मेरो परिवार मेरो कथा

बेपत्ता परिवारको करुण पुकारः प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, हाम्रा बा कहाँ ?

बेपत्ता परिवारको करुण पुकारः प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, हाम्रा बा कहाँ ?

 

लमजुङका तेजबहादुर भण्डारी शिक्षक थिए । उन स्थानीय सूर्यज्योति माध्यामिक विद्यालयमा नेपाली विषय पढाउँथे । शिक्षक पेशासँगै गाउँमै किसानी गरेर आफ्नो परिवार पाल्दै आएका थिए । उनको चासो राजनीति तिर पनि थियो ।

उनी नेकपा मालेका समर्थक थिए । २०५८ सालतिर ‘जनयुद्ध’ नामक हिंसात्मक आन्दोलन माओवादीले चलाइरहेको थियो । दिनहुँ जसो माओवादी र सेनाप्रहरी मारिएको खबर रेडियोमा बज्ने गथ्र्यो । भण्डारी कम्युनिस्ट विचारधाराबाट प्रभावित थिए । राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने उनले पनि पढेका थिए । सामन्तहरुको कब्जाबाट छुटाएर यो राष्ट्रको बागडोर सर्वहारा वर्गको अधिनमा जान्छ जस्तो लाग्न थालिसकेको थियो । यसको एक कारण थियो, तत्कालीन राजासहितको संसदीय व्यवस्थाको अधिनमा रहेका सेना प्रहरीलाई माओवादीले ताकिताकि हमला गर्नु ।

अहिंसा र नैतिकताको पाठ पढाउने भण्डारीलाई गरिबको मुक्तिका लागि माओवादीको हिंसात्मक आन्दोलन मन पर्न थाल्यो । उनले हतियार नै त बोकेनन् । तर माओवादीका कट्टर समर्थक भने बने ।

कसैले तेजबहादुर मास्टरले माओवादीलाई समर्थन गर्दैछन् भन्ने सूचना प्रहरीको कानमा पारिदिए । ‘आका’ अर्थात आतंककारीको समर्थन गर्नेलाई बाँच्न सजिलो थिएन । माओवादीको समर्थक भन्नासाथ प्रहरीले उनको खोजी शुरु गर्यो । उनलाई सिडियो कार्यालयमा डाकियो । सिडियो कार्यालय गएका उनी त्यहाँबाट बेपत्ता भए । त्यतिबेला उनको छोरा रामबहादुर भण्डारी २४ वर्ष टेक्दै थिए ।

उनलाई बुबालाई सिडिओ अफिस बोलाएको मात्रै थाहा थियो । सिडियो कार्यालय गएका उनी बेलुकासम्म पनि फिरेनन् । ‘बाबु नफिरेपछि घरमा हार गुहार हुन थाल्यौँ, आमा रुन कराउन थाल्नु भयो । दुई छोरा सिडियोतर्फ हानियौँ’ रामले बाबु बेपत्ता हुँदाको क्षण सम्झिए । उनले त्यो क्षणलाई स्मृतिमा ल्याउँदा मात्रै पनि उनका आँखा आँशुले टिलपिल भएका थिए । छोरा मान्छेले रुनु हुन्न भनेर होला डाँको छोडेर रुन सकेनन् ।

बाबु हराएपछि छोराहरुले खोजी गर्न थाले । चौकीमा पुग्दा प्रहरीले जवाफ दिए, ‘तिमीहरुको बाबुलाई यहाँँ राखिएकै छैन, हामीले बन्दी बनाएको छैन्, कुनै भिडन्तमा मारिएको होला ।’

द्वन्द्वले चर्को रुप लिएको समयमा उनीहरु पुलिससँग भिड्ने सकेनन् । चुपचाप घर फर्किए ।

त्यसो त त्यति बेला धेरै मानिसहरु बेपत्ता भएका थिए । माओवादीले बेपत्ता पार्यो कि पुलिसले भन्ने कुरामा नै परिवारमा अन्यौल थियो । परिवारको सदस्य बेपत्ता भइसकेपछि अन्य सदस्यमा आशाबाहेक केही हुदैनथ्यो । रामका परिवारले पनि बाबु अब घर आउँछन् भन्ने झिनो आशाको साथ मन अड्याईरहे । तै पनि बाबु फिरेनन् । खोजी हर तरहले भइरह्यो ।

२०६२–६३ सालमा जनआन्दोलनले जबर्जस्त रुप लियो । लाखौ जनता सडकमा ओर्लिए । राजा ज्ञानेन्द्रको राजशाही समाप्त भयो । लोकतन्त्रको शुरुवात भयो । गणतन्त्रको आधार बन्यो । दश वर्षदेखि हिंसात्मक आन्दोलन गरिरहेका माओवादीहरुलाई पनि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न वातावरण बन्यो ।

