मेरो परिवार मेरो कथा

केरा खेतीमा लागेका केन्द्रीय कमरेडको कारुणिक कथा

केरा खेतीमा लागेका केन्द्रीय कमरेडको कारुणिक कथा

 


दुई बर्ष यता उनको दैनिकी फेरिएको छ । अघिपछि श्रमिकको नाममा राजनीति गरेपनि कामै भने उतिसारो गर्नु परेको थिएन । अहिले उनलाई भ्याइनभ्याइ छ, कामबाट सित्तिमित्ति छुटकारा पाउँदैनन् । जानेबुझेकाले भेट्दा राजनीतिक कुरा भन्दा पहिले केराकै प्रसंग निकाल्छन् । श्रमजिविको राजनीति गरेका उनले श्रमको वास्तविक मूल्य र व्यथा ५० टेक्न लाग्दा बुझेका छन् ।

२०२५ जेठ २६ मा बाग्लुङको अर्जेवामा जन्मिएका तिलक शर्मा हिमाल १५ बर्षको पुग्दानपुग्दै बर्दिया बसाइ सराइ गरे । किशोरवयको मध्यमा रहेका हिमाललाई बर्दियाको हावापानीले राजनीतिमा आर्कषित ग¥यो । राजापुर क्षेत्रमा जनमोर्चाको संगठन जवरजस्त थियो । त्यही मेसोमा उनी कमरेड बने । त्यसयता उनी निरन्तर राजनीतिमा छन् । बर्दियाको विद्यार्थी संगठनबाट राजनीति थालेका उनले भानु आचार्य (सहिद)बाट पार्टी सदस्य लिएका हुन् । राजनीतिको प्रारम्भ बर्दियाबाट गरेपनि उनको खाश योगदान कर्णालीमा रह्यो । बिद्यार्थीको केन्द्रीय प्रतिनिधिका रुपमा उनी २०४७ सालतिर कर्णाली प्रवेश गरे । मुगु, डोल्पा र हुम्लामा उनैले विद्यार्थी संगठनको स्थापना गरेका हुन् । उनले विद्यार्थीमा संगठित गरेकी सत्य पहाडी शान्ति मन्त्रीसमेत भइसकेकी छिन् । २०५० उनी पार्टीको जिम्मेवारीसहित हुम्ला केन्द्रीत भए ।

०५१ सालमा उनी हुम्ला र डोल्पाबाहेकका कर्णाली अंचल अन्र्तगतका तीन जिल्लाको इन्चार्ज तोकिए । कालिकोट, मुगु र जुम्लाको इन्चार्जको रुपमा उनले थुप्रैलाई पार्टीमा संगठित गरे । पटक पटक मन्त्री भइसकेका र हाल विप्लव माओवादीमा रहेका खड्गबहादुर विश्वकर्मा २०५२ सालसम्म मालकोटस्थित प्राविमा शिक्षक थिए । हिमालले विश्वकर्माजस्तै संभावना बोकेकाहरुलाई घच्घचाइरहे । जनयुद्ध शुरु हुनुभन्दा तीन हप्ता अघि विश्वकर्माले शिक्षकबाट राजिनामा दिइ पूर्णकालिन भए । राजनीतिक लाभ कहिल्यै नलिएका हिमालले हुर्काएका कैयौँ व्यक्ति सांसद र मन्त्री भइसकेका छन् । हिमाललाई कस्तो लाग्दो हो ? ‘गर्व लाग्छ ।

आफु हुनुपर्छ भन्ने छैन, समाज बदल्न सकियो कि सकिएन भन्ने विषय प्रधान हो ।’ हिमालसँग रेडिमेड जवाफ छँदैछ । हिमाल त्यस्तो बेला कर्णाली हानिएका जतिबेला उनको वैवाहिक जीबन शुरु मात्रै भएको थियो । विवाह गरेको दुई बर्षमै कर्णाली हानिएका उनी यदाकदामात्र घर फर्कन्थे । २०५५ सालमा उनी कर्णालीबाट पक्राउ परे । त्यसपछि झण्डै सातबर्ष उनले हिरासत र कारावासमा बिताए । परिवारलाई खाशै समय दिन पाएनन् । उनले घर छाड्दा २ छोरा भुरै थिए । फर्कदा उनीहरुको जुँगाको रेखी बसिसकेको थियो ।


tika-sharma-himal-nepalaaja-02‘पारिवारिक अवस्था कस्तो रह्यो ?’

