अर्थ

यस कारण नेपाली वस्तु अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेनन्

यस कारण नेपाली वस्तु अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेनन्
Chhurpi_Nep नेपाली निर्यातजन्य बस्तुमा दुवानी, प्रशासनिक लगायत अतिरिक्त लागत महँगो रहेकाले प्रतिस्पर्धी हुन सकेका छैनन् । अतिरिक्त लागतका कारणरले नेपाली वस्तु निर्यात गर्दा १८ प्रतिशतसम्म हुने गरको नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको निर्यात प्रवद्र्धन केन्द्रको विश्वास छ । प्रवद्धन केन्द्रले नेपालबाट निकासी गर्न विभिन्न उद्योगहरु र संगठनसँगको नियमित अन्तक्र्रिया तथा छलफल गरेर यस्तो निष्कर्षमा पुगेको छ । निर्यातका क्रममा लाग्ने ढुवानी खर्च, पारवहन शुल्क, बन्दरगाहमा कागजी झन्झट, स्थानीय ढुवानीलगायतका कारण लागत महँगो हुने केन्द्रका अध्यक्ष तथा नेपाल गलैंचा निकासीकर्ता संघका अध्यक्ष अनुपबहादुर मल्लले भएको बताए । भारतको कोलकातासम्म सामान पु¥याउँदा नै भन्डै १३ प्रतिशत लागत बढी हुने अध्यक्ष मल्लको अनुभव छ । गलैंचा, हस्तकला, पस्मिना, तयारी पोसाक, काठका सामान, मुर्तिकला, धातुका सामान, हातेकागजलगायतका सामग्री नेपालले बढी निर्यात गर्दै आएको छ । विश्व बैंकले गरेको एक अध्ययनअनुसार निर्यात गर्दा नेपालमा लाग्ने भाडादर दक्षिण एसियाको तुलनामा सबैभन्दा उच्च देखाएको छ । यसले गर्दा प्रतिकन्टेनर लागत औसत ३ देखि ४०० डलर महँगो पर्ने ओझाले बताए । निर्यात बढाउन पारवहन सहज र यातायात सञ्जाल विस्तार गर्नुपर्ने उनको सुझाव छ । अहिले गलैंचा निर्यात अधिकतम निकासी गत वर्षको तुलनामा ८० प्रतिशत र तयारी पोसाक ९० प्रतिशत कम भएको छ । श्रमिक खर्च, दक्ष जनशक्ति अभाव, उच्च उत्पादन लागत, निर्यात बोर्डरलगायत समस्याले नेपाली वस्तु अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेका छैनन् । आन्तरिक समस्यासँगै बाह्य लागत बढी हुँदा प्रतिस्पर्धा गर्न कठिन भएको व्यवसायी बताउँछन् । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष राजन शर्माका अनुसार नेपाली निकासी र आयातकर्ताका लागि परिवहन खर्च झनै बढी छ । इन्स्योरेन्स खर्चसमेत बढेको उनको भनाइ छ । नेपाली वस्तु महँगो हुँदा निर्यात भएका देशमा सोही प्रकृतिका वस्तु अरू मुलुकबाट पनि पुग्ने क्रम बढेको व्यवसायी बताउँछन् । गलैंचा, पस्मिना, तयारी पोसाकलगायत वस्तुमा नेपालको सामूहिक गुणस्तर चिह्न नहुँदा अरू मुलुकले पनि नेपाली वस्तुको अनुशरण गर्दै निकासी गरेको पाइएको छ । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डी अर्यालले निर्यातमा प्रतिस्पर्धी दुई मुलुक भारत र बंगलादेशको तुलनामा नेपालमा उत्पादन खर्च महँगो भएको बताए । “हाम्रो प्रतिस्पर्धा भारत र बंगलादेशसँग हो, जबकि ती देशका सरकारद्वारा घोषित श्रमिक खर्च ६८ डलर छ भने हाम्रो ११० डलरभन्दा माथि पर्छ,” उनले भने, “एकातिर श्रमिक खर्च महँगो छ, अर्काेतिर लजिस्टिक खर्चले निर्यातमा असर पारेको छ ।” उनका अनुसार लजिस्टिक खर्च उच्च हुँदा नेपाली वस्तु १८ प्रतिशतसम्म महँगो भएको छ । भूपरिवेष्ठित देश भएकाले नेपालमा ढुवानी भाडा छिमेकी मुलुक भारत तथा अन्य देशको तुलनामा महँगो हुनु स्वाभाविक भएको पूर्व वाणिज्य सचिव तथा व्यापार विज्ञ पुरुषोत्तम ओझा बताउँछन् । तटीय राज्यको तुलनामा भूपरिवेष्ठित मुलुकको लजिस्टिक खर्च ४२ प्रतिशत महँगो पर्ने विश्व बैंकको अध्ययनले नै पुष्टि गरेको उनले बताए । “नेपालका सन्दर्भमा पारवहन ढुवानी शुल्क, बन्दरगाह झमेला, पारवहन ढुवानी प्रणाली र आन्तरिक ढुवानी भाडा मुख्य समस्याका रूपमा रहेका छन,” उनले भने ।