समाज

विपद् व्यवस्थापनका लागि सचेत बन्दै विद्यालय

विपद् व्यवस्थापनका लागि सचेत बन्दै विद्यालय
मंसिर–११ । भूकम्प तथा अन्य विपद्का समयमा कसरी बच्न र बचाँउन सकिन्छ भन्ने विषयमा पर्वतका शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुन थालेका छन् । जिल्लाका दश विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकले संयुक्त रुपमा यस्तो विपद्का समयमा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा योजना बनाएका हुन् । ती विद्यालयले भूकम्प प्रतिरोधी भवन समेत बनाउने अभियान सुरु गरेका छन् । ती विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकल आफ्नो विद्यालयमा मात्रै होइनन्, छिमेकी विद्यालय र समुदायमा समेत यसबारे सचेतीकरण अभियान थालेका छन् । यसका लागि उनीहरुले भूकम्प प्रतिरोधी संरचना, भूकम्पपछि खोज तथा उद्दार, प्राथमिक उपचार, प्रकोप मापन, आपतकालीन अवस्थामा कसरी भाग्ने जस्ता विषयमा विभिन्न तालिम र प्रशिक्षण समेत लिएका छन् । आपतकालीन अवस्थाका लागि उनीहरुले भूकम्प प्रतिरोधी सामग्रीको समेत जोहो गरेका छन् । ‘विपद् न्यूनीकरणका लागि शिक्षक तथा अभिभावक सचेत भएका छन्,’ नवजागृत माविका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले भने ‘विद्यालयमा जोखिम न्यूनीकरण सम्बन्धी योजना बनाएर अगाडि बढेका छाैँ । ‘हामीले विद्यालयमा मात्रै होइन समुदायसम्म पनि सुरक्षाको खोजी गर्न थालेका छौँ ’ उनले भने– “विद्यालयले जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन समिति समेत बनाएका छन् । पर्वतको पशुपति मावि राम्जा, नवजागृत मावि तिलहार, तुलोदय मावि तिलहार, त्रिभुवन मावि शङ्करपोखरी, राम मावि, र जनसहयोगी मावि शङ्करपोखरी, नेपाल तारा मावि रानीपानी, जनता प्रावि रानीपानी र आम्बारी मावि बर्राचौरलगायतका १० विद्यालयमा एक वर्षको अवधिमा विद्यालयका संरचना विपद्बाट बच्नका लागि अनुकूल हुने गरी बनाइएका छन् । यी विद्यालयको सिकाइलाई स्रोत केन्द्र र जिल्लाका सबै विद्यालयमा लैजान आवश्यक भएको नेपाल तारामावि स्रोत केन्द्रका स्रोत व्यक्ति बमबहादुर क्षेत्रीले बताए । स्रोत केन्द्रभित्रका विद्यालयमा सुधार योजनामा विपद् न्यूनीकरणको योजना समावेश गर्ने तथा अन्य विद्यालयका शिक्षक तथा विद्यार्थीका बीचमा समेत विपद् न्यूनीकरण सचेतना अभियान लैजाने योजना रहेको उनले भने । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले पर्वतमा यस वर्ष निर्माण भएका ९० वटा विद्यालयका संरचना पूर्णरुपमा भूकम्प प्रतिरोधी रहेको बताए । रासस

Parbat School