समाज

'बेइमानीको विरासत भएका खनालले ओलीलाई प्रश्न उठाउन सुहाउंछ ?'

'बेइमानीको विरासत भएका खनालले ओलीलाई प्रश्न उठाउन सुहाउंछ ?'
Jhalanath Khanal And KP Sharma Oli जेठ-२०, राजनीति इमानमा चल्छ । इमानमा नचलेकैले नेपालको राजनीति प्रदुषित छ । निष्कलंकित भनिएका सुशील कोइरालाले जीवनको उर्तराद्धमा बेइमानीको तिलक लगाए । भद्र सहमति भएकै थियो । तर, उनी एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन राजी भएनन् । बरु मैदानमा आफैं उभिए । सम्भवतः सादगी जीवनमा सो घटनाले लगाएको धब्बा सुशीलका लागि निकै महङ्गो रह्यो । राष्ट्रवादी छबि नराम्रोसंग धमिलियो । छबि पखाल्न नपाउंदै सुशील स्वर्गे भए । अहिले केपी ओलीलाई भद्र सहमति उल्लंघन गर्न खोजेको आरोप छ । बजेटपछि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमतिको पालना गर्न अहिले ओली सहमत नभएको चर्चा छ । यदि भद्र सहमति भएकै हो र उनले उल्लंघन गर्न खोजेकै हुन् भने ओलीका लागि यो प्रत्युत्पादक हुनेछ । ओलीको बोलीमा ओजन देख्नेहरु धेरै छन् । तर, विगत उनका लागि पनि सहज छैन । संविधानसभाको दोस्रो निर्वाचनलगत्तै नयां संविधानसभाले राष्ट्रपति चिन्दैन भनेर ओलीले संविधानसभामा अभिव्यक्ति दिएका थिए । तर, संविधानसभाले नचिनेका राष्ट्रपतिले संविधानसभामै नीति तथा कार्यक्रम पढे । ओलीले टुलुटुलु हेरेर बसे । यस्ता कैयौं सन्र्दभ खोज्न सकिन्छ ।

