परिवार प्रोफाइल मेरो परिवार मेरो कथा समाचार समाज

युद्धमा छोरा गुमाउने एकमात्र माओवादी हाइकमाण्ड, सम्झनामा बोगटीपुत्र रबि

युद्धमा छोरा गुमाउने एकमात्र माओवादी हाइकमाण्ड, सम्झनामा बोगटीपुत्र रबि

२०५९ साल असार ७ गते धादिङको सत्यवति गाविसको एक घरमा रबि बोगटी आफ्ना साथीसहित छाल पत्रिका प्रकाशनको काममा व्यस्त थिए । चारैतिरबाट सुरक्षाकर्मीले घेरा हालिसकेका थिए । कलममा मस्त रबिमाथि पछाडिबाट फायरिङ भयो । आफ्नै शरीरको रगतले रबिले माटोमा लेखे–माओवादी जि । माओवादी जिन्दावाद लेखेर नसक्दै उनको मृत्यु भइसकेको थियो । नेताहरुले छोराछोरी सुरक्षित राखेको, लुकाएर पढाएको, विदेश पठाएको चर्चा व्याप्त थियो । रबि साधरण थिए । अरु कार्यकर्ताझै खटिन्थे । सायदै कसैले सोचेको थियो मारिने उनी माओवादीका शीर्ष नेताका छोरा थिए ।

पश्चिम नेपालको कमाण्ड सम्हालेका माओवादी नेता पोष्टबहादुर बोगटी दिवाकरका एकमात्र छोरा रबि मारिएको ठीक १४ बर्ष पुगेको छ । रबिले मर्दामर्दै लेखेको माओवादी जिमा न्दाबाद थपिन सक्यो या सकेन समीक्षाको विषय छ । तर, छोरासमेत गुमाउने गरी युद्धमा होमिएको बोगटी परिवार आर्दशको मानक बनेको छ । पोष्टबहादुर बोगटीले चाहेको भए छोरालाई सुरक्षित ठाऊंमा खटाउन सक्थे । लुकाउन सक्थे । आफैंसंग लिएर हिड्न सक्थे । अरु नेताले सुरक्षित शैली खोजेकै थिए । रक्तमुछेल यात्रा र बलिदानीको कथा अरुका छोराछोरीलाई जति नै पढाएपनि आफ्ना छोराछोरी सुरक्षित रहुन् भन्ने हुनेनै भयो । तर, पोष्टबहादुर अपवाद भएर निस्किए । अरुका छोराछोरीको कमाण्ड गर्नेले आफ्नो छोरापनि कसैको कमाण्डमा छोड्न सक्नुपर्छ भन्ने क्रान्तिकारी सोचले उनी निर्देशित थिए । रबि आफ्नो बाटो आफैं बनाउन चाहन्थे । बाबुको बुई चढेर राजनीतिमा उक्लिन उनी तयार भएनन् ।

राजनीतिमा बोगटी परिवार २००९ सालमा जन्मिएका पोष्टबहादुर बोगटी सानैदेखि शालिन तर दृढनिश्चयी थिए । त्रिशुलीको माछापोखरीमा सामान्य जागिरे थिए । पारिवारिक पृष्ठभूमी सामान्य थियो । हक्की स्वभावका कारण उनको परिचय पृथक बन्दै गयो । उनी तुप्चेबाट हिंडेरै कार्यालय जान्थे । बीच बाटोमा पथ्र्यो आंगाबुटार । आंगाबुटारकी राममाया अलिकति हुनेखाने परिवारकी कलकलाउंदी युवती थिइन् । बोगटी दिनहुं चियो गर्थे । बिवाहको प्रस्ताव आयो । शुरुमा राममायाको परिवार सहमत भएन । पोष्टबहादुरको शालिन तर दृढ स्वभावबाट प्रभावित राममायाले दायांबायां सोच्दै सोचिनन्, बिहेका लागि रांजि भइन् ।

