अन्तरवार्ता कला साहित्य मनोरञ्जन समाचार सामाजिक सञ्जाल

म झुसिल्कीराबाट पुतलीमा परिवर्तन हुंदैछुः करिष्मा मानन्धर (भिडियो सहित)

म झुसिल्कीराबाट पुतलीमा परिवर्तन हुंदैछुः करिष्मा मानन्धर (भिडियो सहित)

अभिनेतृ करिष्मा मानन्धरको जीबनभोगाइ असाधारण छ । सानैमा टुहुरी भएकी उनले जीबनमा कैयौं कठीन मोडसंग संघर्ष गरिन् । विद्यालय पढाइसमेत पूरा गर्न पाइनन् । चलचित्रसमेत नहेरेकी करिष्मा एकाएक नायिका भइन् । फिल्मबाट निकालिइन् । तर, हरेश खाइनन् । नम्बर वान नायिकको हैसियत बनाइन् । अभिनेतृ नायिका पछिल्लो समय नेतृको भुमिकामा छिन् । सुन्दरताले उनलाई सधैं साथ दिएको छ । आलोचना र संर्घषले उनलाई पछ्याउन छाडेको छैन । उनको बाल्यकालदेखि नयांशक्तिको जन्मसम्ममा केन्द्रीत भइ गरिएको कुराकानीको सम्पादित भाग यहां राखिएको छ ।

यहाँको बाल्यकाल कसरी बित्यो ?

मेरो बाल्यकाल सामान्य एउटा नेपालीको जसरी नै बित्यो । किनभने म एकदमै सानो हुँदा मेरो बुबाको स्वर्गबास भएको थियो । उहाँ नेपाल आर्मीमा हुुनुहुन्थ्यो । त्यसपछाडि ममीकै रेखदेखमा म हुर्किए, बढेँ । अहिले जति ८० प्रतिशत नेपालीहरुको जनजीबन छ, त्यस्तै खालको जनजीवनमा म हुर्किएँ ।

यहाँले नायिका बन्न कसरी प्रेरणा पाउनुभयो ?

नायिका बन्छु भन्ने खासै थिएन । वास्तावमा यो गर्छु भनेर निश्चित गर्न सक्ने खालको परिस्थिति थिएन किनकी मेरो घरमा बुबा हुनुहुन्न थियो । ममीले घरव्यवहार चलाउनुहुन्थ्यो । आर्थिक स्थितिपनि कमजोर थियो । त्यसले गर्दाखेरी एउटा प्लानिङ गरेर अगाडि बढ्ने खालका कुनै परिस्थिति थिएन । जे अगाडि आउँछ, त्यसलाई गर्दै जाने खालको परिस्थिति थियो । ममीले जसरी हुर्काउनुभयो त्यहि अनुसार चल्दै गएँ । भविष्यमा गएर यो बन्छु भन्ने कुनै योजना थिएन ।

अभिनयमा कसरि लाग्नुभयो ?

कलाकारिता क्षेत्रमा एउटा कलाकार बन्छु भन्ने सोच लिएर हिडेको होइन । अचानक मेरो जीवनमा यो क्षेत्र एउटा भाग्य बनेर आयो । भाग्यमा जे छ तपाइँलाई त्यसतर्फ आफँै डोर्याउँदै लैजान्छ भाग्यले । भाग्यले तानेरै म चलचित्र क्षेत्रमा सम्बन्धित हुन पुगेँ । त्यस क्षेत्रका सम्बन्धित मानिसहरुलाई भेट्न पुगेँ । चलचित्र भन्ने कुरा नितान्त नयाँ थियो मेरो लागि । नेमालमा चलचित्रको त्यत्ति विकास भइसकेको थिएन ।

त्यसमाथि पनि हिन्दी चलचित्र र विदेशी चलचित्र मैले त्यति हेर्ने गरेको थिइन किनभने मेरो उमेर एकदमै सानो थियो । अहिलेको जस्तो इलेक्ट्रोनिक मेडिया र टेलिभिजनहरु पनि थिएन । भर्खरै नेपाल टेलिभिजन एउटा आएको थियो । त्यसकारणले चलचित्रबारे म अनविज्ञ थिएँ । जस्तो म अहिले राजनीतिमा एकदमै नयाँ छु । राजनीतिका बारे सुनेर, बुझेर धेरै थाहा हुन्छ हामीलाई । चलचित्रसगँ त म एकदमै अनविज्ञ थिएँ । जब मैले पहिलो चोटि क्यामरा फेस गरेँ, त्योबेलामा मैले चलचित्र हेरेको पनि थिइन ।

राजेशजी र तपाइको जोडी निकै जमेको थियो, सगैँ राजनीतिमा आउने कुरा थियो, उहाँलाई राजनीतिमा नल्याउँने ?

