छन् । आफ्नो गायन र नृत्यको क्षेत्रलाई फराकिलो बनाउन के गरिरहनु भएको छ ? धेरै विद्यालयमा नृत्य सिकाएँ । हालै म ब्रिटिस स्कुलमा सिकाउने प्रयत्नमा छु । त्यसबाहेक मैले धेरै विद्यार्थीहरुलाई सिकाएको छु । थाइल्यान्ड, रुस, इटाली, युके, अमेरीकालगायत मुलुकका विद्यार्थी पनि छन् । विभिन्न देशका मेरा विद्यार्थीहरुलाई मैले आफूमा भएको कलालाई सिकाउन थालिसकेको छु । अहिलेसम्म कतिवटा एल्बम निकाल्नुभयो ? पहिलो सन् २००७ मा पहिलो एल्बम निकालेँ । त्यसमा आठवटा गीतहरु थिए । अहिले चारवटा गितहरु निकाल्दै छु । यो क्षेत्रमा आउँन चाहने नवपुस्तालाई तपाईको सुझाव के छ ? मूलत अभिभावकहरुले आफ्नो बच्चाहरुमा भएको क्षमता र प्रतिभा प्रष्फुटन गराउन भूमिका खेल्नु पर्छ । बालबालिकाको प्रतिभा चिन्न सकियो भने उनीहरुको जीवन सफल हुन्छ । प्रतिभालाई हुर्कन दिनु पर्छ । अवसर दिनु पर्छ । कला होस या अरु कुनै विधा, हरेक क्षेत्रमा पहिले आफूले आफूलाई चिनेर अगाडि बढ्न सकियो भने त्यो नै सबैभन्दा ठीक हुनेछ । नृत्य, गायन, साधनामा लिन भइरहँदा पारिवारिक साथको जरुरत हुन्छ । तपाईले पारिवारबाट सहयोग पाउनु भएको छ ? मलाई शुरुमा बुबाआमाले हौसला दिनुभयो । बिहेपछि श्रीमानले पनि सहयोग गर्नुभयो । मेरो सबैभन्दा ठूलो आलोचक पनि श्रीमान नै हो । श्रीमानको सकारात्मक आलोचनाबाटै मैले आफूमा सुधार ल्याउने गरेकी छु । आध्यात्ममा यति धेरै विश्वास राख्ने मान्छे पूजापाठ, व्रत आदि पनि बस्नुहुन्छ होला नी ? म व्रत बस्दिनँ । भोको पेट बस्दैमा भगवान खुुसी हुँदैनन् । अरुलाई सहयोग गरेर नै हामीले धर्म कमाउन सक्छौँ । मलाई प्रेम र करुणामा विश्वास छ । ध्यान के हो र यसको महत्व कस्तो छ ? ध्यान भनेर शब्दमा नै भन्दा ध्यान शब्दको अर्थ मनलाई ‘कन्सन्ट्रेट’ गराउनु हो । ध्यान पनि विभिन्न किसिमका हुन्छन् । म चाहीँ बिपश्यना, समाथा र आनापाना तिनै किसिमको ध्यान गर्ने गर्दछु । । श्वास लिएर त्यो ध्यान गराइन्छ । बुद्ध भगवानले नै ध्यानलाई तीनवटा भागमा विभाजन गर्नुभएको छ । थेरबान, महायान र बज्रयान । ती मध्ये पनि ध्यानहरु विभिन्न किसिमका हुन्छन् । सामान्य रुपमा ध्यान भन्दा सबैले एउटा ब्रेदिङ ‘एक्सर्साइज’, आनापाना र बिपश्यना नै लिन्छन् । तपाईले कति वर्षको उमेरमा कोबाट ध्यान सिक्नुभयो ? मैले मेरो गुरु विद्याधर आचार्य महायोगी श्रीधर राना रिम्पोचेलाई १६ वर्ष हुँदा भेटेको हो । उहाँबाट नै मैले ध्यान सिकेको हो र अहिले पनि क्रमबद्ध रुपमा मैले उहाँसगँ सिकिरहेको छु । त्यो बाहेक मैले अहिले अन्य तिबेतीयन गुरुबाट पनि सिक्ने मौका पाएँ । अहिले पनि निरन्तरता दिइरहेकी छु । ध्यानले तपाईमा कस्तो परिवर्तन ल्याएको छ ? ध्यानले धैर्यता, संयमता र कन्सन्ट्रेसनलाई विकास गर्छ । तर मैले आफूले ध्यान गर्दै गर्दा परिवर्तन आफूमा पनि भएको पाएँ । म माथि आफूलाई हेर्न सक्ने प्रतिभाको विकास भएको छ । संसारलाई दोषी देख्ने आदत हटेको छ । संसारलाई मैले बदल्न सकिनँ । संसार जस्तो थियो त्यस्तै छ तर मेरो दृष्टिकोण भने परिवर्तन भयो ।

Anupama Dahal