मेरो परिवार मेरो कथा सफलताको कथा

भिखारीसम्मको तितो अनुभव संगालेका शारीरिकरुपमा असक्त यि सेलिब्रेटी !

भिखारीसम्मको तितो अनुभव संगालेका शारीरिकरुपमा असक्त यि सेलिब्रेटी  !

 भोजपुरको दिंगला बजार नजिकैको केउरेनी पानी वडा नं ३ स्थित भण्डारी परिवारमा ३३ बर्ष पहिले भिन्दै खुशी छाएको थियो । बिष्णुप्रसाद र रणकुमारीको पहिलो सन्तान छोरी भएकी थिइन् । दोस्रो सन्तान छोरा नै होस् भन्ने सबैको चाहना थियो । भइदियोपनि त्यस्तै । २०४० साल माघ १३ गते निलमणी जन्मिए । उनी जन्मदा बुबा फुरु¨ थिए । प्रसव वेदना फुलेकी आमाको मुहारमा लाली छाएको थियो । वरपर सबतिर हल्ला फिजियोः भण्डारीले छोरा पाए ! निलमणी सात बर्षको पुग्दा नपुग्दै पोलियो देखियो । बामे उमेर पार गरेर बुर्कुसी मार्ने उमेरमा उनी हिड्न नसक्ने भए ।

उनीसँगै खाइखेलो गरेका साथीभाइ विद्यालय जान थाले । उनी बार्दलीबाट टुलुटुलु हेर्न बाध्य थिए । जेठो छोरा असक्त भइदिएपछि बुबाआमाको मुहारमा कालो बादल छाएको थियो । घर आउनेहरुले पूर्वजन्मको खोटले भन्दै उनलाई जन्मजात पापी दर्ज गर्थे । अशक्त हुँदाको चोटले भन्दा अरुको शब्दले उनलाई दुखाउंथ्यो । त्यसमाथि कहिलेकाहीं बुबाआमा पनि झर्कन्थे । उनलाई मरुंमरु लाग्थ्यो तर सक्दैनथे ।

बिद्यालय जाने अधुरो चाहना निलमणीलाई साथीभाइ विद्यालय गएको देख्दा आफुपनि जाऊं जाऊं लाग्थ्यो । श्री सुभद्रा पन्चकन्या प्रथामिक विद्यालय १० मिनेटको दूरीमा थियो । तर, उनी हिड्न सक्दैनथे । घस्रेर जाँदा १ घण्टा लाग्थ्यो । नौ बर्षको उमेरमा उनी १ कक्षामा भर्ना भए । उनीसँगका साथीभाइ ४/५ कक्षामा पुगिसकेका थिए । विद्यालयमा उनीमाथि भिन्दै व्यवहार गरियो । उनीसँग कोही बस्न मान्दैनथे । बर्खायाममा उनी बसेको ठाऊँ भैसीं बस्दाको आहाल जस्तो हुन्थ्यो । साथीभाइहरुको दूर्दूर थियो । शिक्षक–शिक्षिकापनि अनेक बहाना गरेर उनलाई विद्यालयबाट निकाल्न चाहन्थे । अन्ततः उनी विद्यालयबाट निकालिए । उनी केही पर रहेका विद्यालयमा गएर भएपनि पढ्न चाहन्थे । अनेक कारणले सम्भव भएन । 

घरकै चोरदेखि मन्दिरको बाससम्म निलमणीलाई दशैंतिहार आउँदा थप पीडा हुन्थ्यो । दिदी, भाइ र बहिनीलाई नयाँनयाँ कपडा आउथ्यो । घस्रेर हिड्नेलाई के को नयाँ कपडा भनेको उनको कानमा ट्वाक्क पथ्र्यो । उनलाई पनि नयाँ लुगा लगाउने धोको हुन्थ्यो । तर, उनको भागमा भाइहरुले फालेका कपडा पथ्र्यो । उनको मन अमिलो हुन्थ्यो । फाँटेको जिन्दगीमा टालेका लुगा लगाउन परेको भन्दै उनी सुक्सुकाउने गर्थे । उनी सुसाएको सुनिदिने कोही थिएन । सुनेर अर्थपनि थिएन । किनकी नयाँ कपडा उनले लगाउने वित्तिकै धुलाम्मे जो हुन्थ्यो । निलमणी लाई पैसा भए आफैं लुगा किन्थे भन्ने लागिरहन्थ्यो । उनी घरमा एक्लै थिए । कोदो किन्ने मान्छे आए । उनले ५ मुरी कोदो बेचिदिए ।