अरुको बारेमा म के भन्न सक्छु र । सुरुको दिनमा चलचित्र क्षेत्रमा जब म नयाँ थिएँ, सुरुवाती दौरमा थिएँ, मलाई सजिलो भएको थिएन । सन्तान चलचित्रमा भुमिका निर्वाह गरेँ, मायालु भन्ने चलचित्र गरेँ । मलाई आफूमा असाध्यै कमि भएको महशुश भयो । त्योबेलामा मलाइ ट्रेनिङ चाहिन्छ भन्ने लाग्यो । बम्बेस्थित मधुमति डान्स सेन्टरमा अभिनय तथा नृत्यको तालिम लिएँ ।

त्यहाँसम्म जानको लागि मलाई दिदी र अरुहरुले सहयोग गर्नुभयो । म बच्चै थिएँ, चौध बर्षको थिएँ, बच्पना थियो । सन्तान चलचित्रका क्रममा मेरा धेरै कमजोरी हुन्थे । बरिष्ट निर्देशक प्रकाश थापाजीलाई दिक्क लाग्थ्यो । गाली गर्नुहुन्थ्यो । पत्रिकाबाजी धेरै भयो त्योबेलामा । उहाँले मलाई फिल्मबाट निश्काशित गर्नुपनि भयो । मैले चुनौतिको रुपमा लिए । असाध्यै धेरै पत्रपत्रिकामा मेराबारेमा लेखियो । नकारात्मक हिसावले मलाई प्रस्तुत गरियो । मैले केही नगरी हुंदैन भन्ने संकल्प गरें । तालिम लिएं ।

त्यसपछि फर्केर बर्षौ फिल्म उद्योगमै बिताएं । सफल यात्रा गरें भन्ने लाग्छ । अहिले म राजनितीमा आएँ । चलचित्र क्षेत्रका अन्य साथीहरु राजनीतिमा किन छैनन् भन्नेबारेमा मैलें के भन्ने । मलाई जे चिजले तान्यो म त्यहींबाटोमा अघि बढ्छु । राजेशजी राजनीतिमा आउंने नआउंने उहाँको आफ्नो नितान्त निजी विचार हो । एउटा सामाजिक प्राणी राजनीतिबाट कहिल्यै पनि टाढा हुन सक्दैन । मेरो विचारमा राजेशजी मात्र होइन । हरेक सचेत नेपाली नागरिक आफ्नो राजनीतिक क्षेत्र र देशको बारेमा सचेत हुनुपर्छ भन्ने लाग्छ । राजेशजीकै बारेमा चाहिँ स्पेशल्ली म भन्न सक्दिन । म उहाँसगँ त्यस्तो नजिक पनि छैन ।

अहिले राजेशजी सगँको सम्बन्ध कस्तो छ ?

राम्रो छ । हामी भेट्दा धेरै राम्रोसगँ बोल्छौँ । एउटा लामो यात्रा हामीले सगँै पार गरेका छौँ । चलचित्र क्षेत्रमा हामीले सफल यात्रा पार गरेका थियौँ । त्यति मात्र हो । त्यो भन्दा पर उहाँको निजी जीवनसगँ म कहिँ पनि सम्बन्धित छैन ।

तपाइँलाई राजनीतिमा आउँने प्रेरणा कहाँबाट मिल्यो ?

यो कुनै व्यक्तिबाट लिइएको प्रेरणा होइन । यो मेरो जीवनमा घटेका घटनाहरु र आफ्नो देशमा भएका, हुन नसकेका परिवर्तन, विकासका लागि हुन नसकेका कुराहरुबाट आएको हो । ‘पलिटिक्स इज अ डर्टी गेम’ भनेर फैलिएको जुन एउटा वितृष्णा छ, हामी त्यस्तो भन्छौँ भने त हाम्रो देश रहँदैन । सचेतनाका साथ मैले राजनीति शुरु गरकी हुं । मैले पनि गर्न सक्छु भने किन नगर्ने भन्ने हिसाबले जोडिएको हो । कुनै व्यक्तिको प्रेरणाले राजनीति गरेको होइन । देशको परिस्थितीले नै प्रेरणा दिएको छ ।

‘पलिटिक्स अीज अ डर्टी गेम’ भन्ने सोचलाई गलत सावित गर्न तपाई आउँनु भएको हो ?

