अन्तरवार्ता कला साहित्य मनोरञ्जन

ज्योती मगरका रोचक रोचक अनुभव, रोल्पादेखि विदेशसम्मको यात्रामा यस्तोसम्म भएछ

ज्योती मगरका रोचक रोचक अनुभव, रोल्पादेखि विदेशसम्मको यात्रामा यस्तोसम्म भएछ

ज्योती मगरलाई आलोचना गर्ने धेरै छन् । आलोचना गर्नेहरुले नै ज्योती मगरको भिडियो हेरेर युट्युवमा दर्शक बढाउंने गर्दछन् । रोल्पादेखि काठमाडौंसम्मको जीबनयात्रामा उनले थुप्रै आरोहअवरोह पार गरेकी छिन् । भद्दा नृत्य गरेर चर्चामा आएको तथा अश्लिलताको आधारमा टिकेको आरोप खेपेकी उनले आफ्ना बारेमा कञ्चन न्यौपाने र मिलन गुरागांईसंग खुलेर कुरा गरेकी छिन् । मगरको भिडियो र तस्विर गगन थापाले लिएका हुन् । 


आरामै हुनुहुन्छ ?

हजुर आरामै छु ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

म खास कार्यक्रमहरुमा बढी व्यस्त छु । त्यसको साथै तीजको गीतहरु रेकर्ड गने क्रम पनि चलिराखेको छ । गीत संगीतको काममा पनि व्यस्त छु ।

तपाईको बाल्यकाल कहाँ र कसरी बित्यो ?

म रोल्पामा जन्मे । मेरो प्राइमेरी स्कुल पनि रोल्पामै भयो । त्यसपछि एसएलसीसम्म म दाङमा बसेँ । एसएलसी पास भइसकेपछि कलेज पढ्ने भनेर काठमाडौँतिर आएँ ।

परिवारमा को - को हुनुहुन्छ ?

परिवारमा गन्नुपर्छ किनभने सदस्य बढेको छ । बाबा, आम, भाइ, दिदी हुनुनुन्छ ।

काठमाडौँ कहिले आउँनुभयो ?

म २०६३ सालमा काठमाडौँ आएँ । यो जेठमा ठ्याक्क दश वर्ष हुन्छ ।

पहिलो पटक काठमाडौँ आउँदा कत्तिको गाह्रो भयो ?

त्यतिबेला त एक किसिमको कलाकार बन्ने भन्ने भूत चढिरहेको थियो । त्यो भएको कारणले गर्दा रमाइलो थियो । सानातिनो कुराको पनि टेन्सन हुँदैनथ्योे । अहिले फर्केर हेर्दाखेरि त्यस्तो गाह्रो पनि गरेको रहेछु मैले भन्ने लाग्छ । त्यसलाई मैले त्यतिखेर रमाइलो यात्राको रुपमा लिएँ । अहिले पनि रमाइलो नै भइरहेको छ ।

जीवनमा लक्ष्य के थियो तपाईको ?

सानै हुँदा गायिका नै बन्छु भन्ने थियो तर बच्चामा मलाई नाच्न बढी मन लाग्थ्यो । रेडियो सुन्दा गीत गाउँन मन लाग्थ्यो । स्कुल लेभलमा म गीत गाउँने भन्दा पनि बढि नाच्ने गर्दथेँ । स्कुल सकिसकेपछि गीततिर लागें ।

तपाईको पढाइ कति हो ?

त्यो त भन्न नमिल्ने हो । मैले इन्टर पास पनि गरिन ।

यहाँलाई यो क्षेत्रमा काम गर्नको लागि पारिवारिक सहयोग कतिको छ ?