आधा पैसा उत्तिखेरै बुझे । आधा उदारो दिए । उनको चोरी लुक्न सकेन । कोदोको दाना छिरोलिएको देखेपछि खोजी शुरु भयो । उनी रामधुलाइमा परे । सिस्नुपानी भेटेपछि उनलाई घर घरजस्तो लागेन । घ्रसर्दै घर छाडे । खेमराज गुरुङले गाएको वारी जमुना जमुनाको फेदैमा मनकामना भन्ने गीत खुब चलेको थियो । उनलाई किन हो किन त्यहीं मन्दिरमा जान मन लाग्यो । कैयौं दिन लगाएर लड्दैपड्दै उनी मनकामना पुगे । घरमा बस्दा उनलाई दिन बिताउन गाह्रो हुन्थ्यो । मन बहलाउन उनी रेडियो सुन्थे । गीत गुनगुनाउंथे । उनले लय समातिसकेका थिए । मन्दिरमा उनले भाका हालेर भजन गाउंथे । भक्तजनले उनलाई २–४ पैसा दिन्थे । केही महिना यस्तैमा बित्यो । कात्तिकको एकादशी तिथिमा संखुवासभाको खाँदबारीमा मेला लाग्छ । मनकामना महोत्सव नाम दिइएको मेलामा सांस्कृतिक कार्यक्रम भइरहेको थियो । नामी कलाकारको दामी प्रस्तुति जारी थियो ।

उनलाई पनि गाउँने हुटहुटी जाग्यो । आयोजकसँग आग्रह गरे । शुरुमा त उनको आग्रहलाई बहुलठ्ठीजस्तो ठानियो । उनले नाइनास्ती गरेपछि आयोजकले ब्रेकका रुपमा उनलाई गाउने मौका दिए । निलमणीले त्यही मौकामा चौका हाने । उनको गायनले उपस्थितको मन जित्यो । पैसाको बर्षा भयो । एउटै गीतबाट उनले जिन्दगीमा नदेखेको पैसा कमाए । झण्डै १० हजार उनले मुठी पारे । निलमणी घर फर्किए । यसपाली उनले हिड्न परेन । भाडामा बोक्ने मान्छे खोजेका थिए । बुबालाई सदरमुकाम ल्याएर नागरिकता बनाए । नागरिकता बोकेर उनी राज्यरुपी अभिभावकको खोजिमा काठमाडौं हानिए । नाइटबसको यात्रा गर्दै निलमणी काठमाडौं आइपुगे । बसपार्क ओर्लेपछि उनी तिरीमिरी झ्याईं परे । कहांको मनकामना कहांको काठमाडौं ? गाडीको पिंपींले उनको कान खायो । यताउता भौतारिएरै साँझ पर्यो । नजिककै होटेलमा बास बसे ।

नक्कली रेडीयो कर्मचारी भेट्दा पल्लो कोठमा बस्ने धनबहादुर अधिकारीले निलमणीको सोधिखोजी गरे । गायक बन्ने धोको भएका निलमणीलाई ढुंगा खोज्दा देउता भेटेजस्तो भयो । किनकी धनबहादुर त रेडियो नेपालका जागिरे रहेछन् । ५ हजार दिएपछि रेडियो नेपालमा गाउन पाइने अधिकारीको सुझाव थियो । उनले आफुसँग भएको पैसा टक्टकाएर धनबहादुरलाई दिए । नपुगेको पैसा आफैंले हालिदिने धनबहादुरको प्रस्ताव थियो । पैसा लिएर गएका धनबहादुर फर्केनन् । सोध्दैखोज्दै निलमणी रेडियो नेपाल पुगे । त्यहां त धनबहादुर नाम गरेको कर्मचारी नै रहेनछ । काठमाडौंमा उनलाई पहिलो गासमै ठूलो ढुंगा लाग्यो ।  सिंहदरबार अगाडि सडकमै बास गोजीको गाँठ सकियो ।