म एकजनाले सपारेर राजनीति सप्रिदैँन । बच्चादेखि लिएर हरेक वृद्धसम्ममा यसबारे सचेतना हुनुपर्यो । आफ्नो समाजप्रतिको जिम्मेवारी महशुश हुनुपर्यो । हाम्रो देशको राजनीति कस्तो हुनुपर्छ भन्ने कुरामा हामीले डाइरेक्सन गर्नुपर्यो । नेता हामीले छानेर पठाउँने हो । नेता बनाउने अधिकार हामीमा छ । त्यसैले

नयाँ शक्ति भनेको के हो ? प्रष्ट पारिदिनुस् ।

नयाँ शक्ति भनेको एउटा पार्टीको नाम हो । यसको सोच वृहत् छ । देश विकासतर्फ गएको छैन । काठमाडौँ मात्रै नेपाल होइन नि । काठमाडौँभन्दा थोरै बाहिरका भुभागमा अहिलेपनि विकास पुगेको छैन । ति ठाऊं र त्यो ठाउँका मान्छेहरुलाई माथि उठाउनको निम्ति नयाँ शक्ति बनेको हो । यो पार्टीका नीति जनतामुखी छ । विकासमुखी छ । यसको संगठन समावेशी छ ।

गैरराजनीतिक संख्या ठूलो छ नयांशक्तिमा, जनताको मन जित्न सक्छ ?

जनता कुनै पार्टीको मात्रै हुँदैन । जनता विकास र सम्बृद्धिसगँ जोडिएको हुन्छ । कुन व्यक्ति चाहँदैन की आफ्नो देश विकासको विकास नहोस् । विकासलाई जनताले साथ दिन्छन् । त्यसकारण नयांशक्तिले जनताको मन जित्छ ।

यहाँले फेसबुक कत्तिको चलाउँनुहुन्छ ?

म चलाउँछु । अहिले झन् बढि नै चलाउँने गर्छु किनभने सामाजीक सञ्जालले एक अर्कालाई कन्नेक्ट गर्छ । एउटा कलाकार मात्र हुदाँ त्यति चलाउने थिइंन । राजनीति थालेपछि बढी चलाउन थालेकी छु । समाजसंग जोडिने एउटा माध्यम हो यो ।

बाबुरामजीले तस्वीर आफैँ बोल्छ भनेर फेसबुकमा फोटो राख्दा त मान्छेहरुको निकै नै धेरै नकारात्मक प्रतिक्रिया आयो नि ?

सामाजिक सञ्जाल अहिले एक किसिमको वितृष्णा पोख्ने माध्यम बनेको छ । डा। भट्टराईकै मात्र कुरा नगरौँ, कुनै अन्य पार्टीको नेता अथवा अन्य कुनै कुरामा पनि मैले सकारात्मक भन्दा बढि धरै नकारात्मक कुरा सुन्ने गर्छु । त्यो भनेकोे एक किसिमको रोग हो । हामी त्यसबाट बच्ँनुपर्छ जस्तो मलाई लाग्छ । यसले झन् अर्कै रुप लिएर जान सक्छ समाजमा ।

तस्विर बोलेको होइन यो भारु बोलेको हो भन्ने आरोप पनि लगाए नि?

मलाई सबै कुरा आलोचना सहज लाग्छ । मलाई गाली गर्दा पनि सहजै लाग्छ । तर यो भारुको कुरा सुन्दा असाध्यै दुख लाग्छ । हामी नयाँ शक्तिमा डा।भट्टराईृको सोचले अगाडि बढेका हौँ । यति धेरै मानिसहरु कुनै लोभ लालचले बढेका छैनन् यहाँ । म छातीमा हात राखेर भन्छु त्यस्तो होइन । हामीले समय र कामले पुष्टि गरेर देखाउने हो । जे सत्य हो त्यो भगवानलाई थाहा छ । भारुको कुरा गर्नेले आधार प्रस्तुत गरिदिए राम्रो होला । [

