देश

भारतीयसँग भिड्न जाने बहादुर देवनारायण यादबले भने, ‘फेरि बाँध बाध्न आए भने मधेसी के हो देखाइदिन्छौं’

भारतीयसँग भिड्न जाने बहादुर देवनारायण यादबले भने, ‘फेरि बाँध बाध्न आए भने मधेसी के हो देखाइदिन्छौं’
dev-narayan-yadav-nepalaaja साउन - १४ । हामीले बिहीबार बिहानैदेखि फेरि भारत कुनौलीका बासिन्दाले नेपाली जमिन मिचेर बाँध बनाउन थालेको थाहा पायौं । भारततिरका मान्छेले पहिलेदेखि नै हाम्रो तिलाठी मिच्न खोजिरहेका थिए । हामीले रोक्दै आएका थियौं । विगत १० वर्षदेखि त्यहाँ बाँध बनाउन हुँदैन, नेपाली भूमि मिच्न पाइँदैन, नेपाली बस्ती र खेतलाई मास्न पाइँदैन भनेर पारिकासँग भिड्दै आएको छु । बिहीवार पनि एक्कासी भारतीयहरुले हाम्रो जमिने मिचेर बाँध बनाउन थालेको खबरले दिमाग तातेर आयो । खबर गाउँभरि फैलिसकेको रहेछ । ‘भारतीयहरुले अति गर्न थाले’ भन्ने सोचेर हामी एक भयौं । सीमा तिर बढ्यौं । गाउँलेको टोलीको नेता मै थिएँ । त्यहाँ पुग्दा पारि कुनौलीका मान्छेहरुले सीमा मिचेर धमाधम बाँध बनाइरहेका थिए । हामीलाई देखेपछि एकत्रित भए । उनीहरू ठूलो संख्यामा थिए । तिनीहरुलाई भारतका पुलिसले ‘सपोट’ थियो । हामी गाउँले मात्रै थियौं । ‘जाइ कटक गर्यौं’ वारि र पारिका हामी युद्धका लागि दुई पक्ष तयार भए झै आमने सामने भयौं । दृश्य ठूलै भिडन्तको तयारी जस्तो देखियो । त्यसबीचमा भारत र नेपालका अधिकारीहरुले सल्लाहमै बाँध बनाउने, दुवै पक्षलाई हानी नहुने गरी काम गर्ने बताए । त्यति भनेपछि हामी फर्कियौं । तर भारतीय पक्षले सल्लाहको कुरा मानेन । हामी फर्केपछि उनीहरुले त बाँध बनाउन थालेछन् । ठाडै धोका दिएको थाहा पाएपछि सुतेको मधेसीलाई भारतले जगायो जस्तो लागेर आयो । अनि हामी पनि फेरि ‘एकठ्ठा’ (एक भएर) भएर सीमामा गयौं । ‘यहाँ कसलाई सोधेर बाँध बनाएको ? ’ म बम्किएँ । ‘यो नेपाल होइन भारत हो’ एउटाले जवाफ फर्कायो । ‘तेरो भारतमा बाँध बाँधेर नेपाल डुबाउन पाउँदैनस्’ यति के भनेको थिएँ पछाडिबाट एउटाले भाटाले हिर्कायो । मेरो साथीहरुलाई पनि हिर्काए । मैले लगाएको गम्छा निकालेर उनीहरुले फालिदिए र टाउकोमा पनि हिर्काए । छातीमा पनि हिर्काए । त्यतीकैमा म ढलें । मलाई ढालिसकेपछि लतारेर उतै लान खोजेका रहेछन् तर गाउँका साथीभाइले छुटाएर ल्याए । अहिले मेरो टाउकोमा ११ वटा टाँका लगाएको छ । अन्त पनि टाँका लगाएको छ । शरीरभर चोट नै चोट छ । तर मैले हिम्मत हारेको छैन । अहिले म ठीक छु । आफ्नो मातृभूमिका लागि मान्छे मर्न तयार हुन्छ । मेरो अलिकति रगत त बगेको छ । तर म यति भन्छु अब पनि उनीहरु निहुँ खोज्न आउँछन् भने हामी पनि समूह बनाएरै भिड्न जाने हो । नेपालको जमिन मिच्न उक्साइन्छ त्यहाँका जनतालाई भारतले नेपालको जमिन मिच्न जहिले पनि उकास्छ । २०६४ सालभन्दा अघिदेखि नै उनीहरुले यस्तै हर्कत देखाउँदै आएका थिए । भारतीय अधिकारीहरू धेरै नै धूर्त छन् । उनीहरू आफू देखा पर्दैनन् । पहिला स्थानीयलाई भेट्छन् । सीमा मिचेर बाँध बनाउन उकास्छन् । अनि आफूहरू लुक्छन् । स्थानीयले कुरा पत्याउँछन् र अधिकारीहरूको इशाराअनुसार बाँध बनाउन थाल्छन् । उनीहरुले बिहीबार पनि त्यस्तै गरिरहेका थिए । हामीभन्दा उनीहरू धेरै देखेर हामीले सिडियो, एसएसपी र डिएसपीलाई खबर ग¥यौं । हामी दशगजामा थियौं । दुवै पक्षबीच बाझाबाझ भइरहेको थियो । त्यही बेलामा सिडियो, एसएसपी लगायत आउनुभयो । उहाँहरूकै अगाडि झडप भयो । झडप केहीबेरमा सामान्य भयो । सिडियो सापहरू फर्कनुभयो । केही समयपछि दुवै देशका अधिकारीहरूबीच सीमामा अहिले कुनै बाँध नबनाउने कुराकानी भएको भनेर हामीलाई खबर भयो । त्यो सुनेपछि हामीले अब सीमा मिच्ने काम रोकिन्छ होला भनेर फर्केर घर आउँदै थियौं । फेरि त्यहाँ काम भइरहेको खबर आयो । हामी दास्रो पटक जादाँ हो झडप भएको हो । सक्छौ भने लालपुर्जा लिएर आउ नेपालको जमिन नेपालकै हुन्छ । वारिको जमिनमा हाम्रो लालपुर्जा छ । उनीहरुको के छ ? छ उनीहरुसँग लालपुर्जा ? लालपुर्जा देखाउन सक्छन् भने उनीहरु गरुन जे गर्न । तर नेपालको जमिनमा आएर जे मन लाग्छ त्यही गर्ने के उनीहरुको ‘बापको राज’ छ ? मेरो जमिन सीमामा पर्छ । पारि बाँध बाध्यो भने मेरो मात्रै होइन नेपालतिरको धेरै जमिन डुबानमा पर्छ । हाम्रो बस्ती नै डुब्न सक्छ । हामी यो धर्तीका पुत्र हौं । औलो सहेर यही बस्यौं । पुर्खाहरु यहीँ मरे । अब हाम्रो बस्ती उठाउने तिनीहरु को हो ? यो कुरामा यदि सरकार बोल्छ भने बोलिहालोस् । नत्र हामी मधेसी आफै भिड्छौं । ‘बाद जो होगा देखा जाएगा । ’ (देवनारायण यादवसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

Dev Naryan Yadhav Nepal-India nepali police Saptari