समाचार

किताब बिना नै पढाउन बाध्य राजधानीकै विद्यालय

किताब बिना नै पढाउन बाध्य राजधानीकै विद्यालय

सातदोबाटो चोकबाट चक्रपथभन्दा बाहिर लागेपछि वस्ति पातलिंदै जान्छन् । केही खुला ठाऊ र परम्परागत बस्ती देख्न पाइन्छ । गोदावरी बनको शितल हावाले सुम्सुमाउंदा गर्मी मौसमको मज्जा सहजै महशुश हुन्छ । त्यहीं बनको बिचमा छ एउटा सुन्दर गाऊः बडिखेल । चिटिक्क परेको सो बस्ती सानो छ तर सुन्दर छ । आधुनिकताले उतिसारो छोएको छैन । टिनले छाएका ससाना घर देख्दा यो राजधानीभित्रकै एउटा गाऊं हो जस्तो लाग्दैन । आधुनिकताको हावाले छोएर शहरमा एउटै घरमा बस्ने मानिसका बीचमापनि परिचय हुंन छाडिसकेको छ ।

शहर नजिकै रहेको यो गांऊमा प्रवेश गर्न नपाउंदै देवो भवःको अनुभुति भइसक्छ । गोदावरीको टौखेल भएर गोदावरी भिलेज रिसोर्टबाट बायाँतिर लागेपछि श्री पथ प्रर्दशक माध्यामिक विद्यालय पुगिन्छ । भवन नयां छ । तर, पठनपाठनमा कमी छ । राजधानी शहर नजिकै भएपनि यो विद्यालयले पाठ्यपुस्तकको अभाव झेलिरहेको छ । विद्यार्थीहरु फुलमाला लिएर उंभिरहेका थिए । कोही पाठ्यपुस्तक लिएर आउंदै रहेछ । एकै छिनमा केही पुस्तकसहित आइपुगिन फाउन्डेसन अफ रुरल एण्ड अर्बन नेपालकी प्रतिनिधि सुप्रिया शाक्य । शाक्यको आवागमनले विद्यालयमा भिन्दै रौनक ल्याइदियो । उनले नर्सरी देखि कक्षा ८ सम्मका विभिन्न ५४६ किताव बितरण गरिन् । पुस्तक पाएपछि केटाकेटी प्रफुल्लित देखिन्थे ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ सरकारले । बजेटमा अंग्रेजी भाषामा पठनपाठनको व्यवश्थाको चर्चा छ । तर, जनक पुस्तक सामाग्री केन्द्रले छाप्ने पुस्तककै अभाव खट्किएको छ । बिद्यालयको बिडम्बना व्यक्त गरिरहेका थिए प्रधानाध्यापक अन्जन कुमार आचार्य । उनी भन्दै थिए, ‘नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना भएतापनि त्यस विद्यालयमा किताब आइसकेको छैन ।’ विद्यार्थीले एकै स्वरमा भने अहिलेसम्म कक्षा नौ का दाइ दिदीहरुको पुरानो किताब पढिरहेका छौँ, हजुरहरुले गर्नुभएको यो सहयोग कहिल्यै बिर्सिने छैनौँ ।

समयले कोल्टो फेरेपनि बडिखेलको समाज भने परिवर्तन भएको रहेनछ । अझै बालविवाह हुने गरेको छ सो क्षेत्रमा । सानैमा हुने भागी विवाह अर्को जटिल समस्या बनेको छ । बालविवाहका कारण विभिन्न अपराध बढेको विद्यालयकी शिक्षिका मेनुका आचार्य बताउंछिन् । राजधानीमै बाल विवाह छ । पुस्तकको अभावमा बालबालिका पढ्न पाइरहेका छैनन् । पांचतारे होटेलमा बालबालिकाबारे दिनहुं सेमिनार भइरहन्छ । तर, बालालिकाको बेहाल छ । ठूला गफ भन्दा साना काम नै जाति भन्ने उदाहरण बनेको छ फाउन्डेसन अफ रुरल एण्ड अर्बन नेपाल । विद्यालयलाई सहयोग गरेपछि उत्साहित देखिएकी संस्थाकी प्रतिनिधि शाक्यले बिद्यालयका लागि थप केही गर्ने अठोट व्यक्त गरिन् ।

प्रस्तुतिः कन्चन न्यौपाने

forced to run school without books kathmandu school no book on school