‘विवाहको कुरा चल्दा नै मैले उनलाई आत्मनिर्भर बन्न पर्छ, सन्तानको रेखदेखको जिम्मा तपाईको हुनेछ भनेको थिएँ । उनी सहमत भएकी थिइन् । हुनपनि त्यस्तै भयो ।’ हास्दै हिमाल परिवारको पीडा टार्छन् । उनी पक्राउ पर्दा माओवादीले पश्चिम नेपालमा संगठन विस्तार गरिरहेको थियो । संगठकको रुपमा उनी कहिले कर्णाली त कहिले कैलाली र बर्दिया धाइरहेका हुन्थे ।

माओवादीको राप र ताप देशव्यापी बन्दै थियो, उनी पक्राउ परिहाले । २०६१ सालसम्म आइपुग्दा माओवादी कारागार कब्जा गर्ने गरी शक्तिशाली भइसकेको थियो । २०६१ माघ २७ गते जनमुक्ति सेनाले धनगडी जेल कब्जा गरेपछि उनी मुक्त भए । माओवादीको सांगठनिक जीबनमा व्यापक फेरबदल आइसकेको थियो । उनी जेल पर्दाको हैसियतमै फर्किए : पश्चिम व्यूरो सदस्य । त्यन्तिजेलमा उनीभन्दा कनिष्ठ केहीको बढुवा र वर्चश्व स्थापित भइसकेको थियो । उनी थुनामुक्त भएको एक बर्ष मै जनआन्दोलन भयो । शान्ति प्रक्रिया शुरु भयो । ०६३ सालमा उनी बर्दियाको माओवादी इन्चार्ज बने ।

पहिलो संविधानसभामा उनले चाहेको भए उम्मेदवार बन्न सक्थे । उनले पार्टीलाई जिताउने गरी जिल्लाको कमाण्ड सम्हाले । बर्दियाका चारै सिटमा माओवादीले आकाश जमिनको अन्तरले जीत हाशिलगर्यो । दोस्रो संविधानसभामा उनी बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार भए । तर, पराजय हात लाग्यो । लामो समय जिल्लाबाहिर काम गरेका उनको चुनावी क्षेत्रमा आफ्नै घर थिएन । उनलाई पाहुना उम्मेदवारको बात लाग्यो । चुनावमा लागेको ऋण छँदै थियो ।

उनले जनतासँग प्रत्यक्ष जोडिने माध्यमका बारेमा सोच्न थाले । आम्दानी पनि हुने, जनताको कथाव्यथापनि बुझ्न पाइने, स्थानीय पनि भइने भएपछि उनले केरा खेतीको योजना बनाए ।


केरा खेतीको कष्ट ! बर्दियामा राजनीति गरेपनि उनको परिवार बाँकेको कोहलपुरमा बस्थ्यो । श्रीमती सरलाले गरेको व्योइलर र च्याउ व्यवसायले परिवार धानिएको थियो । परिवारसँगै बस्ने र बर्दियामै केराखेती गर्ने उनको योजनालाई सरलाले साथ दिइन् । डेड बर्षअघि उनले गुलरियास्थित खैरीमा २ विघाहा खेत भाडामा लिए । खनजोत गरी केरा खेती शुरु गरे । माओवादीका इन्चार्जले केरा खेती गरेपछि जिल्लाभर एक कान दुई कान मैदान भयो । जिल्लामा हुने सर्बदलीय बैठकमा समेत उनको केराखेतीका बारेमा सोधिखोजी हुन शुरु ग¥यो । संचारमाध्यममा समाचारपनि छाँउन थाल्यो । बर्ष दिन नबित्दै उनको परिचय केरा किसानका रुपमा स्थापित भयो । एक बर्षमा केरा पसायो । ‘

ऋणपनि तिर्ने, थप लगानीपनि गर्ने’ बुढाबुढीका बीचमा सरसल्लाह हुन थाल्यो । भेट्न आउनेलाई उनले केराबारी डुलाउन थाले । सबैले ‘गज्जब गर्नुभएछ, यसैगरी सबैले गरे’ भन्दै उनको प्रसंशा गर्न थाले । केरा खेतीबाट उनले जति चर्चा बटुलेका छन्, उत्ति नै हण्डरपनि खाएका छन् । ‘मलाई त इन्सुरेन्स गर्न गाह्रो भयो । मन्त्रीबाटै भन्न लगाउनुपर्यो ।’ उनले किसानको पीडा व्यवहारिकरुपमै बुझ्न पाए । कृषकका लागि सरकारले बिमा योजना ल्याएको छ । कूल लगानीको पाँच प्रतिसत रकम तिरेर बिमा गर्न पाइन्छ । अर्थात १ लाख लगानी गरेको छ भने पाँच हजार तिरेमा विमा हुन्छ । बिमा वापतको रकमको ७५ प्रतिसत सरकारले तिरिदिन्छ । यस हिसावले हेर्दा एक लाख लगानी भएको खेतीका लागि कृषकले बिमाका लागि एक हजारपनि तिर्न पर्दैन ।