सहायता नै छ । मलाई के लाग्छ भने परिवारलाई आफ्नो लक्ष्य र सपनाको बारमा आफूले कन्भिन्स् गर्ने हो । सही काम गर्नको लागि र सही बाटोमा हिड्नको लागि कसैको परिवारले पनि समर्थन नगर्ने भन्ने हुँदैन होला ।

तपाईलाई संगीतका नाममा विकृति निम्त्याएको भन्छन्, यस्तो कुराले परिवारमा कत्तिको असर परेको छ ?

मेरो घरमा कुनै पनि समस्या छैन । आफ्नो घरमा को कस्तो र कतिसम्मको छ भन्ने कुरा थाहा हुन्छ । आफ्नोे रगतका बारेमा राम्रै हेक्का राखिएको हुन्छ । मैले गल्ति गरेको छु कि छैन, त्यो कुरा परिवारका सदस्यले भावनाबाट नै बुझ्नुहुन्छ । कहिलेकाहिँ हामी विरामी हुँदा ममीहरुको सपना बिग्रने हुन्छ नि । यस्तो कुराहरु भित्र मनदेखि र रगतको कनेक्सनले गर्दा के सही र के गलत भन्ने कुराहरु परिवारमा पहिलैबाट स्पष्ट हुन्छ । कतिपय कुराहरु आउँछ, नआउने होइन । मान्छेहरुले के - के भन्छन् तर त्यस्तो कुराको पछाडि मेरो घरका कहिल्यै लागेनन् । पोहोर अलिकति समस्या आएको थियो । ढाडे बिरालो आउनेबेलामा अलिकति गाह्रो भएको थियो । मलाई ममीले पहिलो पटक के गरेकी भनेर फोनमा सोध्नुभयो । मैले कारण खुलाएपछि उहांको चित्त बुझ्यो । एकदमै ठूलो समस्या भन्ने हुँदैन । जबसम्म म सहि बाटोमा छु तबसम्म घरमा समस्या आउदैन । मलाई त्यति आत्मविश्वास छ ।

मौलिक नेपालीपना भएको लोकगायनको क्षेत्रमा तपाईले किन भद्दा अभियन गरेर विकृति ल्याउनुभयो ?

खासमा नेपाली मौलिक गीत भनेर कसरी छुट्टाउने भन्ने समस्या छ । दोहारी भाका भनेको जुनसुकैमा पनि हुन सक्छ । त्यो आधुनिकमा पनि हुन सक्छ, भजनमा पनि हुन सक्छ र लोकमा पनि हुन सक्छ । लोकमा पनि सास्कृतिक लोक पनि हुन सक्छ । आफ्नो आफ्नो ठाउँको विधाहरु छुट्टा छुट्टै छ । एक त त्यो कुराहरुलाई हामीले छुट्टाउन सकेका छैनौं । दास्रो कुरा लोक दोहारीलाई हाम्रो संस्कृतिको रुपमा मानिन्छ । यदि त्यस्तो भन्ने हो र लुगा लगाइमा परिवर्तन आउनु हुँदैन भन्ने हो भने पश्चिमको सुर्खेतमा पैछरि नाच, टप्पा नाचहरु राउटेहरुले नाच्छ । हामीले पनि त्यहि ड्रेसमा नाचे भइहाल्यो नि त । (हाँस्दै) त्यहि ड्रेस र तिनीहरुको सस्ंकृतिबाट पनि हाम्रोमा थुप्रै गीत संगीतहरु आएको छ । राउटेको सस्कृतिबाट आएको छ, सुदुर पश्चिमको संस्कृतिबाट आएको छ, पूर्वबाट आएको छ ।

