कला साहित्य मेरो परिवार मेरो कथा सफलताको कथा समाचार

एक हातमा बन्दुक र अर्को हातमा कलम बोक्ने एक सैनिक अधिकृतको कथा

एक हातमा बन्दुक र अर्को हातमा कलम बोक्ने एक सैनिक अधिकृतको कथा

ash-tamang

भनिन्छ खाने मुखलाइृ जुँगाले छेक्दैन यस्तै यउटा उदाहरणीय पात्र बनेका छन् नेपाली सेनाका कर्णेल डा. आसबहादुर तामाङ । नेपाली सेनाका कर्नेल आसबहादुरको ‘जीवनको राज’ यही एउटा शब्दमा सीमित छ । मिहिनेतले गाइड गरिरहेको उनको जीवनको आदर्श हो, ‘सादा जीवन, उच्च विचार ।’ यही मन्त्रलाई आफ्नो गुरुमन्त्र मानेकैले हुनुपर्छ, नेपाली सेनाको कर्नेल पदका आसबहादुर काठमाडौंमा सार्वजनिक यातायातमै पनि भेटिन्छन् ।

यस्तो किन पनि भने उनले आफ्ना लागि एउटा साइकलसम्म जोडेका छैनन् । केही जोडेका छन् भने त्यो हो साहित्य, कलाप्रतिको लगाब । हो, आसबहादुरसँग सेनाको जागिर भए पनि कोमल मन लिएर कहिले कविता कोरिबस्छन् त कहिले गीत । सायद जीवनमा सिर्जनशील हुन भावुक हुनुपर्छ, सेनाको ‘कडा परेड’त्यसका लागि बाधक हुन सक्छ । तर, आसबहादुरको जीवनको परेड कम्ती भावुक छैन । लमजुङको परेवा डाँडामा ०२४ सालमा जन्मेका आसबहादुर ०४१ सालमा भविष्य ‘उज्ज्वल’ पार्ने सपना बोकेर काठमाडौं आउँदा जीवनले कुन गोरेटो समात्ने हो निश्चित थिएन । सपनाहरूले घेरिएर काठमाडौंको माटोमा टेक्दा आसबहादुरसँग दुई कुरा थिए, एउटा आशा र अर्को आमाले गोरु बेचेर पठाएको पैसा । ‘ती दिनमा एक मुठो सागले दुई छाक पुग्थ्यो,’ आसबहादुर विगतमा पुग्छन, ‘म पढ्न आएको थिएँ, मेरो ध्यान भने पढाइमै थियो । ल क्याम्पसमा भर्ना भएपछि म निरन्तर पढिरहेँ, पढाइमै मिहिनेत गरिरहेँ ।’

एउटा सानो कोठामा आसबहादुरले नयाँ क्यालेन्डर झुन्ड्याएर अध्ययन सुरु गरेका थिए, तर त्यही क्यालेन्डरले उनलाई विगतमा फर्काइदिन्थ्यो । कोठाको क्यालेन्डरका पाना पल्टँदै गए, तर आसबहादुरले विगतलाई बिर्सिएनन् । ‘बाबुआमाको धेरै छोरीपछिको छोरो हुँ म,’ उनी सम्झन्छन्, ‘बुबा (चन्द्रबहादुर तामाङ)ले ठूलो आशासहित मेरो नाम नै आसबहादुर राखिदिनुभयो ।’ त्यसो त त्यतिवेला चन्द्रबहादुरको ठूलो सम्पत्ति थिए, आसबहादुर । ‘म सानो छँदा बुबाले मेरो पुख्र्यौली सम्पत्ति यही हो बाबुु भन्दै एउटा कचौरा देखाउनुहुन्थ्यो । आमाले अरूको गोठालो बसेर मलाई पढाउनुभयो । त्यसैले मेरा भगवान् नै बुबाआमा हुनुहुन्छ,’ उनी अहिले पनि भावुक बन्छन् । सायद भौतिक सम्पत्तिले जीवनमा ठूलो अर्थ राख्दैन । तर, यसको अर्थ के होइन भने जीवनमा भौतिक सम्पत्तिको कुनै अर्थ नै हुँदैन । आसबहादुरका बुबासँग सम्पत्तिको नाममा एउटा कचौरा भए पनि अरू केही कुरासँग तुलना गर्न नमिल्ने ‘स्वर’ सबैभन्दा ठूलो सम्पत्ति थियो । ‘बुबाले अत्यन्त राम्रो गाउनुहुन्थ्यो,’ आसबहादुर सम्झन्छन, ‘लमजुङमा मात्र होइन, बुबाको ख्याति वरपरका जिल्ला गोरखा, तनहुँमा पनि थियो ।