जङ्गल (भारत) बसेर नेपालमा बम पड्काउने आन्दोलन सञ्चालन गरेका माओवादीका कमाण्डरहरु मध्येका दुई जना त प्रधानमन्त्री नै भए । बाबुराम भट्टराई र पुष्पकमल दाहाल नेपालका प्रधानमन्त्री बनिसकेका छन् । अहिल दाहाल दोस्रोपटक प्रधानमन्त्री छन् । प्रचण्डले सञ्चालन गरेको जनयुद्धमा लाग्दा कांग्रेस सरकारले भण्डारीलाई गायब पारिदिएको थियो । अहिले तिनै कांग्रेसको कृपामा पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् ।

तर उनको निर्देशनमा युद्धमा होमिनका परिवारले आज लाससमेत भेटेका छैनन् । अहिले दाहाल प्रधानमन्त्री छन्, यसबारे उनी केही बोल्दैनन् । कुर्सी खुस्केपछि बेपत्ताको कुरा झिक्न सक्छन् ।

बेपत्ता पारिएका मानिसको खोजिनीति भएन । मारिएकाहरुको उचित दाहसंस्कार हुन सकेन । राज्यले यतिसम्म अन्याय गर्यो कि मरेर जाने गइसके तर बाँचेकालाई जिन्दगीभर बिर्सन नसक्ने पिडाको घाउ नै घाउ थुपारिदियो । तेजबहादुर भण्डारीका छोरा रामले यस्ता पीडा र वेदनाका के धेरै कथा सुनाए ।

आफ्ना बुबा फर्किने उनीसँग झिनो आश मात्रै थियो । तर, रामकी आमाले हार मानिन् । उनकी आमाले बुबाको नामको सिन्दुर लगाउन छाडिनन् । ‘सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका पति त्यसरी रातारात बेपत्ता हुँदा कुन श्रीमतीको मन छिया छिया नपर्ला ? आँखा अगाडि मरेरै गएको भए बरु काजकिरिया गर्न सकिन्थ्यो, बेपत्ता नै भए पछि कुनै निर्णय लिइहाल्न गाह्रो हुने रहेछ ।’ रामको रोदन मिसिएको आवाज आयो ।

बेपत्ता पारिएका मानिसको लागि छुटै कानुन बनिसकेको छैन । ‘बेपत्ता पार्नु पनि आफैँमा एउटा हिँसा हो ।’ उनी यस्तै ठान्छन् । युद्धमा प्रत्यक्ष नजोडिएका मानिसलाई कहाँ पुर्याइयो ? मारेकै हो भने पनि गैरकानुनी हत्या गर्नेलाई किन कारबाही हुँदैन ? किन सजाय हुँदैन ? बेपत्ता हुनेप्रति न राज्यले नै चासो दिन्छ न सम्बन्धित निकाय नै तदरुकताका साथ लागि पर्दछन् । राज्यले त्यसको लागि कुनै प्रकारको सहयोग कार्यक्रम पनि नल्याएको रामको ठम्याइ छ ।

यता द्वन्द्वकालीन घटनालाई लिएर अन्तर्राष्ट्रिय गैरसरकारी तथा गैरसरकारी संस्थालगायतले कमाउने बाटो बनाए । यसरी परिवारका मुख्य सदस्य बेपत्ता भइसके पछि धेरै यस्ता संस्था आएर उनलाई फारम भराए, आशा देखाए । तर, परिणाम प्राप्त भएन् । अहिले उनी यस्ता क्रियाकलापबाट थाकिसकेका छन् ।

उनी भन्छन्, ‘यस्ता संस्थाले हाम्रो र हामीसँग घटेका घटनाका नाममा खेतिपाती गर्न खोज्छन् । तपाईँलाई कस्तो लाग्छ भनेर सोध्छन्, त्यसकारण म नआऊ सोध्न भनिदिन्छु । हामी जस्ता परिवारको कल्याण हुने काम भएमात्र मुख खोल्नु उचित हुन्छ । एउटा बाख्रा हराउँदा परिवारले खाज्छ तर मान्छे हराउँदा पनि राज्यले खोजेन ।’ उनी उदास देखिए । उनको सरकारसँग एउटै माग छ – ‘कि लास देऊ कि त सास देऊ ।’

माओवादीको त्यो जनयुद्ध ठीक थियो भन्नेहरुका लागि तेजबहादुर भण्डारीका परिवार प्रश्न वाचक हुन् । जनयुद्धलाई बेठीक भन्नेहरुलाई तह लगाउन त माओवादीका नेता कार्यकर्ता तम्तयार भएर बसेकै छन् । योसँगकैको अर्को यक्ष प्रश्न हो, युद्धमा नजोडिएकहरुलाई कहाँ पुुर्याइयो ? खोजविन हुन्छ ?

प्रस्तुतिः कञ्चन न्यौपाने