 यो समयको खेल हो । समय विस्तारै परिवर्तन हुन्छ । हिजोको दिनहरुमा हाम्रो बजैहरुको पालामा सारी पनि कमैले लगाउनुहुन्थ्यो । मलाई जहाँसम्म लाग्छ लुङ्गीहरु छिपुगुनिहरु लगाउनुहुन्थ्यो । सारीबाट आएर अहिले हजुरआमाहरु जिन्समा झरिसक्नुभयो । भनेपछि हामी त अहिले एक्काइसौँ सताब्दीका युवा पुस्ता हौँ हामी भनेका । त्यसैले मलाई लुगाले गीत संगीतमा केहि फरक पार्छ जस्तो लाग्दैन । यो सबै समयको खेल हो । समय अनुसार गीतहरुमा पनि परिवर्तन हुन्छ । गीत परिवर्तन भइसकेपछि विषयवस्तु परिवर्तन हुन्छ र विषयवस्तु परिवर्तन भइसकेपछि कपडा परिवर्तन हुन्छ ।

विषयवस्तु परिवर्तन हुने आफ्नो ठाउँमा छ तर समय र स्थान हेरेर पनि परिवर्तन हुनु जरुरि छैन र ?

यदि त्यो भन्ने हो भने लोकगीतको म्यूजिक भिडियोहरुमा प्रयोग गरिने भनेको लेहेङ्गा चोली हो । लेहेङ्गा चोली भनेको त नेपाली ड्रेस पनि होइन । कुर्था सुरुवाल पनि हाम्रोे हो जस्तो लाग्दैन मलाई । हामीले लगाउने भनेको गुन्यो चोली र सारी । हामी सबैजना त्यसमा मात्र सिमीत छैनांै नि त । दर्शकहरु परिवर्तन हुनुभयो भने गीतहरु पनि परिर्वतन हुन्छ ।

लाज नभएको नकचरिको छवि बनेको छ तपाईको नेपाली समाजमा, यो विषयमा के भन्नुहुन्छ ?

तपाईको बोली, बानी व्यवहार र तपाईको व्यक्तित्वले नै तपाई भित्र के छ भन्ने कुरा पुष्टि हुन्छ । जे भन्नु हुन्छ त्यो उहाँहरुको आफ्नै भित्रको कुरा हो । मलाई उहाँहरुसगँ केहि पनि सरोकार छैन । मलाई मतलव पनि छैन । यति मात्रै हो । हामीले कपडाले आफ्नो शरिर मात्र छोप्ने हो । कपडाले कहिल्यै पनि इज्जत छोप्दैन । त्यो कारणले गर्दा पनि हामीले एकले अर्कालाई आदर गर्न सक्यौँ भने राम्रो हुन्छ होला । त्यो उहाँहरुले मलाई सम्मान गर्नुहुदैँन, गाली गर्ने दृष्टिले हेनुहुन्छ भने त मेरो भन्नु केहि पनि छैन । त्यो उहाँहरुको समस्या हो ।

दोहोरो अर्थ लाग्ने गीत र अंग प्रदर्शनि नै बजारमा टिक्ने र बिक्ने फर्मुला हो तपाईको ?

हाम्रो नेपाली साहित्यमा एउटा शब्दले धेरै अर्थहरु दिन्छ । यदि ति लिरिक्सहरुसगँ जसलाई समस्या छ उहाँहरुले दोहोरो अर्थ लगाएर दास्रो अर्थ नबुझिदिनु होला । पहिलो अर्थ बुझिदिनु होला । संसारमा नराम्रो भन्ने कुनै पनि कुरा छैन । सकारात्मक र नकारात्मक दुबै हिसाबले जिन्दगी चल्ने हो । सबै कुराहरु एउटै भयो भने कसरी चल्छ त जीवन ? त्यो रोटेसन हुनको लागि पनि केहि कुराहरु नकारात्मक र केहि कुराहरु सकारात्मक हुनु जरुरी छ । मलाई त सबै कुराहरु सकारात्मक नै लाग्छ ।

एउटा कलाकारको नाताले दर्शकलाई केहि न केहि कुरा सिकाउने खुबि हुनुपर्छ, हामीले ज्योति मगरबाट चाहिँ के सिक्न सक्छौँ ?