नेता बन्न त निकै गाह्रो हुँदो रहेछ है ? गाली पनि निकै खाइने ।

हाम्रो भाषा नै गलत छ । यो नेता बन्न होइन । समाज सुधार गर्न यदि कोहि लाग्छ भने त्यसलाई हौसला दिनुपर्छ जस्तो लाग्छ । भाषामा मात्र हामी अल्झिएर बस्नु हुँदैन । म तिसौँ वर्ष कुनै एउटा क्षेत्रमा थिएँ र त्यो क्षेत्रबाट अचानक स्विफ्ट भएर मैले अर्को क्षेत्रमा पाइला हाल्दा मलाई केही अफ्ठयारो अनुभव भइरहेको छ । धेरै गाह्रो छ यो क्षेत्र । राजनीतिमा म झुसिलकिराबाट विस्तारै रुपान्तरण भएर पुतली बन्दै छु । सजिलो छैन । अफ्ठ्यारो पक्कै छ । नेपाली हुँ, नेपाल बनाउँन आएको मान्छे हुँ ।

कस्तो अनुभव भइरहेको छ यो नयाँ शक्तिमा लागेपछि ?

मलाई अझै संयम् बनाइरहेको छ । म कुनैपनि कुरा सुनेपछि तुरुन्तै रियाक्ट गर्ने मान्छे हुँ । सहने बानी छैन, उत्तजित हुने गर्छु । अहिले म सबैलाई डिल गर्दै गइरहेको छु । ममा संयमिता बढेको छ । थप संर्घष गर्न र अगाडि बढ्न सक्छु भन्ने लागेको छ ।

त्यस्तो विशाल सभा थियो, त्यसमाथि पनि नम्बर वान नायिकाले गरेको उद्घोषण, बिगार्नुभयो धेरै पटक, निकै गाली गर्छन् नि तपाईलाई ?

त्यो गाली शब्दको ठाऊंमा अर्को कुनै शब्द छनौट होस् भन्ने चाहन्छु । म त्यसलाई उहाँहरुको आलोचना भन्न रुचाउँछु । म प्रोटोकोल जान्ने मान्छे होइन । मेरो लागि त्यो नयाँ चिज थियो र त्यसको बारेमा मैले पढेको पनि छैन । त्यस विषयमा ट्रेनिङ प्राप्त मान्छे पनि होइन । म एउटा नायिका हुँ जुन तीस वर्षदेखि थिएँ । म कुनै आउट अफ स्पेसबाट जुरुक्क नयाँ शक्तिमा आएँ ।

म यो समाजकै एक कलाकार हुँ । त्यो कलालारिता एकै दिनमा जाँदैन र म त्यो जाओस् भन्ने पनि चाहन्न । म जे हुँ मेरो जरा त त्यहि हो नि, होइन ? अरुबाट पनि हुन्छ त्यस्तो गल्तीहरु । त्यो कार्यक्रममा अन्य राम्रा कुराहरुलाई नहेरेर दुइ चारपटक साना साना केहि सेकेन्डमा भएका कुरालाई मात्रै केन्द्रमा राखियो । मलाई राम्रै भइरहेको छ । मान्छेहरुको नियत सित्तैमा छर्लङ्ग भएको छ । केहील आलोचना गरे होलान् । कैयौं गुणा बढीले समर्थनपनि गरे । अंग्रेजी मेरो भाषा होइन । गल्ति भयो भन्दैमा त्यसरी अपमान गर्ने होइन ।

सिनेमामा यस नो भन्न नआउँनेहरु पनि ओस्कार अवार्ड लिएर जानुहुन्छ । त्ये कसरी भयो त ? त्यो मान्छेको प्रतिभाले होइन र ? जापान देशमा अंग्रेजी चल्दैन । अंग्रेजी नजानेको भनेर जापानिज्लाई आलोचना गर्ने ? भाषा संवादका लागि हो । अतिथितले बुझेरै स्टेजमा आए ।

मेरो देशमा ६२ वटा जति भाषा होलान् । मलाई नेपाली मात्र आउँछ । मेरो आफ्नै देशको भाषा मैले सिक्नु पर्दैन त ? विदेशी भाषा भनेको मेरो लागि ठूलो कुरा होइन । ‘एक्सप्रेसन इज यूनिभर्सल ल्याङ्ग्वेज’ भन्छन् । मैले कोशिश गरिरहेको थिएँ । चार घण्टाको कार्यक्रममा केही कमजोरी हुनु ठूलो कुरा होइन । मलाई सहने शक्ति प्रदान गरिदिनुभयो त्यसकारण आलोचकहरुलाई धेरै धन्यवाद भन्न चाहन्छु ।

एतिहासिक सभाको संचालनका लागि तयारी किन कम गर्नुभयो ?

