विदेश

सैनिक विमान दुर्घटना, तेह्रको मृत्यु

सैनिक विमान दुर्घटना, तेह्रको मृत्यु
पुस–३ । इन्डोनेसियामा आईतबार सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । टीमीका सहरबाट उडेको हेरकुलेस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपत्कालिन अवतरण हुन परेपछि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । ‘स्थानीय समयानुसार विहान करिब ६ बजे देखि विमान सम्पर्क बिहिन भएको प्राविधिकहरुले बताएका छन्,’ हवाई सेना प्रमुख अगुस सुप्रियत्नले भने । विमान स्थानीय समयअनुसार बिहान ६: १३ मा अवतरण गर्ने तालिका रहेको थियो । विमानमा एक जना यात्रुसहित १२ जना रहेका थिए । ती मध्ये तीन जना विमान चालक, आठ जना प्राविधिक, एक जना नाविक (विमानको पथप्रदर्शक) र सुरक्षा अधिकृत रहेका थिए । साथमा केही खाना पनि रहेको सुप्रियत्नले जानकारी दिए । विमान दुर्घटना भएको क्षेत्र मौसमको बारेमा भविश्यवाणी गर्न नसकिने क्षेत्रको रुपमा चिनिन्छ । दुर्घटना हुनु अगाडि विमान बादलमा छिरेको उनले बताए । उद्धारकर्ताहरुले विमान भग्नावशेष अवस्थामा भेटिएको बताएका छन् । हवाई सेनाको नियमानुसार १३ जनाकै शव ल्याइएको छ । दुर्घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन छानविन टोली घटनास्थलमा पठाइ सकिएको पनि उनले जानकारी दिए । इन्डोनेसियामा यसअघि बोर्नेओमा पनि गत नोभेम्बरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । त्यस्तै खराब मौसमका कारण इन्सोनेसियाको सुलावेसीमा गत मार्चमा भएको सेनाकै अर्को हेलिकोप्टर दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

इन्डोनेसिया विमान दुर्घटना