कभर स्टोरी मेरो परिवार मेरो कथा राजनीति समाचार

बीबीसीमा मारिएको देखि भुँडीबाट गुराँस निस्केकोसम्म

बीबीसीमा मारिएको देखि भुँडीबाट गुराँस निस्केकोसम्म

२०५८ सालमा राज्यले माओवादी नेताहरुको टाउकाको मूल्य तोक्यो । कालिबहादुर मल्लको मूल्य २५ लाख दश हजार तोकियो । उनले सो मूल्यलाई २ भागमा विभाजन गरे । आफ्नो मूल्य २५ लाख र आफुले बोेकेको पेस्तोलको दश हजार । अनि मनमनै गम खाएः हतियारभन्दा विचारको मूल्य धेरै हुन्छ । उनी यसै भन्थे सेल्टर दिने गाउलेलाई । सेल्टर दिनेहरु उनीसँग जिस्कन्थेः हामीलाई कस्ले भन्छ गरिब ? २५ लाख मूल्यको मान्छे यही घरमा छ । उनी खुब हास्थे । अरुलाई मार्मिक सन्दर्भ भनेर मनोरञ्जनपनि दिने र गतिलो पाठपनि पढाउने पात्र हुन् कालिबहादुर मल्ल ।

संसदमा चित्रबहादुर केसीको भाषण आउंदा निदाएका सभासद् जागेजस्तै माओवादी बैठकमा मल्लको पालो आउंदा सबैले कान ठाडो पार्छन । पहिलो संविधानसभामा सभासदसमेत रहिसकेका पोलिटव्यूरो सदस्य मल्ल बोल्न थालेपछि प्रचण्ड मुसुमुसु हास्न थाल्छन् । प्रचण्डझै देखिने उनी ठेट भाषामा किस्सा सुनाउंदै प्रचण्डदेखि तलसम्मका लागि पाठ सिकाउंछन् ।

 जेलले तानेको राजनीतिक यात्रा

२०३८ सालमा जाजरकोटमा राजनीतिक हावा जोडतोडले चल्दै थियो । मल्ल शिक्षक थिए । बाम राजनीतिका बारेमा रुची राखेपनि उनमा सक्रिय राजनीतिको सोख थिएन । विद्यालयमा पढाउदै गर्दा उनी पक्राउ परे । जेल उनका लागि राजनीतिक विद्यालय बन्यो । उनले सक्रिय राजनीति गर्ने निधो गरे । २०३९ सालमा जाजरकोटमा कम्युनीष्ट पार्टीको स्थापना गरे । संस्थापक सदस्य भए । साहित्यमा दख्खल राख्ने उनी सास्कृतिक अभियानमा जुटे । गाऊगाऊमा सास्कृतिक कार्यक्रम गर्दै जनवादी गीत गाउंदै हिड्न थाले । जनमुक्ति साँस्कृतिक परिवारको संस्थापक संयोजक भए ।

साथीहरु डराए, उनि लागे जंगलतिर २०५२ सालमा जनमोर्चाले आफ्ना गतिविधि तिब्र पार्यो । धेरै साथी पार्टीले युद्धमा जाने निर्णय गरेसंगै पछि हटे । फागुन १ गते पार्टीले जनयुद्ध थाल्ने भयो । माघ २८ गते कालिबहादुर घरबाट बिदावारी भइवरि निस्किए । वहालवाला जिविस सदस्य भएकाले उनलाई एक ठाऊंबाट अर्को ठाऊमा जानपनि सहजै भयो । कसैले कहां जान लागेको भनेर सोधे उनी जिविसको काममा भन्थे । भोलिपल्ट उनी सेल्टरमा पुगे । माघ २९ बाट उनी भुमिगत भए । सुरक्षित ठाऊंमा पुगेसँगै ०५२ माघ २९ गते देखी पुर्णरुपमा भुमिगत भए । शक्तिबहादुर बस्नेत , भक्तबहादुर शाह, माया प्रसाद आचार्य, कुन्त खडका गोपाल राना लगाएतको टोली उनीसँगै थियो । जिविस सदस्य भइसकेका उनलाई धेरैले चिन्थे । भुमिगत रहनपनि उनलाई गाह्रो थियो । धेरै पटक उनी मृत्युको नजिकै पुगे । थुप्रैपटक उनी मारिएको हल्ला फिंजियो । तर, उनी जिवितै रहे ।