कतिसम्म भने लोकभजन गाउने भएकाले मेरो बुबा पक्का भएपछि मात्र पूजाआजा निश्चित गरिन्थ्यो, पण्डितलाई बोलाइन्थ्यो । आमाको स्वर पनि त्यस्तै राम्रो थियो ।’ सायद, आसबहादुरमा गीत–कविताप्रतिको माया र सिर्जनशीलता बुबाआमाको ‘जिन’बाट नै आएको हो । त्यही जिनमा आसबहादुरमा अर्को गुण पनि स¥यो– मिहिनेत । भनिन्छ, हुने बिरुवाको चिल्लो पात । यो भनाइ आसबहादुरको जीवनमा ठ्याक्कै मेल खान्छ । नमिल्थ्यो त सानैमा एक घन्टाको बाटो हिँडेर आसबहादुर नबिराई स्कुल जाने थिएनन् । ‘बिहान घरमा काम गर्नुपथ्र्यो, अनि स्कुल पुग्न एक घन्टा लाग्थ्यो,’ उनी भन्छन, ‘कहिलेकाहीँ खाना खान ढिलो हुन्थ्यो । म बरु भोकै स्कुल जान्थेँ, तर सधैँ समयमा नै स्कुल पुग्थेँ । बरु, बुबाले टिफिनमा खाना ल्याइदिनुहुन्थ्यो, म हाफ टाइममा त्यो खाना खान्थेँ ।’ पढाइमा राम्रो गर्दै गएका आसबहादुरले कविता पनि लेख्न थाले, स्कुले कार्यक्रमहरूमा सुनाउन थाले ।

भानुजयन्ती, देवकोटाजयन्तीमा उनी मञ्चमा उभिएर कविता सुनाउन थाले । ‘कतिपटक पुरस्कृत पनि भएँ,’ उनी भन्छन, ‘नौ कक्षा पढ्दा कोरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्केच अहिले पनि स्कुलमा टाँसेर राखिएको रहेछ ।’ जीवनलाई यस्तै उत्साह र पुरस्कारले अगाडि बढाउँदै लग्यो । तर, जीवन सधैँ उत्साहै उत्साहको मेल कहाँ हो र ? घटित केही सन्दर्भले मानिसको जीवन यात्रामा टर्निङ ल्याइदिन्छन् । आसबहादुरको जीवनमा पनि यस्तै एउटा दुःखद घटना भयो । यसले अहिले पनि उनलाई झस्काइरहन्छ । उनी झस्किन्छन, ‘म त्यस्तै सात–आठ वर्षको थिएँ, घरनजिकैको लाहुरकाटे दहमा पौडी खेल्न गएको थिएँ ।’ गहिरो दहमा ‘केटाकेटी’ आसबहादुर पौडन थालिहाले । तर, उनी दहमा तैरिन सकेनन् ।

