कभर स्टोरी मेरो परिवार मेरो कथा

‘छोरालाई आर्यघाटमा सेलाएर म कसरी फर्कूँ ?’

‘छोरालाई आर्यघाटमा सेलाएर म कसरी फर्कूँ ?’
https://youtu.be/TzCvguepFwY
बझाङी भाषामा हर्काको अर्थ हुन्छ ‘खुशी’ । नामलाई मात्र आधार मान्ने हो भने हर्कादेवी खुशीकी रानी हुन् । तर, नियतीले उनलाई सायदै कहिल्यै खुशी हुन दियो । आखिर नाममा के छ र ! भेनस अस्पतालको ४०४  नम्बर कोठामा हर्कादेबी कालो सोफामा बसिरहेकी थिइन् । छेवैको शैयामा ममता पल्टिरहेकी थिइन् । दुबैका लागि अपरिचित थिएँ म । ‘आमा’ एक शब्दमै म रोकिएँ । पत्रकार भन्ने थाहा पाउँदा बित्तिकै हर्कादेबीले नजिकै बोलाइन्, हातको इशाराले । अलि पर रहेको कुर्सीमा बस्नै लागेको म नजिकै गए । उनले च्याप्प हात समाइन् । हात समाउँदा नसमाउँदै उनका आँखाबाट आँशुको धारा लागिसकेको थियो । ‘तिमी मेरो छोरा हो । पत्रकार थियो मेरो छोरा । पत्रकारमा मेरो छोराको आत्मा छ । म कसरी बाँचु ?’ karna-ko-aasu-nepalaaja-01
७३ बर्षिय हर्कादेबीले छोरा कर्ण गर्भमा हुँदा श्रीमान गुमाइन् । गर्भे टुहुरो कर्णले ३८ बर्षकै उमेरमा आमालाई छोडेर गए । तीन बर्ष अघि उनले जेठो छोरा गुमाएकी थिइन् । त्यसको एक बर्षपछि बुहारी खसिन् । चार नातिनातिना टुहुरा भए । बृद्ध यी आमाले बुढी भएँ भन्न सायदै कहिल्यै पाइन् । कान्छी बुहारी ममताका दुबै मृगौला काम नलाग्ने भए । कान्छो छोरा श्रीमतीको उपचारका लागि काठमाडौँ हानिए । चार महिना काठमाडौँ रहदा कर्णले आमालाई बिरलै फोन गर्थे । बिहीबार साँझ कर्णले फोन गरे । बझाङ्गी भाषमा आमा छोराले दुःख सुख साटे । ‘आमा अब तपाई बाच्ने भनेको २/४ बर्ष हो । सुखले बाच्नुपर्छ । दुःख धेरै गर्नुभयो । अब तपाईले धेरै चिन्ता नलिनु ।’ गर्भे टुहुरो छोराले त्यसो भन्दा आमा फोनमै भक्कानिइन् ‘म त जसोतसो बाचुँला । बुहारी बचाउँ । जे गर्न पर्छ गर, कुनै कसुर बाँकी नराख ।’ कर्णले भावि योजना सुनाए, ‘उपाचारका लागि दिल्ली लैजाने हो । पैसा जम्मा भइसकेको छ । चिन्ता लिन पर्दैन, आमा । अब राम्रो हुन्छ ।’ कर्ण कुकुर पाल्न सौखिन थिए । श्रीमतीको उपचार गर्न पर्ने भएपछि उनले कुकुरलाई कञ्चनपुरबाट बझाङ पठाएका थिए । कर्णले कुकुरसँग फोनमै कुरा गरे । ‘बाबु’ कर्णले फोनमा कुरा गर्न नपाउँदै कुकुर रुन थाल्यो । कर्णले फोन राखेको धेरै बेरसम्म कुकुर रोइरह्यो । karna-bohora-nepalaaja-02
भोलिपल्ट काठमाडौँबाट फोन गयो । दिल्ली जाने भएकाले फोन आएको भन्ने ठानिन् हर्कादेवी ले । तर, कर्ण दिल्ली नगइ परमधाम भएका थिए । श्रीमतीको जीबन जोगाउन अन्तिम कसरतमा रहेका उनले आफ्नै जीबन गुमाइसकेका थिए । भक्कानिदै आमाले आफ्नो वेदना पोखिरहँदा उपस्थित सबैको आँखा रसाइसकेका थिए । शैयामा ममता सुक्सुकाइरहेकी थिइन् । ‘मेरो छोरा भनेकै अब यो बुहारी हो । यिनलाई बचाइदिनोस् । राज्यलाई भनिदिनोस् ।’ बुहारीको आँखा पुछ्दै हर्कादेबीले याचना गरिरहिन् । सायद उनलाई कसैले सरकारबाट सहयोगको प्रयास भइरहेको सुनाएको थियो । ‘सरकारको बैठक बस्छ र सहयोग गर्छ रे । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई भनिदिनु बाबु । अब मलाई पाल्ने र बुहारीलाई बचाउन सरकारले मात्र सक्छ ।’ यति भन्दा नभन्दै उनको डाँको छुट्यो । ‘आमा, तपाईको चिन्ता धेरैलाई छ । सबैले ख्याल गरिहनु भएको छ ।’ ठूलो आशा जागेझैँ उनी प्रस्तुत भइन् । ‘छोरो मरेर गयो, यो बुहारी बचाउन पाए धेरै ठूलो रहर पूरा हुन्थ्यो । यिनलाई छाडेर, छोरालाई आर्यघाटमा सेलाएर म बझाङ कसरी फर्कूँ ?’ पीडाको पहाड निल्न विवश हर्कादेवीको प्रश्न अहिलेसम्म अनुत्तरित छ । ममताको डायलशिशपछि रक्तश्राप भएको छ । श्रीमतीका दुबै मृगौला बिग्रेको थाहा पाएपछि कर्ण रोइरहन्थे श्रीमतीको छेऊमा बसेर तर केही भन्दैनथे । उनी ‘दिल्ली पुगेर मृगौला प्रत्यारोपण गर्ने’ योजना सुनाउँथे । उनी मृगौला प्रत्यारोपणपछि ‘यसो गरौँला, उसो गरौँला’ भनेर अनेक योजना सुनाउँथे । ‘म मर्छु भन्ने थियो, उहाँ बित्नुभयो । नसोचेको भयो ।’ पल्टिरहेकी उनी बोल्दै गर्दा आँशु घाँटी तिर बग्न थाल्यो । भोलिपल्ट दिल्ली जाने योजना सुनाएका कर्ण सुटुक्कै अन्तै पुगिसकेका थिए । आइसियूमा राखेर उपचार गरिएको भनेर ममतालाई केही घण्टा ढाटियो तर सत्य सधैँ झिपाउन सम्भव थिएन । आफैँ मृत्युसँग लड्दै गरेकी ममता श्रीमानको अप्रत्याशित मृत्यु सहन विवश छिन् । हे दैब ! ‘हिजोसम्म उहाँ हुनुहुन्छ भन्ने थियो । अब त उहाँ हुनुहुन्न । म त मरिजाउँला तर म मरेसँगै उहाँका अनेक योजनापनि मर्नेछन् ।’ श्रीमानलाई अमर बनाउने धोको पालेकी ममता भन्दै थिइन्, ‘म बाच्न चाहन्छु, उहाँले आँटेका थुप्रै काम र योजना लथालिङ्ग छन् ।’ प्रस्तुतिः नारायण पौडेल

र योपनी,


► यस कारण कर्णका नाममा आँशु चुहाउन म आर्यघाट गइनँ

karna ko aansu