बिहेको चर्चा चल्दै गर्दा दुबैको मायाप्रिति बसिसकेको थियो । २०३६ साल मंसिरमा उनीहरुको विहे भयो। २०३८ सालमा रबि जन्मिए । त्यसपछि दुई छोरी प्रतिभा र प्रभा जन्मिए । राममायाले पोष्टबहादुर राजनीतिमा सक्रिय रहेको भेउ पाउंदै गइन् । आर्दश जीबनका धनी पोष्टबहादुरको प्रभाव उनीमाथि झन्झन् बढ्दै गयो । उनी विस्तारै राजनीतिक सहयोगी बन्न पुगिन् । माओवादीले युद्ध थाल्ने भयो । २०५२ सालदेखि बोगटी पूर्णतया भुमिगत भए । राममायाको कांधमा परिवारको पूरै जिम्मेवारी आयो । छोरी ससानै थिए । रबि भर्खर किशोरवयमा चढ्दै थिए । त्यसमाथि सुरक्षाकर्मीको धरपकड नियमितजस्तो भइरहन्थ्यो । राममाया आफैंपनि भुमिगत हुनुपर्ने स्थिति आइलाग्यो । नाबालिका छोरी र छोरालाई छाडेर उनीपनि भुमिगत भइन ।

कैयौंका लागि प्रेरणा बनेका पोष्टबहादुरको प्रभाव छोरामा नपर्ने कुरै भएन । उनीपनि विद्यार्थी राजनीतिमा सक्रिय भए । प्रहरीले उनलाई पटकपटक गिरफ्तार ग¥यो । उनलाई आत्मसमर्पण गर्न भनियो । साधरण जीबन जिउंनका लागि सुझाव दिइयो । प्रलोभन देखाइयो । राज्यलाई थाहा थियो रबिलाई फकाउन सक्दा रबिमार्फत आमयुवालाई देखाउन सकिन्थ्योः नेताको छोरा त युद्धबाट बिमुख छ तिमीहरु किन पछि लागिरहेका छौं ? पढ्नमा तेज थिए उनी । एसएलसीमा प्रथम श्रेणी ल्याएका थिए । प्लस टुको पढाइ लुकिछिपी गरेका थिए । नतिजा राम्रै आएको थियो । पढाइबाटै केही गर्न सक्ने पृष्ठभूमी थियो । रबि डग्मगाएनन् । भुमीगत जीबन शुरु गरे । ‘उनी कहां छन् ? के जिम्मेवारी दिइएको छ ?’ पोष्टबहादुरलाई खाशै चासो दखाएनन् । छोराको चिन्ता लाग्थ्यो, तर क्रान्तिमा परिवार भन्ने हुदैनथ्यो । बाबुछोरा भिन्दाभिन्दै मोर्चामा थिए । रबि मारिए ।

निधनको खबर रबिको निधन हुंदा पोष्टबहादुर पाल्पा आसपासको क्षेत्रमा थिए । राममाया लखनउमा थिइन् । एककान दुईकान मैदान हुंदै रबि मारिएको खबर पार्टीपंक्तिमा फैलियो । लखनउसम्मपनि पुग्यो । तर, राममायालाई भनिएन । रबिको निधन भएको खबर प्रकाशित भएका पत्रपत्रिका लखनउ पुगिहालेपनि लुकाइन्थ्यो । छोरा मरेको खबर रामामायालाई सुनाउने साहश कसैसंग रहेन । पार्टीका साथीहरुले निष्कर्ष निकाले दिवाकर कमरेड आफैंले सो खबर सुनाउंनुहुनेछ । २ महिनापछि लखनउ आइपुगे पोष्टबहादुर । वियोगको पोको खुल्दा राममायाको मुटुले ठाउंm छाड्यो । तर, युद्धको आवेगसंग अभ्यस्त उनले मन सम्हालिन् । युद्धमा मारिएका रबिजस्तै सयौं छोराछोरीलाई सम्झिइन् ।