तपाईको मनले के भन्छ, तपाईलाई के गर्दा खुशी मिल्छ ? त्यो महत्वपुर्ण कुरा हो । जिन्दगी एकपटकमात्र आउँछ, घरि घरि आउँदैन । त्यसैले जीवन रमाएर जीउनुहोस् । मान्छे मरेपछि पनि नाम होस् भन्ने खालको काम गरौँ भन्ने कुरालाई म कदर गर्छु । तर मरिसकेपछि मेरो नाम छ कि छैन भन्ने के थाहा । मर्नेलाई थाह हुंदैन । मृत्यु र जन्म भन्ने कुरा कतिबेला कहाँ हुन्छ भन्ने पनि थाहा छैन । जिन्दगी धेरै छोटो छ । त्यसैले रमाइलो गर्नुस्, मनले चाहेको कुरा गर्नुस् । आजको जमानाको केटीहरुले समाजले र फलानाले के भन्ला भनेर सोचिराख्न जरुरी छैन । तपाईको परिवारलाई चित्त बुझाउनुहोस्, पुग्छ ।

समाजको नियममा बस्नुपर्छ होला नि, पर्दैन र ?

मैले म्युजिकको बारेमा भनेको हो खासमा । मैले स्टुडियोमा गएर गीत गाऊनलाई र कन्सर्टमा गएर गीत गाउनलाई म समाजसंग डराउन पर्दैन । मैले मान्छे मारेको पनि होइन, मैले समाजमा युवाहरुलाई विगार्ने काम गरेको पनि होइन । मैले आफुलेपनि रमाइलो गरेको हो, र उहाँहरुलाई पनि मनोरञ्जन दिलाएको हो । खुशी भन्ने कुरा एकदम अनमोल छ । यस्तो कुराहरु किनेर पनि पाउन सकिन्न । किन्न नसकिने कुरा मैले दिलाएकी छु ।

तपाईलाई लोकगायीका भगवती उप्रेतीले लोक गायनको क्षेत्रमा मन्द विषको संज्ञा दिनुभयो । उहाँले तपाईलाई यो क्षेत्रबाट निकाल्नुपर्छ पनि भन्नुभएको थियो नि ?

यो कुरा मैले पहिलो पटक सुन्दै छु तपाईको मुखबाट । मलाई पहिला पहिला यो मिडियाहरुमा आफ्नोबारेमा के आयो भनेर खुब हेर्न मन लाग्थ्यो । दुईतीन वर्ष भयो, मैंले खाशै चासो दिएको छैन । भगवती जीलाई म यहिँबाट भन्न चाहन्छु कि मलाई निकाल्ने कोशिश गर्नुस् । कोशिश गर्दा केहि फरक पर्दैन, गर्नुस् कोशिश ।

यहाँलाई आफूले लगाएको पहिरनहरुले अलिकति अप्ठ्यारो र असहज भएको महशुश हुँदैन ?

मनमा त्यस्तो असहज महशुश हुने पहिरन त म लगाउदै लगाउदिन । जे लगाउँछु कम्र्फट भएरै लगाउँछु । मैले लगाएको पहिरनहरु अश्लिल हुंदैन । सबभन्दा ठूलो कुरा हेराइ हो । नजर परिवर्तन गरौँ, सोचाइ परिवर्र्तन गरौँ । एउटा गीत र कुनै कलाकारलाई परिवर्तन गर्ने होइन, हामीले आफ्लो दृष्टिकोण बदलौँ । ज्योति मगरले ढाडे बिरालो खेल्यो भनेर उफ्रने तर राष्ट्रपतिलाई मन्दिरमा विधवा भनेर अपमान गर्दा नबोल्ने देश हो हाम्रो । हामी अहिले पनि पुरुषप्रधान देशको चपेटामा छौँ । त्यो परिवर्तन गरौँ, सबै परिवर्तन हुन्छ । तपाईको सोचाइ नर्मल भयो भने ज्योति मगरको ड्रेस सबै नर्मल हुन्छ ।

ज्योतिको आगमन पछि अर्चना पनेरु आइन्, त्यसैगरि अरुअरुपनि आउंदैछन् । तपाईलाई विकृति निम्त्याएकोमा ग्लानी छैन ?