 पहिलो पल्ट मारिंदा

०५३ साल असार को महिना उनि कामकै शिलशिलामा जाजरकोटको शक्लाबाट अर्को बेल्टतर्फ जाँदै थिए । लैखमको जंगलमा पुगेपछि पुलिसले पिछा गरिरहेको उनले पत्तो पाए । उनले सुइकुच्चा कसे । प्रहरी खेद्नु खेद्यो । उनी मरेको हल्ला चल्यो । मल्लको भुँडी फुटेको भन्दै विभिन्न किस्सा बने । जाजरकोटमै पनि माओवादीबारे अनेक अड्कलबाजी हुन्थे । रहस्यमा थिए माओवादी । मल्लको भुँडी फुट्दा बाँसको बोक्रा, गुराँसको बोक्रा निस्केसम्म भनियो । माओवादीहरुले त रुखबिरुवा खादारहेछन् भनेर मानिस जिब्रो टोक्थे । मरेका कालिबहादुर भुँडी हल्लाउंदै साथीहरुको सम्पर्कमा आइपुगे । सबैले जिल खाए ।

पुलिससँग अर्काे जम्काभेट

०५३ कै साउनमा उनी फेरी मृत्युको मुखमा पुगे । रग्दा गाविसको ध्यारमा उनी बढीजसो बस्थे । विकट ठाऊं भएकाले सुरक्षित मानिएको थियो । शक्तिबहादुर बस्नेतलगायतको टिम उनीसँगै थियो । उनीहरु जंगल हुँदै ध्यारतर्फ जादै थिए । बस्नेतलाई ट्वाइलेट जानुपर्ने भयो । मल्लले बस्नेतको झोलापनि समाइरहेका थिए । त्यति नै बेला अगाडि केही सल्बलाएजस्तो लाग्यो । साथीहरुले मृग हो भन्ठाने । उनीहरु भोकको बेला मृगको आहार हुने भयो भन्दै हौसिए । बन्दुक ताक्दै मृग भएतिर लागेका उनका साथी डम्बरबहादुर राउतले त्यतिबेला झसङ्ग भए जतिबेला मृग भन्ठानेको चिज पुलिस भन्ने ठम्याए । मल्लको टोलीलाई प्रहरीले घेरा हालिसकेको रहेछ । उनीहरु तितरबितर भए ।

दुईवटा झोला बोगेका कालिबहादुरलाई प¥यो फर्साद । झोला छाडौं, महत्वपूर्ण कागजपत्र पुलिसको हातमा पर्ने डर । नछोडौं ज्यानसमेत जाला भन्ने पीर । पुलिसले उनको झोला समात्यो । उनले झोला छोडेर भीरबाट हाम फाले । निगालो समात्दै उनी कोप्चामा पुगे । जहाँ शक्तिबहादुर बस्नेत र नगेन्द्र लुकिरहेका रहेछन् । शक्तिबहादुर बस्नेत र कालिबहादुर मल्लको झोला पुलिसको हातमा परिसकेको थियो । शक्तिबहादुर विद्यार्थी फाँटमा चर्चित थिए । कालिबहादुर जिविस सदस्य रहिसकेका थिए । पुलिसले उनीहरुका कागजात सदरमुकाममा देखायो । काँग्रेस नेता सनत कार्कीले मल्ललाई एउटा सोनि रेडियो दिएका थिए । सनतले आफुले दिएको रेडियो चिनिहाले । सनतले कालिबहादुर मरेको बुझिहाले । पुलिसले बस्नेत र मल्ल मारिएको खबर फैैलायो । यता उनीहरु अर्को सेल्टरमा पुगिसकेका थिए ।