उनी सम्झिन्छन, ‘मसँग एकजना दाइ पनि हुनुहुन्थ्यो । पौडँदै थिएँ, खुट्टा गाडिएजस्तो भयो । दाइ भागिहाल्नुभएछ, म बालुवामा गाडिएछु ।’ यो सम्झनाले पनि आसबहादुरलाई निराश बनाइदिन्छ । उनी लामो सास लिन्छन् र भन्छन, ‘त्यही वेला भारतीय लाहुरे गोपीचन्द्र अधिकारी माछा मार्न आउनुभएको रहेछ । उहाँले माछाका लागि दहमा नाउगुडी हाल्नुभएछ । मैले त्यसलाई समाएछु । उहाँ तर्सिनुभएछ र त्यसलाई तान्नुभएछ ।’ गुमिसकेको जीवन फिर्ता पाए आसबहादुरले । र, बुबाआमाको आशा झन् बढ्यो । ‘बुबाआमा भन्नुहुन्थ्यो– तँलाई केही भएको भए हाम्रो हाल के हुँदो हो ?’ बुबाआमाको यही कुराले पनि जीवनमा केही गर्नुपर्छ भन्ने भावना बढायो, आसबहादुरलाई ।

उनी झन् मिहिनेत गरेर पढ्न थाले । मिहिनेतको फल सधैँ मीठो हुन्छ, यही भयो उनको जीवनमा पनि । उनले फस्र्ट डिभिजनमा एसएलसी पास गरे । तर, एसएलसीको रिजल्ट आउँदा उनी उत्साहमा थिएनन् । मानौँ, आसबहादुरको जीवन कुनै फिल्मी स्क्रिप्ट हो, दुःखले उनलाई छोडेको थिएन । एसएलसीको रिजल्ट आउँदा त उनलाई साथ दिइरहेका बुबाले पनि छोडिसकेका थिए । ‘बुबाको निधन भएको चार दिनपछि एसएलसीको रिजल्ट भएको थियो,’ त्यतिवेला जिल्लाभरबाट फस्र्ट डिभिजन ल्याएका तीनमध्ये एक थिए आसबहादुर, तर उनमा कुनै उत्साह थिएन, ‘मैले त्यो खुसी बुबालाई सुनाउन पाइनँ । बरु, मनमा आएका भावना शब्दमा पोखिरहेँ ।’ र, यही सफलताले बुबाको सपनालाई झन् कडा बनाएर मनमा खोपे आसबहादुरले । त्यही सपना लिएर उनी ०४१ सालमा उच्च शिक्षाका लागि काठमाडौं आए । ‘कुपण्डोलको एउटा चिरिएको घरमा डेरा पाएँ । त्यो एउटा कोठामा हामी तीनजना बस्थ्यौँ ।

उनी सम्झिन्छन, ‘मासिक ७५ रुपैयाँ तिर्नुपथ्र्यो । एक सुकामा एक मुठो साग आउँथ्यो । त्यसैमा पानी हालेर बिहान–बेलुका खान्थ्यौँ ।’ तर, आमाले हलगोरु बेचेर पठाएको पैसा सकिएपछि आसबहादुरको जीवनबाट आसै हरायो । ‘छाक टार्न नै धौधौ हुन थाल्यो,’ उनी सम्झिन्छन, ‘अनि जागिर खोज्नुको विकल्प बाँकी रहेन ।’ त्यही जागिरको बाध्यताले उनी लोकसेवा दिने तयारीमा जुटे । पास पनि गरे । सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सार्वजनिक निर्माण शाखामा एउटा मात्र कोटा रहेछ । त्यो पनि धादिङमा । तर, उनीसँग त्यहाँ जानैपर्ने बाध्यता थियो । अनि धादिङ पुगे, यता क्याम्पस उनका लागि नौलो हुन थाल्यो । तैपनि, उनले आइएलको परीक्षा दिए । त्यसमा सफलता पाए ।