अर्चना पनेरु जी सगँ दाज्न मिल्दैन । मान्छेहरुको इच्छा हुने रहेछ । इच्छा अनुसार बाँच्न पाउनुपर्छ । समाज परिवर्तन हुंदै जान्छ । बुर्का लगाउने मुसलमान समुदायकै पोर्न मुभी छ । उनीहरुको देशमा त केटीहरुले टाउकोदेखि पैतालासम्म पूरै छोपेर लुगा लगाउनुपर्छ । त्यो देशको कानून, धर्म र संस्कृति त्यस्तो छ, तैपनि त्यस्तो भटिन्छ । कुन कुरा कुन ठाउँमा गर्दा ठीक हुन्छ बुझ्न जरुरी छ । जस्तो यही पहिरनमा म रोल्पामा गएर बस्न सक्दिन । म काठमाडौँमा मात्र कम्फर्टेबल हुन्छु । रोल्पा जादाँ मैले अर्कै गेट अप गनुपर्ने हुन्छ ।

तपाईलाई यौन दुव्र्यवहार कतिको हुन्छ ? कति पटक यसको शिकार हुनुभएको छ ?

हुन्छ । मैले पनि भोगेको छु । सुरुसुरुमा नेपाल यातायात चढेर काम गर्न जानुपर्ने हुन्थ्यो । त्योबेलामा केटाहरु नजिक आउंथे । विस्तारै हातहरु ल्याउंथे । म त्यस्तालाई प्रतिकार गर्ने गर्दछु । त्यस्तो कुराहरुमा दबिएर बस्नु हुँदैन । अहिले त विभिन्न संघ संस्थाहरु छ, महिला अधिकार छ र सब कुराहरु छ । यति हुँदाहुँदै पनि हामी आफै दकस मान्छौं । डराउँछौँ । त्यो नै हामी केटिहरुको कमजोरी हो । अहिले नेपालमा हेर्ने हो भने पुरुषको भन्दा पनि हाम्रो कानून माथि छ । हामी केटी भएकोमा गर्व गर्नुपर्छ । त्यो कुरालाई हामीले व्यवहारमा पनि ल्याउनुपर्छ । 

यौन दुव्र्यवहारमापरे भन्नुभयो, कसरी प्रतिकार गर्नुभयो ?

के गर्या ? भन्यो थकेलिदियो । त्यति भनेपछि केटाहरु लजाईहाल्छन् । गल्ती गर्नेको जुनसुकै मान्छेकोपनि नजर झुक्छ, लाज हुन्छ । एकपटक म नेपालगञ्जबाट आउँदा नाइट बसमा आउंदाको अनुभव भन्छु । म निदाईरहेको थिए, एकजनाले मेरो थाइ मुसार्दै हुनुहुँदो रहेछ । मैले के हो भनेर बत्ति बाले । के गरेको भनेर सोधें । उहां त निधाएजस्तो गर्नुभयो । नबिउंझिकनै उहां काठमाडौं आइपुग्नु भयो ।

अरु अनुभव पनि छ ?

त्यस्तो अनुभवहरु टन्नै छ तर सम्झिन लायकको भनेको त्यो एउटा हो । सामान्यतः केटाहरुले जिस्काए भने म उल्टै जिस्काइदिन्छु । टच गर्यो भने त एकदमै रिस उठ्छ । सिठ्ठी बजाएर जिस्कायो भने म पनि सिठ्ठी बजाएर पछि पछि गइदिन्छु । त्यस्तो गरेपछि आफै लजाएर भाग्छन् केटाहरु । घण्टाघरको अगाडि चिया पसल छ । चिया पसलमा केटाहरु चिया खाएर बसिरहेका थिए । म स्कर्ट लगाएर टक टक हिड्दै थिए । मलाई उनीहरुले जिस्काए । मैले पनि फरक्क फर्किएर के हो सोल्टी केटि जिस्काउने बाटोमा बसेर भन्दिएको कसैले पनि मैले जिस्काएको भनेन । सबैजना मुन्टो निहुराएर चिया खान थाल्नुभयो । त्यस्तो क्षणहरु टन्नै छ । कतिपय समयमा हाँसेर उसैलाई लज्जित बनाएर पनि टार्न सकिन्छ । सुम्सुमाउनै आएपछि रिसाउनपनि पर्छ ।