 जहाँ साथी भनेर पुलिसका सामु पुग्दा

पार्टीको प्रचार प्रसार र कामकै शिलशिलामा २०५५ मा जाजरकोटको शक्ला गाबिसको लैखम जानुपर्ने भयो । उनले आफुहरु आउंदै गरेको जानकारी दिन र खानाको तयारी गर्न एकजना साथीलाई पहिल्यै गाउमा पठाएका थिए । उनी सरासर तोकिएको घर पुगे । बाहिर कोही थिएन । भित्र पूरै अन्धकार थियो । कोही बोलेजस्तो आवाज आयो । ढोकाबाट चिहाएर हेरे । ‘माओवादीहरु कहाँ छन् ?’ भन्दै यातना दिइरहेको देखे । उनी कान्लामा हाम फाले । बालबाल बचे मल्ल । ०५६ सालतिर फेरी उनि मारिएको हल्ला चल्यो । लैखम पछाडिको जंगलमा उनि मारिएको र उनको पेटभित्र गुँरासका बोक्रा भेटिएको भन्न किस्सा सबैतिर फैलियो । घरमा रुवावासी चल्यो । जिउँदै भएरपनि मरेको खबर चल्दा युद्धमा ज्यान जोगाउन सजिलो हुन्थ्यो । मरेको मान्छेको खोजि प्रहरीले गर्दैनथ्यो । तर, घर परिवारमा पीडा हुन्थ्यो । उनले खबर पठाएः चिन्ता लिनुपर्दैन, म सुरक्षित छु ।

तेस्रो पटक बस्नेतसहित मल्लपनि मारिए जाजरकोटका चर्चित नेताहरु शक्तिबहादुर बस्नेत, कालिबहादुर मल्ल, रतिलाल रावतको एकै चिहान भएको हल्ला खुब चल्यो । त्यतिबेलाको चर्चित नेपाल पाक्षिक (हालको नेपाल साप्ताहिक) मा सो समाचार छापियो । उनले सुर्खेत पोष्टमा लेख पठाए । आफु मरेको पढ्न पाउँदा भन्ने शीर्षकको लेख खुब हिट भयो । राज्यले फैलाउने अनेकथरी हल्लालाई चिर्न उनको एउटै लेखले धेरै काम गर्यो । मारिनेमा लहाँका रतिलाल रावत र काली बहादुर बस्नेत थिए । बाहिर काली बहादुर मल्ल र शक्ति बस्नेत मरेकाे  भनेर खबर फैलाइयो ।

बीबीसीले पनि मरेको समाचार दिएपछि

६१ सालमा उनि मुगुमा थिए । साँझपख बीबीसी सुन्दै थिए । बीबीसीले पश्चिम नेपालमा कार्यरत माओवादी नेता काली बहादुर मल्ललाई शिलगुडीमा मारिएको समाचार प्रशारण ग¥यो । मल्लबाट ६५ हजार नगद र एउटा सेटलाइट बरामत गरिएको समाचार सम्प्रेषण गर्यो । रातभरि उनलाई बेचैनी भयो । बीबीसी माओवादी नेता कार्यकर्ता धेरै सुन्थे । गलत समाचारले पार्टीपंक्तिको मनोबल गिराउन सक्ने चिन्ताले उनलाई सतायो । भोलिपल्टै उनको सुभेच्छुक खोज्दै आइपुगे । उनले आफु जिवितै रहेको उत्तर फर्काए ।  

परिवार नै युद्धमा

उनको घर परिवार युद्धमै थियो । जेठो छोरा बिश्व कार्यकर्ता थिए । उनको कार्यक्षेत्र बाँके थियो । कान्छो छोरा संसार जनमुक्ति सेनामा थिए । उनको कार्यक्षेत्र भेरीकर्णाली थियो । क्षेत्र पुरै थियो । कहिले काहीं युद्धकै बिचमा भेट हुँदा भाबुक हुन्थे । अहिले छुट्टिए फेरी भेट हुने हो या होइन । युद्ध न हो कतिबेला के हुने हो ? थाह हुन्थेन । थुप्रै पटक मल्ल मारिए । तर उनी मरेनन् । अहिलेपनि उनी राजनीतिमा सक्रिय छन् । उनकै टिमका शक्तिबहादुर बस्नेत गृहमन्त्री भइसके, उनले सभासदबाहेको जिम्मेवारी पाएका छैनन् । उनी निरन्तर संर्घषको यात्रामा छन् । मृत्यु जितेर आएपनि राज्यसत्ता जित्न नसकेकोमा उनलाई खिन्न लाग्छ । उनी सबै माओवादी एक हुनुपर्नेमा जोड दिन्छन् । उनले विप्पलमा केही गर्ने जोश देख्छन् । मोहनविक्रम सिंहको स्कुलिङबाट आएका मोहन बैद्यले कुरामात्रै गर्ने क्रान्तिका लागि पहल गर्न नसक्ने मल्लको निष्कर्ष छ । प्रचण्डकै छहारीमा हुर्केकाले विप्लवले आँट गर्न सक्ने उनी बताउछन् ।

प्रस्तुति: भौतिक मल्ल

kali bahadur malla nakkali prachanda