अहिले नेताका साथमा उनीहरुका छोराछोरी घुमफिर गरेको देख्दा राममायालाईपनि रबिको यादले सताउंछ । एकमनले सोच्छ, त्यतिबेला थोरैमात्र ख्याल गरेको भए छोरालाई बचाउंन सकिन्थ्यो । अर्को मनले भन्छ, तर त्यसो गर्नु क्रान्ति र आर्दशमाथिको गद्दारी हुन्थ्यो । उनको मन कहिले छोरा गुमाएकोप्रति भारी भएर आउंछ । कहिले छोराको सहादती सम्झदा गर्वले छाति ढक्क फुल्दछ । क्रान्ति र आर्दशको अग्नीपरीक्षामा उर्तिण भएको आभास हुन्छ ।

प्रभावशाली पोष्टबहादुर पोष्टबहादुर जतिको सादा र स्वच्छ छबीको नेता माओवादीमा सायदै अर्को कोही थियो वा रहेको छ । उनले एकमात्र छोरासमेत गुमाए । क्रान्तिमा सबै गुमाउन तयार रहेको उदाहरणका रुपमा उनी स्थापित भए । छलकपटभन्दा टाढा रहे । प्रचण्डको सामुन्नेमा प्रचण्डको आलोचनापनि गर्न सक्ने तर प्रचण्डका विरुद्धमा हुने पर्दापछाडिका खेललाई सधैं परास्त गर्न सक्रिय रहने उनको स्वभाव थियो । प्रचण्डका अति विश्वासिला सहयोद्धा थिए पोष्टबहादुर । पोष्टबहादुर चमकदार भाषण गर्न जान्दैनथे । नत शब्दजाल बुनेर अभिव्यक्ति दिन्थे । तरपनि उनका शब्दशब्द पार्टीमा सुनिन्थे ।

किनकी उनी जे बोल्थे, त्यही थिए । पार्टीको महासचिव भएकै बखत बोगटी बिते । सक्रिय राजनीतिमा रहेका बोगटीको हृदयघात र ब्रेन ह्यामरेजका कारण निधन भयो । त्यसयता राममाया थप पीडामा छिन् । दुई छोरीकी आमा राममाया समानुपातिक सांसद हुन् । पार्टी राजनीतिमा सक्रिय छिन् । परिवारलाई नै घर ठानेको उनको भनाइ छ ।

रबिको सम्झनामा अक्षयकोष राममाया पति पोष्टबहादुर बोगटीको आर्दश पदचांप मेटाउन नदिन सक्रिय छन् । पार्टीभित्र अवसरवाद हावि भएको बेलामा उनका सामू आफ्नो छोरा र छोराजस्तै हजारौंको बलिदानीको औचित्य पुष्टि गर्नुपर्ने दायित्व छ । उनी पार्टीमा सोका लागि निरन्तर संघर्ष गर्ने बताउछिन् । संगै, छोराको स्मृतिमा केही गर्ने चाहना राखेकी छिन् । रबि पढेको तुप्चेस्थिति चण्डेश्वरी उच्चमाध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रीत गरि अक्षय कोष खडा गर्ने उनको सोच छ । पार्टी नेतृत्वमा रहीसकेका पति पोष्टबहादुरको नाममा पार्टीले प्रतिष्ठान गठन गरेको छ ।

दुई छोरीले बुबाको नाममा संयुक्तरुपमा अक्षयकोष खडा गर्ने सोच बनाएका छन् । रबिको रगतले लेखेः माओवादी जि । बोगटी परिवारलाई लागिरहन्छ, रबिले न्दावाद लेख्ने जिम्मेवारी आफुहरुलाई छोडेका छन् । मृत्युमा पनि पार्टीको जय देख्न रबि १४ बर्ष पुग्दै गर्दा माओवादी दलदलमा फसेको छ । दलदलमा फसेको माओवादीलाई भासबाट बाहिर निकाल्न सकिन्छ वा सकिदैन ? बोगटी परिवारलाई असार सातले झनै पिरोल्ने गर्दछ । माओवादीमाथि बडारिएको कालो बादलमा चादनीको रेखा देखेको राममायाको भनाइ छ ।

paosta bahadur bogati rabi bogati ram maya bogati