‘नीति राम्रो छ । तर बिमा गर्नै मान्दैनन इन्सुरेन्सहरु । एभरेष्ट इन्सुरेन्स कम्पनीले शुरुमा मेरो केरा खेतीको बिमा गर्नै मानेन । मन्त्रीले भनेपछि मात्रै सम्भव भयो ।’ उनी राज्य चरित्र उदाङ्गो हुने गरी उदाहरण दिन्छन्, ‘नेताले त मन्त्री गुहार्न पर्नेछ, जनताका लागि के होला ?’ इन्सुरेन्समै पीडा सकिदैन । मल, बिऊ, मजुरी, सिंचाई सबैमा कृषक मारमा पर्दछन् । सबैभन्दा बढी मार केरा पसाएपछि शुरु हुन्छ । केरा पाक्छ तर बजार पाईंदैन । ‘भारतमा कृषकलाई अनुदान दिइन्छ । मल, बिउ, मजुरी सबै सस्तो छ । अझ भन्सार छलेर ट्रकका ट्रक केरा भित्रन्छ । नेपालको केराले भारतीय बजारसँग प्रतिष्पर्धा नै गर्न सक्दो रहेनछ ।’ उनले अनुभव सुनाए, ‘जेनेरेटरबाट सिंचाई गरेर उत्पादन गर्नुपर्छ । मल, बिऊ, कामदार सबै महङ्गो छ ।

अन्तिममा इण्डियाबाट २० रुपैयाँ किलोमा केरा नेपाली बजारमा आइपुग्छ । नेपालको किसान त हेरेको हेर्यै हुँदोरहेछ ।’ केरा पाकेपछिको पीडा सुनाउँदा हिमाल भावुक भए । उनको अनुभवमा नेपालमा केरा खेतीको सम्भावना धेरै छ । कुखुराजस्तै केरामा आत्मनिर्भर बनाउन धेरै मेहनत गर्नैपर्दैन । सरकारले कृषकमैत्री नीति बनाउने र कार्यान्वयन गर्न सक्ने हो भने केरामा किसान र देश दुबै मालामाल हुने सम्भावना उनले देखेका छन् । तर, यस्तै स्थिति रह्यो भने केरा खेतीबाट धेरै किसान पलायन हुने सम्भावनापनि उनले देखेका छन् ।


‘तपाईले केरा खेती छाड्ने हो ?’

प्रश्न भुँइमा झर्न नपाउँदै उनले जवाफ फर्काए, ‘होइन । ६ लाख लगानी गरेको हो, यसपाली २ लाखपनि नआउने भयो । मेहनत र लगानी डुब्ने देखिन्छ । तर अर्को बर्ष उठ्ला ।’ उनीसहित बर्दिया, कैलाली र कञ्चनपुरमा केरा खेती गरेका कृषकले राज्यलाई दबाब दिने अभियान थालेका छन् । भारतबाट भन्सार छलेर आउने केरामात्रै रोक्न सकेपनि आफुहरुको लगानी जोगिने हिमाल बताउँछन् । बाँके भन्सार र प्रशासनसँग वार्ता गर्नका लागि तीनै जिल्लाका कृषक नेपालगंजमा जम्मा हुँदै थिए ।

त्यहीबेला कृषकका लागि अर्को दुखद खबर आइलाग्यो । कैलाली टिकापुरबाट नेपालगंज आउँदै गरेका सो क्षेत्रका चर्चित केरा कृषक बिनोद शाह र दिपेन्द्र चौधरी मोटरसाइकल दुर्घटनामा परे । सक्त घाइते भएका उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ । काठमाडौँ आएका हिमालले कष्ट कहे, ‘भारतले केरा पेलेको पेल्यै छ । नेपाली कृषक पेलिएका पेलिएै छन् । साथीहरुपनि घाइते भए ।’

हिजो हिमालले नै राजनीति सिकाएका कैलालीका गौरीशंकर चौधरी कृषि मन्त्री छन् । सोही क्षेत्रका कृषक मारमा छन् । ‘गुनासो सुन्दैनन् ?’ प्रश्नको उत्तर हाँसेर दिँदै हिमाल भन्छन्, ‘केराको विषय हेर्दा सानो छ । उस्तै परे दक्षिणी छिमेकीसँग टक्कर लिनुपर्ने हुन्छ । सिंहदरबारका लागि सो विषय सामन्य छैन ।’

banana farming Kera Kheti