प्रोफाइल मेरो परिवार मेरो कथा सफलताको कथा समाज साहित्य आज

हरिवंशको एसएलसी अनुभव, तेस्रो पटकमा थर्ड डिभिजनमा पास

हरिवंशको एसएलसी अनुभव, तेस्रो पटकमा थर्ड डिभिजनमा पास
एसएलसी केही हो तर सबै होइन । एसएलसीमा उत्कृष्ट नतिजा प्राप्त गरेका व्यक्तिपनि जीबनमा असफल भएका छन् । एसएलसीमा असफल भएकापनि जीबनमा सफल भएका छन् । त्यस्तै एक हुन्ः कलाकार हरिवंश आचार्य । उनको पालामा एसएलसी फलामे ढोका थियो । पासै गर्नु ठूलो कुरा । यो साल ग्रेडिङ पद्धति छ । सहज छ । अर्को बर्ष एसएलसी हुंदैन । अब एसएलसीको भूत छैन, जुन भूत आचार्यले भोगेका थिए । आचार्यबाट असफलताभित्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने सिकौं । –सम्पादक [caption id="attachment_6421" align="aligncenter" width="1000"]hari-bansha-acharya फोटो: हरि बंश आचार्यको फेसबुकबाट[/caption] त्यस बेलाका नेविसङ्का अध्यक्ष बलबहादुर के.सी. नक्सालमा बस्थे । हामी उनलाई ‘दाइ’ भन्दै उनको डेरामा जानेआउने गथ्र्यौं । बेलाबेला पञ्चायपतविरोधी काम गर्दा ढाडमा पुलिसले हानेको सुम्लो देखाउँथे । हामीलाई एसएलसी पास गराउन उनले धेरै कोसिर गरे । मेरो एसएलसीको सेन्टर दरबार हाइस्कुलमा परेको थियो । उनी अङ्ग्रेजी , गणित , विज्ञानको जाँचमा पुलिसको आँखा छल्दै हामीलाई चिट दिन हलमै आउँथे । मलाई चिट दिन आउँदा उनलाई पुलिसले समातेर लट्ठी हान्दै लगेको थियो । उनको प्रयास खेर गयो । एसएलसीको रिजल्ट भयो । विज्ञान र गणितले माया मारेछ । चौथो डिभिजन आयो । पढ्न अलि लद्दुलद्दुहरुले तराईमा गएर मजाले चोरेर, अझ आफ्नो जाँचै अरुलाई लेख्न लगाएर पास भएर आएको थाहा थियो । त्यसैले हामीले पनि अर्को वर्ष सेन्टर परिवर्तन गरेर लहानमा राख्यौं । मेरो साथी राजु मानन्धर अहिले इन्जिनियर छ । ऊ एकदम राम्रो पढ्ने विद्यार्थी हो तर कसरी फेल भयो, थाहा छैन । उसको सङ्गतले म पनि पास हुनुपर्ने हो । ‘मेरो सङ्गतले ऊ फेल भयो ।’ भनौं भने पढ्ने विद्यार्थी त फेल हुनु नपर्ने हो । जाँच दिन लहान त गयौं तर त्यहाँ न आफ्नो घर थियो न मामा घर, कसले मद्दत गर्ने ? त्यसबेला पुलिसलाई मामा भनिन्थ्यो, तिनै मामाहरु मात्र थिए । खासै चोर्न पाइएन जाँचमा । बरु हामी काठमाडौंबाट सँगै गएका राजु मानन्धर, पेकिङ केसी, श्याम श्रेष्ठ, कमल पाण्डे र मेरो झन्डै श्राद्घ गर्नुपरेको । शनिवारको दिन । माघेझरी परेर थामिएको थियो । जाडोले गर्दा मधेस भए पनि लुगा धेरै लगाउनुपथ्र्यो । दिनभरी बस्दा दिक्क लागेर यसो बस्तीपुर गाउँतिर जाने सल्लाह भयो । एक घण्टा हिँडेपछि हामी बस्तीपुर पुग्यौं । सिमसिम पानी पर्न थाल्यो । हामी लहानतिरै फर्कन लागेको खेतखेतै आउँदै थियौं । एउटी तरुनी दाउराको भारी टाउकोमा राखेर हामीतिरै आउँदै थिइन् । सँगै गएको एक जना साथीले उनको वक्षस्थल समातिदिएछ । उनले आफ्नै भाषामा औंला ठड्याउँदै गाली गरिन् । राजु र म भाग्यौं । साथीहरुले ‘एउटा बाहुन, अर्को नेवार डराएर भागे भनेर गिज्याए । हामी रोकियौं । खेतमा रहरका बोटहरु बाक्लै थिए । पर रहरको बोटबाट लुक्तैलुक्तै हातमा लट्ठी लिएर सयौं मान्छेहरु हामीतिरै आइरहेका देखें मैले । ‘ए हामीलाई त गाउँलेले घेर्न लागे, हेर त टाउका र लट्ठी दखिस्’ भनें । बाहुन र नेवार मात्र होइन, हामी सबै भाग्यौं । हामी भागेपछि गाउँलेहरुले ‘चोरचोर’ भन्दै कराउँदै लखेट्न थाले । ‘चोर’ भनेर कराएपछि अर्को गाउँबाट पनि लट्ठी बोक्दै हामीतिर आएको देख्यौं । हामी भाग्दैभाग्दै अगि एकघण्टा हिँडेर गएको गाउँबाट बीस–पच्चीस मिनेटमै लहाननजिक आइपुग्यौं । खोला तर्नुपर्ने थियो, हामीले खोला हामफाल्यौं । जाडो भएर लगाएको बाक्लो लुगाले पानीमुनि तान्यो । पद्मोदय स्कुलको कक्षा छोडीछोडी भृकुटीमण्डपको पोखरीमा पौडी खेलेको अलिकति काम लाग्यो त्यहाँ । लुगा भिजेर भित्रभित्रै ताने पनि जबरजस्ती पौडी खेल्यौं । गाउँलेले हानेको माटोको डल्लाले ढाडमा ड्वाङड्वाङ लाग्दै थियो । हामी खोला तरेर लहान बजार पुग्यौं । पानीले निथु्रक्क भिजेका हामी स्थानीय दीपक भन्ने मान्छेको घरभित्र पस्यौं । त्यहाँ बस्दै जाँदा उनीसँग राम्रो मित्रता भयो । गाउँलेहरु लट्ठी बोकेरै लहान बजारतिर हामीलाई खोज्दै आएछन् तर दीपकले लुकाइदिएकाले भेट्न सकेनन् । दीपकले गाली गर्दै भने–‘‘ त्यस्तो गर्नु हुन्छ ? तिमीहरुलाई गाउँलेले भेटेका भए लट्ठीले हानेरै मार्थे । गाउँ नै उल्टिएर मारेपछि पुलिस केस पनि लाग्दैन ।’’ हामी चिसो लुगा र डरले काम्दै साँझसम्म त्यहीँ लुकेर बस्यौं र राति मात्र डेरामा गयौं । भोलिपल्ट प्रश्नपत्र हेर्नुभन्दा पनि ‘ हिजोका गाउँलेहरु विद्यालयमै हामीलाई खोज्दै आए कि’ भनेर ढोकामा हेर्दै थियौं । त्यस्तरी ज्यान हत्केलामा राखेर दिएको जाँचमा पनि चौथो डिभिजन नै आयो । हिसाबमा मेरो दुई नम्बर पुगेन । राजु मानन्धर एकजना मात्र पास भयो । अर्को साल फेरी जाँच दिने राजु भुजू भेट्टाएँ । राजु पनि मेरो मिल्ने साथी हो–म जस्तै एसएलसी फेल भएर बसेको । तौलिहवामा जाँच दिन जानलाई साथी खोज्दै रहेछ । धेरै वर्षअगि राजुका बुबा पूर्ण भुजू तौलिहवा जिल्ला शिक्षा कार्यालयको हाकिम भएर बसेका रहेछन् । उनको सिफारिसमा हामी तौलिहवा गयौं र राजु भुजूसँगै स्थानीय विष्णु कार्की र शम्भु कार्कीको घरमा बस्न थाल्यौं । त्यो घरका बुबाआमाले हामीलाई धेरै माया गरे । राजारानी जिला भ्रमणको सिलसिलामा तौलिहवामै आउनेवाला रहेछन् । जिल्लामा भएजति पुलिस प्रशासनका हाकिमहरु तौलिहवामै थुप्रेका रहेछन् । जाँचमा चोर्न त के, फर्कन पनि पाइएन । त्यस्तो कडा गरेको थियो । म पोखरामा रोधीघर सांस्कृतिक कार्यक्रम देखाउने सिलसिलामा अरुणा लामा दिदी, गोपाल योञ्जन दाई, कुमार बस्नेत दाईहरुसँगै थिएँ । रेडियोले एसएलसीको रिजल्ट भएको समाचार फुक्यो । त्यतिखेर गोरखापत्रमा मात्र रिजल्ट प्रकाशित हुन्थ्यो । पोखरामा गोरखापत्र पनि साँझतिर आइपुग्दो रहेछ । त्यस बखत फोन सबैको घरमा थिएन । मैले छिमेकीको घरमा फोन गरेर ‘बिन्दु दीदीलाई बोलाइदिनुस्न, म एकछिनपछि फोन गर्छु भनें । दस–पन्ध्र मिनेटपछि फोन गरेको त दिदीले भनिन् –‘‘गधा ! पास भएछस् । थर्ड डिभिजन आएछ तेरो ।’’ मलाई त पास हुनु भनेको थर्ड डिभिजन होइन, बोर्ड फस्ट आएजस्तो भयो । खुसीले वाकवाक लागेर ट्वाइलेटै जानुप¥यो । कुमार दाइ, गोपाल योन्जन दाइ, अरुणा लामा दिदी सबैले बधाई दिए । कहिलेकाहीँ रिजल्ट भएको भोलिपल्ट ‘भुलसुधार’ भनेर आउँछ । त्यसमा कोही पास भएका फेल हुन्छन्, कोही फेल भएका पास पनि हुन्छन् । नक्सालकै एक जना एकदमै पढैया मान्छे फेल भएछन् र त्यही दिन झुन्डिएर आत्माहत्या पनि गरेछन् । तर भोलिपल्ट भुलसुधारमा ‘प्रथम श्रेणीमा पास’ भनेर निकाल्यो । मेरो भने भोलिपल्ट भुलसुधारमा फेल भनेर निस्कने पो हो कि भनेर खुब डर लागेको थियो तर निस्केन । म पास भएको भयै भएँ । (हरिवंश आचार्यको चिना हराएको मान्छेबाट साभार गरिएको अंश)

china harayeko manche hari bansha acharya SLC