विदेश

इजरायली पूर्व राष्ट्रपति कात्सभद्वारा क्षमा याचना

इजरायली पूर्व राष्ट्रपति कात्सभद्वारा क्षमा याचना
Moshe Katsav जेरुसेलम (इजरायल), २६ वैशाख । इजरायली जेलमा बलात्कार अभियोगमा बन्दी जीवन बिताइरहेका इजरायली पूर्वराष्ट्रपति मोसे कात्सभले आफूले गरेको गल्तीप्रति क्षमायाचना गर्नुभएको छ । कात्सभले दुई भिन्नाभिन्नै बलात्कार लगायतका यौन उत्पीडन कार्यमा संलग्न भएको अभियोगमा सन् २०११ मा यहाँको अदालतले उहाँलाई सात वर्षको काराबासको सजाय सुनाएको थियो । सत्तरी वर्षीय पूर्वराष्ट्रपति कात्सभले अदालतद्वारा तोकेको सजायमा पुनःविचार गरी काराबास समयावधि लाई घटाई आफूलाई रिहा गर्नका लागि भनी गएको महिनामा वर्तमान् राष्ट्रपति रेउभेन रिभलिनको कार्यालयलाई एक पत्र पठाउनुभएको थियो । तर उहाँको अनुरोधलाई राष्ट्रपति कार्यालयले कात्सभले गरेको अपराध स्वीकार गर्दै पीडित महिलाप्रति सद्भाव नजाएको भन्दै अस्वीकार गरेको थियो । राष्ट्रपतिको कार्यालयमा प्राप्त हुने कुनै पनि अनुरोधलाई राष्ट्रपतिको कार्यालयको कानुनी विभागमा पठाउने प्रचलनअनुसार पूर्वराष्ट्रपतिको पछिल्लो पत्रलाई विभागमा पठाइएको राष्ट्रपतिको कार्यालयद्वारा आइतबार जारी वक्तव्यमा जनाइएको छ । कात्सभ सन् २००० मा इजरायलको प्रथम राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो । तर सन् २००७ मा अवैध यौनसम्बन्धी क्रियाकलाप गरी अपराध गरेको आरोपपछि राष्ट्रपतिबाट राजीनामा दिनुभएको थियो । रासस÷एएफपी