Samchar Tipani

एमालेका बरिष्ठ नेता झलनाथ खनालकै शब्द सापट लिने हो भने कसैलेपनि राजनीतिक बेइमानी गर्न हुंदैन । भद्र सहमति भएकै हो भने ओलीलाईपनि सोको अवज्ञा गर्ने नैतिक छुट हुने छैन । ओली जतिनै लोकप्रिय हुन्, उनीपनि नैतिकताको कसीमा जांचिनै पर्दछ । तर, उनलाई नैतिकताको प्रश्न तेर्साउन नेता खनालले मिल्छ ? प्रश्न अहंम छ । किनकी उनको विरासत नै बेइमानीको छ । पहिलो, नेकपा एमाले २०५४ सालमा विभाजित भयो । नीतिगतरुपमा तत्कालिन महासचिव माधबकुमार नेपालसंग सबैभन्दा बढी असन्तुष्ट थिए पूर्वमहासचिव झलनाथ खनाल । शालिन स्वभावका खनालले भित्रभित्रै खरो स्वभावका बामदेब गौतमलाई उचालिरहे । परिआए आफुपनि अगाडि सर्ने भन्दै उनले गौतमको कांध थापे । विवाद बढ्दै गयो । गौतम पछाडि नर्फकने गरी अगाडि बढ्दै गए । उनलाई खनालजस्ता हस्तीको भित्री साथ र सिपी मैनालीजस्ता नेताको खुलस्त कांध थियो । अन्ततः बामदेब गौतम पार्टीबाट बाहिरिए । नेकपा माले जन्मियो । झलनाथ खनाल एमालेमै रहे । आजपनि एमालेवृत्तमा खनालको भुमिका नरहेको भए पार्टी विभाजित हुंदैनथ्यो कि भन्ने धेरै छन् । संविधानसभाको पहिलो निर्वाचनपछि तत्कालिन एकीकृत नेकपा माओवादी भीमकाय पार्टी बन्यो । एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बने । छापामार र बैधानिक सेना दुबैको एकसाथ एकै व्यक्तिले कमाण्ड लिने परिश्थितिमा देश पुग्यो । भुमिगत सुप्रिम कमाण्डर कार्यकारी प्रधानमन्त्री बनेपछि तत्कालिन सेनाप्रमुख रुकमाङ्गत कटवाल प्रतिपक्षी दलको नेताजस्तो गर्जन थाले । बोलक्कड कटवाल राजनीतिक वक्तव्यबाजीमा लागिरहे । आठौं महाधिवेशनमा आफुलाई अध्यक्षमा पराजित गर्न कटवालले भुमिका खेलेको खनाललाई थाहा थियो । यो प्रसंग कटवालको आत्मवृत्तान्तमा पनि उल्लेख छ । उनले पालाको पैचों तिर्ने गरी प्रचण्डलाई सुराए । प्रधानमन्त्री प्रचण्डलाई ढुंगा खोज्दा देउवा मिलेजस्तै भयो । एमालेको साथ लिएर कटवाललाई स्पष्टिकरण सोधे । कटवाललाई स्पष्टिकरण सोधेपछि राजनीति गरमरायो । अध्यक्ष खनाल बेइजिङ हानिए । बिमानस्थलमा खनाल बोले,‘राजनीति गर्ने सेनापतिलाई कारबाही हुन्छ । म फर्कदा अर्कै सेनापति भइसक्छ ।’ खनाललाई बिदाइ गर्न तत्कालिन उपप्रधानमन्त्री एंव एमाले उपाध्यक्ष बामदेब गौतम र महासचिव ईश्वर पोखरेल बिमानस्थल पुगेका थिए । गौतमपनि बिमानस्थलबाट सोझै पोखरेलको निजी निवास महाराजगंज हानिए । त्यहां दोस्रो बरियताका जर्नेल कुलबहादुर खड्कालाई बोलाइयो । पोखरेलले खड्कालाई बधाइ दिंदै सेनापतिका लागि तयार हुन आग्रह गरे । गौतमले बिमानस्थलमा पार्टी अध्यक्ष खनालले बोलेको प्रसंग र प्रचण्डको मुड दुबै अवगत गराए । फुरुङ्ग हुंदै खड्का तयारीमा लागे । खड्का भन्छन्, ‘सेनापतिका लागि पहिलो प्रस्ताव मलाई ईश्वर पोखरेलबाट आएको हो । संगै बामदेब गौतम हुनुहुन्थ्यो । गौतमले हो मा हो मिलाउनु भएको हो ।’ पार्टी अध्यक्ष खनालको निर्देशन र महासचिवको साथ पाएपछि तत्कालिन उपप्रधानमन्त्री एंव गृहमन्त्री गौतम मच्चिन थाले, ‘कटवाललाई कारबाही भएरै छाड्छ । ढुक्क हुनुहोस्, राजनीति गर्ने व्यक्ति सेनापति हुन पाइंदैन ।’ गौतम ०५४ सालमा पनि मच्चिएर थच्चिएका थिए । फेरिपनि त्यस्तै भयो । खनाल चीनबाट फर्कदा अर्कै भइसकेका थिए । कटवालको बर्खास्ती फिर्ता गरी उनलाई पदमा थमौती गरियोस् भन्ने बिन्तीपत्र संवैधानिक भनिएका राष्ट्रपतिसमक्ष चढाइयो । पहिलो नम्बरमा हस्ताक्षर गर्ने अरु कोही थिएन, उनै खनाल थिए । प्रचण्डले खनालसंग आक्रोश व्यक्त गरे । खनालले शालिन तरिकामा जवाफ फर्काए, ‘म चीन हुंदै कारवाही प्रक्रिया सक्नुपर्ने, फर्कदासम्म नसकेकाले कुरा बिग्रियो ।’ पार्टी अध्यक्ष र संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री हुंने हक उनकै थियो । तर, गिरिजाप्रसाद कोइरालाको प्रस्ताबमा माधब नेपाललाई प्रधानमन्त्री बनाउन उनी सहमत भए । बाहिर सहमत देखिएपनि भित्र उनको मन कुंडिएको रहेछ । उनी पार्टी अध्यक्ष भइकनपनि आफ्नै दलको नेतृत्वको सरकार असफल बनाउन निरन्तर लागिरहे । नेपाल पार्टीभित्रकै असहयोगका कारणपनि राजिनामा गर्न बाध्य भए । राष्ट्रिय सहमतिको सरकारबिना देशले निकास नपाउंने भन्दै एमालेले सात महिनासम्म संसदमा प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएन । खनाल पार्टी अध्यक्ष थिए । तर, पछि आफैं बहुमतिय सरकारको प्रधानमन्त्री बने । भित्रीरुपमा प्रचण्डसंग उनले सात बुंदे सहमति गरेका रहेछन् । सहमति बाहिरिएसंगै उनी सहमतिबाटै बाहिरिए । अडानबाट उडान गरे । अध्यक्ष भइकनपनि उनी अल्पमतको नेता बने । नबौं महाधिवेशनमा खनाल सहमतिको अध्यक्ष हुन चाहन्थे । सम्भव भएन । मैदानमा उत्रिए केपी ओली र माधब नेपाल । अन्तिम समयमा नेपालसंग उनले हात कसे । उनका केही मान्छे पदाधिकारीको उम्मेदवारसमेत बनाइए माधब टीमबाट । तर, खनाल एकाएक फेरिए । उनी मौन बसिदिए । उनको मौनताले प्रष्टैरुपमा ओलीलाई सहयोग पु¥यायो । झिनो मतले नेपाल पछारिए । उनले नेपालसंगको भद्र सहमति उल्लंघन गरे । ओलीले उनीसंगको भद्र सहमति मिल्काइदिए । राष्ट्रपतिमा बिद्या निर्वाचित भइन् । खनालले जिल खाए । आफुसंगको भद्र सहमतिको उल्लंघन हुंदा उनी बोल्न सकेनन् । किनकी फिल्ड कमजोर थियो । अहिले उनको र माधब नेपालको सहकार्य छ । बलियो सांझेदार भेटाएपछि प्रचण्डसंगको भद्र सहमतिको रक्षार्थ बोलिरहेका छन् । तर, विगत भन्छ खनालले भद्र सहमतिको बारेमा बोल्ने नैतिक धरातल गुमाइसकेका छन् । (यहां उल्लेखित सन्र्दभ विभिन्न अन्र्तवार्ता, पुस्तक र सन्दर्भ सामाग्रीमा आधारित छन् । प्रमाणको आधारमा उल्लेख गरिएको हो । –सम्पादक )

bidhya bhandari Jhalanath Khanal KP Sharma Oli Nepal aaja Nepali Politics