तपाइले त प्रकिकार गर्न सक्नुहुन्छ, अरु प्रतिकार गर्न नसक्ने किशोरीहरुलाई कसरी प्रतिकार गर्न प्रोत्साहन गर्नुहुन्छ ?

त्यो त आफ्नो आफ्नो स्वभाव हुन्छ । भन्न त मान्छेले नारीको गहना भनेको लाज हो भनेर भन्छन् । त्यो कुरालाई म एकदमै समर्थन पनि गर्छु । साँच्चै लजाउने र लज्जावति नारीलाई देखे भने म पनि एक किसिमले लठ्ठिन्छु । उहाँजस्तो हुन पाए भन्ने कुराको कल्पना गर्छु । तर त्यही लाज हामी केटीहरुको सबैभन्दा ठूलो कमजोरी हो । त्यो कारणले गर्दा पनि हामी बढी यौन दुव्र्यवहारमा पर्छौ । जति बढी लजायो, त्यति नै हेप्न थाल्छन् । हामी सम्मान गर्ने ठाउँमा र लजाउनु पर्ने ठाउँमा लजाउ तर प्रतिकार गर्ने ठाउँमा किन लजाउनु ? जसरी आउँछ त्यसरी प्रतिकार गर्दा हुन्छ । प्रतिकार गर्नुको मतलब ढुङ्गै टिपेर हान्नु होइन । नेपालमा यति धेरै संस्थाहरु छ, कानूनसम्म पुगेर पनि प्रतिकार गर्न सकिन्छ । हामी महिलाहरुले यति धेरै अधिकार पाएका छौँ । हामी महिलाहरुलाई डराउनुपर्ने कारण केही छैन ।

कसैले जिस्कायो भने गएर थप्पड हानिदिए पनि हुन्छ ? तपाईले हान्नुभएको छ कि छैन ?

त्यो जिस्काउनेको गल्ती हो । हान्न सक्नेले थप्पड हान्दा पनि हुन्छ । म हत्तपत्त हात हालि हाल्दिन । मलाई हात उठाउन आउँदैन । मैले पाट्टपुट्ट हात उठाउने भनेको सानो हुँदा दिदीलाई हो । अलि ठूलो भएपछि त बोइफ्रेन्डसगँ हो ।

बोइफ्रेन्डसगँ हानाहान नै पर्यो ?

त्यस्तो होइन । बोइफ्रेन्ड गर्लफ्रन्डले एक अर्कालाई समान्य रुपमा हात हाल्ने हक पनि हुन्छ ।

यहाँको अहिले बोइफ्रेण्ड छ कि छैन ?

छैन । अहिले त म सिङ्गल नै छु ।

कसरी ब्रेक अप भयो त ?

त्यो सबै कुराहरु क्यामेराको अगाडि भन्यो भने भोलि फेरि कमेन्ट्सहरु हेरिसक्नु हुँदैन । त्यो भएर भोलिलाई मध्य नजर गर्दै यो कुरालाई गोप्यमै राख्दा ठीक होला ।

सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरु गरेर एकदम हैरान बनाएको छन् है तपाईलाई ?