इन्तु न चिन्तुमा परेका निलमणीको कोही थिएन । उनले सिंहदरबार अगाडि बसेर माग्न थाले । एक दिन उनलाई नरबहादुर राउत आफ्नो परिचय दिंदै बोलाए । खुशी हुँदै उनी मातृ नेपाल अपांग संघ पुगे । जिन्दगीको स्वरुप बदल्ने सपनासहित संघको कार्यालयमा पुगेपछि उनले पत्तो पाए, संघले त माग्ने शैली पो बदलिदिंदो रहेछ । अपाङ्गलाई माग्ने तालिम दिने र भीखको अंशबण्डा गर्ने काम गर्दो रहेछ । बिद्रोही स्वभावका निलमणीलाई सहिनसक्नु भयो । तर, उनीसँग अर्को विकल्प पनि थिएन । मन नहुंदा नहुंदैपनि उनी केही महिना त्यही संघमा बसे । परिश्थितिको दासी बनेका थिए निलमणी ।

गीत रेकर्ड भयो, गायक बने निलमणी ज्ञानेश्वरको सो संस्था छाडेर उनी भाडामा बस्न थाले । मालीगाऊंमा तीन सय रुपैयां उनी भाडामा बस्थे । संस्थामा बस्दै गर्दा उनको भेट पत्रकार संकेत कोइरालासँग भएको थियो । कोइरालाले उनको अन्तरवार्ता विमर्श साप्ताहिकमा छापिदिएका थिए । साहित्यमा रुची भएका संकेतले निलमणीलाई निरन्तर सहयोग गरिहे । संकेतकै सहयोगमा निलमणीको पहिलो गीत रेकर्ड भयो । कुहिरो लाग्यो बादल उड्यो दिंगला बजार ढाक्यो बिरहले लै लै रुन पो मन लाग्यो .........

.बोलको गीत लोकप्रिय भयो । सो गीतका कारण उनको खोजी शुरु भयो । दोहोरी साँझबाट उनका लागि जागिरको प्रस्ताव आउन थाल्यो । गीत लिएर मानिसहरु उनकोमा आउन थाले । यही पृष्ठभूमीले उनलाई एक दर्जन लोकदोहोरी एलबम निकाल्न सक्ने बनायो । १८ वटा दोहोरी साँझमा गाउंने अवसर दिलायो । फर्केर हेर्दा उनलाई आफ्नो जीबन आफैंलाई पत्यार नलाग्ने खालको लाग्दछ । निलमणीले झ्याईं पारे ललाटमा जे लेखियो, देखियो नारान † लेख्नेपनि मेट्न सक्दैन भनिएको त्यसै होइन रहेछ । निलमणीको जीबनरेखा यसै भन्छ । दिनेश गौतमसँग २०५९ सालमा निलमणी कोटेश्वरमा डेरा गरी बस्थे । गौतमको घर रौतहट चन्द्रनिगाहपुरका थिए । काठमाडौं जोरपाटीकी कल्पना खड्का ठूलीमाको घर गएकी थिइन् । काठमाडौं फर्कदा गौतम र खड्का एउटै सिटमा परे ।

उनीहरुका बीचमा कुराकानी हुँदै गयो । गीतसंगीतमा रुची राख्ने खड्काले नेपाल टेलिभिजनमा प्रशारण भएको देउराली कार्यक्रमको प्रसंग निकालिन् जहाँ निलमणीको अन्तरवार्ता दिइएको थियो । शारीरिकरुपमा असक्त भएपनि सशक्त गीत गाउने मान्छेको अन्तरवार्ता हेरेको भनेपछि दिनेश अचम्ममा परे । उनले फ्याट्ट भने, ‘निलमणी मेरो साथी हो ।’ काठमाडौं फर्केपछि कल्पनालाई लिएर दिनेश निलमणीको कोठामा गए । फ्यानलाई फेटेपछि निलमणी दंग परे । एकै नजरमा उनको माया बस्यो । उनले संकेत गरिहाले । त्यसपछि उनले कल्पनामाथि भावनाका थुंगाले एकोहोरो प्रहार गर्दै गए । अनेकौ प्रयासपछि कल्पनालाई उनले झ्याईं पारे । अहिले कल्पना बैदेशिक रोजगारका लागि बाहिर गएकी छिन् । छोरीको रेखदेखमा निलमणी खटिएका छन् । ससुरालीमा बसेका निलमणीको जीबन पूरै फेरिएको छ ।

प्रस्तुति: भौतिक मल्ल

magnedekhi celebritysamma nilmani
ADVERTISEMENT