ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

इमानका लागि सडकमा आएको छु

इमानका लागि सडकमा आएको छु

Dr-Bhola-Rijal-Nepalaaja

(भोला रिजाल चिकित्सा र संगीत क्षेत्रका हस्ति हुन् । उनी भावुक व्यक्तिपनि हुन् । सानैदेखि इमानजमान अडिक रहेकाले हजुरबुबाले भोला नाम राखिदिएको उनी बताउछन् । सधैं प्रसंशाका पात्र बनेका भोला गोविन्द केसीको अनसनका विरुद्धमा सडकमा उत्रिएपछि आलोचित भएका छन् । निजी मेडिकल तथा डेन्टल कलेजको अध्यक्षसमेत रहेका रिजालले सुन्ने नसकिने आक्षेपसमेत खेपेका छन् । यसै विषयमा कञ्चन न्यौपानले रिजालसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।)

गोविन्द केसी अनसनमा बस्दा मलाई दुःख लागेको छ । मेरो आत्मा रोएको छ । ऊ अनसनमा बस्न हुँदैनथ्यो । यस्तो स्थिति आउन दिनु हुँदैनथ्यो । पहिला गरिएका सम्झौता कार्यान्वयन गरियोस् भनेर उ अनसनमा बसेको हो । नेताहरुले बिना सोचिसम्झि विगतमा सम्झौता गरेकाले यस्तो अवस्था आएको हो । राजनीतिमापनि यस्तै भएको छ । पहिला मधेशीसँग प्रेसरमा परेर सम्झौता गरियो, कार्यान्वयन भएन । डाक्टर केसीसँग पनि पहिले सोचिसम्झि सम्झौता गरेको भए यस्तो स्थिति आउने थिएन ।

अहिले म सडकमा उत्रिएपछि धेरै थरी टिका टिप्पणी हुने गरेका छन् । एकजना मित्रले मलाई फेसबुकमा आएका कमेन्ट नहेर्न र कर्ममात्र गर्न सुझाव दिनुभयो । तपाईले गरेजति काम अरु कसैले गरेको छु भनेर दाबी गर्न सक्दैन भन्दै उनले मलाई मानिसहरुबाट आएका प्रतिक्रियामा चित्त नदुखाउन आग्रह गर्नुभयो । सुभेच्छुक धेरैले चिन्ता व्यक्त गर्नुभएको छ । अहिलेसम्म सुन्न नपरेका र सुन्नपनि नसकिने खालका आक्षेप लगाइएकोमा मलाई धेरैले सन्देश पठाएर सान्त्वना दिनुभएको छ । चोर, डाका, नाफाखोर आदिइत्यादि आरोप लगाइएको छ ।

म भोला हुं । म निष्कपट छु । जस्तै आलोचना भएपनि म इमान्दारिता र सत्यबाट पछि हट्दिन । डाक्टर केसी मेरो भाइ हो । मैले उसँग प्रतिष्प्रर्धा गर्न सडकमा आएको होइन । प्रतिष्पर्धा गर्नुपर्ने कारणपनि छैन । उसले जित्यो भने म खुशी नै हुन्छु । उसको जित भनेको भोलि उसका बारेमा देशले गर्व गर्न सक्नु हो । उसका कारण चिकित्सा शिक्षा धरासायी हुने स्थिति नआओस् । उसले चिकित्सा क्षेत्रमा सुधार चाहेको हो भने उसँग मपनि छु । हामीपनि त्यसैका लागि लागि परेका छौं । उस्ले जित्दा मलाई दुःख हुंदैन तर चिकित्सा क्षेत्र बर्बाद बनाउने प्रतिफल उस्ले प्राप्त नगरोस् ।

पहिलो, दोस्रो, तेस्रो, चौथो पटकसम्म उसले आफु कार्यरत शिक्षण अस्पतालको गुणस्तर वृद्धिका लागि अनसन गर्यो । धेरैले साथ दिए । उसका माग जायज थिए । अहिले ति माग पूरै ओझेलमा छन् । अस्पतालको गुणस्तरका बारेमा उसको ध्यान छैन । नयाँनयाँ माग फेर्दै गएको छ । उसका कारण मेडिकल शिक्षा धराशयी हुंदै गएको छ । हुंदाहुंदा लोकमानसिंह कार्कीका विरुद्ध अनसन बसिरहेको छ । मलाई दुःख लागिरहेको छ, कतै मेरो भाइलाई कसैले बहकाइरहेको त छैन ?

मैले छातीमा हात राखेर भन्नुपर्छःे नेपालमा मेडिकल शिक्षाका लागि कति कुरा त्यागेर लागेको छु । मैले धेरै अवसर त्यागेको छु । म इमानका लागि लड्ने गर्छु । यदि सच्चा दिलले उ चिकित्सा शिक्षाका लागि अनसनमा बसेको हो भने सँगै बसेर कुरा मिलाउन सकिन्छ । किनकी चिकित्सा क्षेत्रको सुधार मेरोपनि गन्तव्य र उद्देश्य हो । त्यसैले उसँग मेरो प्रतिष्प्रर्धा छैन ।

https://youtu.be/n-6IKPW5yeo

Dr. Bhola RIjal Dr. Gobinda Kc Medical Education in Nepal
ADVERTISEMENT