त्यसपछि आसबहादुरको जीवनमा झनझन् धेरै आशा पलाउँदै गए । धादिङमा एक वर्ष बिताएर सहलेखापालमा परीक्षा दिए । त्यहाँ पनि नाम निकाले । त्यसपछि महालेखा नियन्त्रण कार्यालय बबरमहलमा जागिर गर्न थाले । उनी सम्झन्छन, ‘त्यतिवेला सात सय रुपैयाँ तलब थियो ।’ तर, यतिमै आसबहादुर सन्तुष्ट थिएनन् । उनी जीवनमा थप मिहिनेत गर्न चाहन्थे । त्यसैले, उनी सेनामा हान्निए । ‘सेकेन्ड लेफ्टिनेन्टमा माग भएको थियो, मैले तयारी गरेँ र पहिलोपटकमै नाम निकालेँ,’ उनी भन्छन, ‘गाउँको उकाली–ओराली गरेकैले हुनुपर्छ, मलाई समस्या भएन ।’ यो २७ वर्षअघिको सम्झना हो । तर, सेनाका जागिरे भए पनि आसबहादुरले न त सिर्जनशीलतालाई मर्न नै दिए, न पढाइलाई बीचबाटोमै छोडे । ‘चौबिसै घन्टा ड्युटी हुँदा पनि मैले रमाइलो र निद्रालाई कटाएर अध्ययनलाई अगाडि बढाएँ,’ उनी भन्छन् । त्यसैले त आसबहादुर अहिले गर्वसाथ भन्न पाउँछन मैले पोलिटिकल साइन्समा डिग्री र विद्यावारिधि गरेको छु । योसँगै उनले सिर्जनशीलतालाई पनि अगाडि बढाइरहे । सांस्कृतिक कार्यक्रम गरिरहे । विभिन्न देशमा पुगेर पनि नेपाली संस्कृतिका विविध पाटा देखाइरहे । कतै निर्देशन गरेर नृत्य प्रस्तुत गरे त कतै कविता वाचन गरे ।

ass

चित्रकारितामा पनि मन भएका आसबहादुरले ०५५ सालमा सिद्धार्थ आर्ट ग्यालरीमा सोलो आर्ट एक्जिबेसन पनि गरे । उनी भन्छन्न ‘म वाटर, ओयल कलर, चारकोल, पेन्सिल कलर सबै चलाउँछु ।’ तर, आसबहादुरको सिर्जनशीलता यतिमै सीमित हुँदैन । उनका नाममा एल्बम पनि बजारमा आइसकेको छ । ०५८ सालको ‘धन’ एल्बममा उनकै आमा धनमायाले स्वर दिएकी छिन् । ‘आमा मरेर गए पनि स्वर बाँचिरहोस् भन्ने मेरो चाहना थियो,’ उनी भन्छन् । यही एल्बम पछि पुरस्कृत पनि भयो । यसले आसबहादुरलाई थप ऊर्जा दियो । अहिले त उनका गीत चलेका गायकले पनि गाएका छन् । रामकृष्ण ढकालले उनको गीतमा स्वर दिएका छन् । आखिर यो सब सम्भव भएको उनको सिर्जनशीलतामा निरन्तरताले नै हो । उनी भन्छन, ‘सिर्जना कहिल्यै मर्दैन । र, मार्नुहुँदैन ।’ यसको उदाहरण त आसबहादुर नै हुन, जो एउटा हातमा बन्दुक बोकिरहेका छन, देशको सुरक्षार्थ र अर्को हातमा कलम लिएर लेखिरहेका छन् यही माटोका भावना ।

आसबहादुर आफैँले पनि गीत गाएका छन् । जीवनमा अनेक उकाली–ओराली गरेका आसबहादुरलाई जीवनमा आशावादी भएर बाँच्नुलाई ठूलो उपलब्धि मान्छन् । कर्तव्यनिष्ठ, बफादारी र जिम्मेवार भएर अगाडि बढे जीवनमा सफलता पाउने उनलाई उनकै जीवनले पनि सिकाएको छ । तैपनि, जीवन सफलताको सूत्रलाई उनी आफ्नै शैलीमा भन्छन, ‘मिहिनेत, मिहिनेत, मिहिनेत ।’ नयाँ पत्रिकाबाट

Dr. Aash Bahadur Tamang Nepal Army
ADVERTISEMENT