मैले राम्रो काम गर्दागर्दै कसैले नकारात्मक प्रतिक्रिया दिन्छ भने मलाई मतलब हुँदैन ।

अघि पोर्न साइटको प्रसंग आएको थियो, यहाँले कत्तिको हेर्नुहुन्छ पोर्न साइट ?

म पोर्न साइट हेर्ने एडिक्ट होइन । हेर्नै पर्ने भन्ने छैन । सबै मान्छे एउटा न एउटा कुराको एडिक्सन हुन्छ । म त्यस्तो एडिक्ट होइन । कहिलेकाहिँ संसारमा महिलाहरुले गर्ने काम, त्यसपछिको नतिजा कस्तो हुन्छ भनेर जान्न एउटा ज्ञानको हिसाबले हेर्ने गर्छु । मैले यौनान्दका लागि हेर्दिन । एउटा महिलाले कस्तोसम्म गर्दो रहेछ, मान्छेहरुको इच्छा कस्तो हुन्छ भनेर जान्नको लागि एउटा मानव भएको नाताले हेर्ने गर्छु । कसै न कसैले हेर्नकै लागि त बनाइएको हो । 

तपाईको नजरमा यौन के हो ?

(हाँस्दै) मलाई त थाहा छैन । खासमा यस्तो हुँदो रहेछ । प्रकृतिले कति चिजहरु यस्तो बनाएको छ कि जो रहस्यमय छन् । यौन मुख्यतः बच्चा जन्माउन र आउँने पुस्तालाई निरन्तरता दिनका लागि हो । सृष्टि गर्दा महिलाहरुलाई कति पीडा हुन्छ । यौनमा मनोरंजन होला । 

के तपाईले यौनको आनन्द लिनुभएको छ ?

भन्न मिल्दैन त्यो । नेपाली अनलाइन हो । नेपाली दर्शकहरु हुनुहुन्छ ।

तीज आउँदै छ, ढाडे बिरालोलाई टक्कर दिएर कुनै गीत आउँदै छ कि छैन ?

यस्तो छ । मैले अहिलेसम्म कुनै पनि काम अरुलाई टक्कर दिने गरि गरेको छैन । तछाड मछाड पनि गरेको छैन । रिस्क लिएरर काम गर्ने मान्छे हो म । यहाँसम्म आउनको लागि दश वर्ष पनि लाग्यो किनभने मसगैँ सङघर्ष गर्ने मान्छेहरु दुइचार वर्षमा पनि हिट हुनुभयो । मलाई भने दश वर्ष लाग्यो । मलाई के गीत चल्छ भन्ने कुराहरुसगँ मतलब हुंदैन । मनमा के आउँछ त्यहि नै गर्ने हो ।

प्रेम प्रस्ताव कतिको आउँछ ?

प्रेम प्रस्तावहरु मलाई अहिले भन्दा पनि पहिले बढी आउँथ्यो । केटाहरुले जसलाई हेप्छन्, उनीहरुलाई प्रस्ताव गर्छन् । बाटोमा हिड्दा पनि जो केटिहरु लजाएर हिड्ने गर्छे, त्यसलाई नै केटाहरुले बढी जिस्काउने गर्छन् । त्यसरी नहिड्ने, ढुक्कले हिड्नुपर्छ । यो मेरो पनि देश हो, म पनि यो देशको नागरिक हो भन्ने हिसाबले हिड्नुपर्छ । मन पराउनेहरु त हुनुहुन्छ । धेरैले प्रेम प्रस्ताव राख्नुहुन्छ । यो त कलाकारको लागि समिान्य कुरा हो । त्यो एकदम ठूलो कुरा पनि होइन । मलाई एकपटक कसैले प्रस्ताव राख्यो भने दास्रो पटक राख्ने हिम्मत पनि गर्दैन । म सिधा कुरा गरिदिन्छु । प्रस्ताव आयो भन्दैमा फुर्किने र मख्ख पर्ने गर्दिन । 

hot and sexy jyoti magar interview with jyoti magar nepalaaja with jyoti magar