अर्थ

उपत्याकामा घर बनाउनेलाई अव थप आर्थिक भार पर्ने

उपत्याकामा घर बनाउनेलाई अव थप आर्थिक भार पर्ने
houses in Kathmandu सरकारले काठमाण्डौ उपत्यामा घर बनाउँदा अनिवार्य बिमा गराउँनु पर्ने बाध्यकारी नियम लगाउने भएको छ । उपत्याकामै न्यूनले घरधनीले घर बिमा गरेको पाइएकाले नियामक निकाय बिमा समितिले यसलाई अनिवार्य गर्न लागेको हो । हाल सवारीसाधनको तेस्रो पक्ष बिमा र वैदेशिक रोजगारमा जानेको म्यादी बिमा अनिवार्य गरिएको छ । भूकम्पलगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कम गराउन समितिले घरको बिमालाई पनि अनिवार्य बनाउन लागेको हो । यसका लागि बिमा समितिले नीतिगत तयारी गर्दै छ । पहिला उपत्याकामा घर निर्माण पूर्व महानगरपालिका वा नगरपालीकाबाट स्वीकृति लिनुपर्छ । मापदण्डअनुसार निर्माण सम्पन्न पश्चात प्रमाणपत्र प्रदान गर्छ । अव समितिले घरको बिमा गरेको प्रमाण पेस गरेपछि मात्रै निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने व्यवस्था गर्ने भएको छ । त्यस्तै, नीति जारी गर्नुअघि निर्माण भइसकेका घरको हकमा भने कर बुझाउँदा बिमा अनिवार्य गर्ने समितिको योजना छ ।
  • उपत्याकामा घर निर्माण गर्दा घर बिमा अनिवार्य
  • पुराना घरधनीले कर बुझाउँदा अनिवार्य बिमा अनिवार्य गर्नु पर्ने
  • सम्भावित दुर्घटनाबाट सुरक्षित हुन घर बिमा अनिवार्य
  • घरधनीलाई बिमाप्रति आकर्षित गर्न बिमा शुल्कमा छुटको समेत व्यवस्था गरिने
  • अहिलेसम्म ८ प्रतिशतले मात्र घर बिमा गरेको तथ्यांक
  • भुकम्प प्रश्चात १७ हजार घरधनीले मात्र बिमा दावी गरे,
गत वर्ष गएको भूकम्पले करिब ५ लाख भवन क्षतिग्रस्त भएको तथ्यांकले देखाएको छ । क्षतिग्रस्तमध्ये जम्मा २ लाख घरमात्रै बिमा योग्य रहेको सगरमाथा इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर बस्नेतले बताए । त्यसमध्ये पनि भूकम्पपछि बिमा कम्पनीहरूमा करिब १७ हजार भवनको मात्रै बिमा दाबी परेको छ । अर्थात् बिमा योग्य घरमध्ये जम्मा ८ प्रतिशतको मात्रै बिमा भएको देखियो । त्यसमा पनि अधिकांश घरहरू बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि बिमा गरेको देखिएको छ । हाल स्वतःस्फुर्तभन्दा पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि मात्रै घरहरूको बिमा गर्ने प्रचलन रहेको बिमकहरू बताउँछन् । केन्द्रीय तथ्यांक विभागका अनुसार काठमाडौं महानगरपालिका भित्र करिब २ लाख ५० हजार घर छन् । गत वर्ष वैशाखमा गएको भूकम्पले ठूलो जन धनको क्षति भयो । भूकम्पको परकम्पन आउने क्रम अझै पनि जारी छ । भूगर्भ्विद्हरूले काठमाडौं भूकम्पीय दृष्टिकोणबाट अझै जोखिमपूर्ण रहेको बताइरहेका छन् । त्यसैले भोलिका दिनमा घट्न सक्ने सम्भावित दुर्घटनाबाट सुरक्षित हुन घर बिमालाई अनिवार्य गर्नु आवश्यक रहेको बिमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए । “मानिसले स्वतस्फुर्त रूपमा बिमा गर्दैनन्” उनले भने, “त्यसैले यसलाई अनिवार्य गर्ने लागिएको हो ।” समितिले तयारी गरेको योजना उत्कृष्ट रहेको काठमाडौं महानगरपालिका प्रवक्ता बद्री खड्काले टिप्पणी गरे । घरको बिमा गर्दा घरधनीलाई केही आर्थिक भार बढ्ने भए पनि जोखिम न्यूनीकरणका लागि यो आवश्यक रहेको उनले बताए । “विपद्को अवस्थामा बिमा आवश्यक छ,” उनले भने, “त्यसैले ढिलोचाँडो मानिसहरूले यसलाई स्वीकार गर्नेछन् ।” कारोवारमा समाचार छ ।

ADVERTISEMENT