तयारी नभएको कुरालाई एकदम मान्छु । हाम्रो कार्यक्रम त्यति मात्र थिएन । एकदम हतारमा थियौँ हामी । त्यसका अन्य तयारीहरु थिए । उद्घोषणका लागि पूर्व तयारी गरेकै होइन । कसलाई राख्ने भन्ने कुरा पनि देधारमा थियो । मलाई अघिल्लो दिन मात्रै जानकारी आएको हो र के के गर्नुपर्छ भन्ने कुरा चाहिँ सोहि दिन विहान मात्र दिइएको हो ।

तयारी नभएको भए प्रोफेसनल उद्घोषक नै राखेको भए हुँदैनथ्यो र?

मैले यो कुरा बाबुरामजीलाई पनि भनेको थिएँ । उहाँले के भन्नुभयो भन्दा, पार्टीको कुरा बोल्ने मान्छे चाहिन्छ । हाम्रो पार्टीको भावलाई नबुझ्नले बोल्दा प्रोफेसनल भएर मात्र हुँदैन भन्ने कुरा गर्नुभयो । यसलाई समावेशी बनाउँनुपर्छ भन्ने कुरा पनि भयो । त्यसैले पासाङ्जी र मैले गरेका हौँ । स्वागत भाषण मधेसी समुदायबाट गर्नुभएको थियो । त्यसरी मिलाएका थियौँ हामीले ।

यहाँको शैक्षिक योग्यता कति छ ?

म ओपन बुक हो । मेरो बायोग्राफी पनि निस्कदैँ छ । मेरो शैक्षिक योग्यता अहिलेको विज्ञहरुको जस्तो छैन तर मैले अनुभवबाट धेरै कुरा सिकेको छु, धेरै चिजको ट्रेनिङ गरेको छु जुन विज्ञहरुले गर्न सक्नुहुन्न । ज्ञानबाट विज्ञान जन्मिने हो, विज्ञानले ज्ञान जन्माउँने होइन । म सगँ एकेडेमिक सर्टिफिकेटहरु केहि पनि छैन । मैले मेरो पढाइलाई फेरि पनि अगाडि बढाउन लागेको छु ।

कुन लेभलसम्म पढ्नुभयो ठ्यकक्क भन्न मिल्छ ?

त्यो मैेले भन्न मिल्दैन किलभने म बारम्बार आलोचित भइसकेकको छु । म भन्न चाहन्न । अस्ति पनि नयाँ शक्तिको कार्यक्रममा सबैजना अगाडि गएर नाचगान गर्न थाल्नुभयो तर म अगाडि जान चाहिन । त्यहाँ गएको भए नयाँ शक्तिमा करिश्मा मानन्धर नाच्दैँ थिइन् भनेर आउँथ्यो । त्यसकारण मैले आफूलाई धेरै कुरामा संयम् राख्छु ।

तपाई सधै सुन्दरी भइरहने राज के होला ?

त्यस्तो केहि होइन । म पनि दुख हुदाँ दुखी नै हुन्छु । राती निन्द्रा नलाग्दा बिहान फ्रेस नदेखिने हुन्छ । म आफूलाई सन्तुलनमा राख्ने, तन्दुरुस्त राख्ने र जहिले पनि उत्साहित भएर अघि बढ्ने कोशिश गर्छु अरु त केहि पनि होइन ।

फिल्म क्षेत्रलाई चाहिँ निरन्तरता दिनुहुन्छ कि हुन्न ?

म गर्छु । यसपछि मैले एउटा कथा पाएको छु । त्यसमा म काम गर्दै छु । त्यो सर्ट मुभि हो र त्यसमा म अति नै आशावादीे छु । हिरोज भन्ने फिल्म गरेको थिएँ । त्यो रिलिज हुँदै छ निकट भविष्यमा । कसैले चित्त बुझ्दो भुमिकाको प्रस्ताव गरे म तयार छु । चलचित्र मेरो तृष्णा हो ।

interview with karishma Karishma Manandhar karishma naya shakti