मेरो परिवार मेरो कथा

सभामुख घर्तीकी युद्धकालिन स्टाफको पीडादायी बयान ‘ दिदीको लासलाई रुखमा झुण्ड्याइएको थियो, गुप्तांगबाट रगत बगीरहेको थियो’

सभामुख घर्तीकी युद्धकालिन स्टाफको पीडादायी बयान ‘ दिदीको लासलाई रुखमा झुण्ड्याइएको थियो, गुप्तांगबाट रगत बगीरहेको थियो’

 


दिदीको मृत्यु मेरो कारणले भयोे । ओनसरी घर्ती मगरको स्टाफ थिएँ । रुखमा झुण्ड्याइएको दिदीको गुप्तांगबाट रगत आइरहेको थियो, र शरीरमा गोलीको दाग थियो । १३ वर्षकै कलिलो उमेरमा लिएको निर्णयले गीता रसायलीको जीवन उतारचढावपूर्ण बन्यो । तत्कालिन भूमिगत विद्रोही पार्टी नेकपा माओवादीको जनसेना बन्ने निर्णय गरेसँगै गीताका जीबनका बाटा र पाटा नै परिवर्तन भए । ‘आर्मीका जस्ता लुगा लगाएर काँधमा बन्दुक भिरेर ठमठम हिँडेका माओवादी छापामार देख्दा मनै तरंगीत बनाउँथ्यो’, उनले विगत सम्झिदै भनिन्,

‘गोल्ड स्टार जुत्ता लगाएर हिँड्ने लडाकू, निडर भएर दिइने भाषणले अझ आर्कषित गर्यो ।’ गाउँमा हुर्किएका ठिटाठिटीका लागि शरीर सुहाउँदो कपडा लगाउने अवसरपनि सित्तिमित्ति जुट्दैनथ्यो । जुत्ता लगाउन पाउनुपनि ठूलै कुरा हुन्थ्यो । काभ्रेको गाउँमा हुर्किएकी गीताको जीवन मेलापात, गोठालो, घरधन्दामै वितिरहेको थियो । दिउँसोको समय भने नजिकैको विद्यालयमा वित्ने गर्दथ्यो ।

उनी सानैदेखि हठी स्वभावकी थिइन् । घरमा उनका दुई दिदी र तीन दाजुभाइ थिए । घरमा छोराछोरीका बीचमा विभेद हुन्थ्यो । दाजुबहिनीका बीचमा ठाकठुक परे निर्दोष भएपनि दोष छोरीकै देखिन्थ्यो । खाने, लाउने, बोल्ने र घुमफिर गर्ने सन्दर्भमा पनि कहीं न कहीं विभेद देखिन्थ्यो । गीता घरभित्रको विभेदको प्रतिकार गर्थिन । तर्क गर्थिन । डर र साहसको भावना उनमा पहिल्यैदेखि थियो ।

समानताको भोग उनमा सानैदेखि जागेको थियो । गाउँको संकुचित वातावरणमा हुर्केकी उनलाई माओवादीको क्रान्तिकारी नाराले खुबै छुन थाल्यो । त्यसमाथि महिला छापामारले राइफल बोकेर ठमठम हिडेको देख्दा उनको मन तरंगित हुने गथ्र्यो । माओवादीको जगजगी थियो । पार्टीप्रति जनताको आकर्षण वढाउन माओवादीहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्दथे । उनी पनि त्यस्ता कार्यक्रममा सहभागी हुन थालिन् । बर्ग विहीन समाजको कल्पना गरिएका र सामन्तलाई नेटो कटाइएका माओवादी नाटकहरुले गीताको मनलाई उद्धेलित पार्दथे । तारे टोपी लगाएका कमरेडहरुले नाटकमा गर्ने एक्सनले उनको ढुकढुकी बढाउँथ्यो । माओवादीले गाउँले परिवेश र त्यहाँका समस्या जातिय, लैगिक, वर्गीय विभेदलगायतका विषयलाई टपक्कै टिपेर देखाइदिन्थे । बालापनमै रमाउँदै गरेकी गीतालाई यस्ता घटनाले जुरुक्कै बनाउँथ्यो ।

धनी र गरिब, शहर र गाऊ, सामन्त र दास, पुरुष र महिला, उपल्लो जात र तल्लो जातबीचको विभेद नाटकका प्रमुख विषय रहन्थे । नाकट हेर्दै गर्दा गीता आफुलाई कमरेडको रुपमा पाउँथिन् । मनमनै सोच्थिन्, ‘माओवादी छापमार हुन पाए !’ ७ कक्षामा पढ्दै गर्दा संयोगले माओवादीको सांस्कृतिक कार्यक्रम हेरेकी गीता यति प्रभावित भइसकेकी थिइन की कहीं माओवादी कार्यक्रम छ भन्ने थाहा पाए लुकिछिपी पुगी हाल्थिन् । विद्यालय जान भनेर हिंडेकी उनी माओवादी सांस्कृति कार्यक्रम हेर्न पुग्थिन् । सांस्कृतिक कार्यक्रम हेर्दाहेर्दै उनी मानसिकरुपमा माओवादी भइसकेकी थिइन् । दाजुका कारण पनि उनलाई माओवादीसँगको सम्र्पक सजिलो भयो ।

दाजु माओवादीमा प्रवेश गरेको गीतालाई मात्र थियो । घरका बाँकी सदस्य बेखबर थिए । त्यतिबेला सबै जिल परे जब दाजु एकाएक भुमीगत भइदिए । दाजु भुमीगत भएपछि गीताको घरमा सन्नाटा छायो । मरेबाँचेको ठेगान नहुने युद्धमा लागेका दाजुप्रतिको चिन्ताका कारण निराशा छायो । एकाध महिनामा दाजु आउने जाने गर्न थाले । विस्तारै युद्धमा अभ्यस्त हुँदै गरेको गीताको परिवारमा बज्रपात आइलाग्यो । दाजु माओवादी युद्धमा सहिद भए । दाजुको निधनपछि माओवादीप्रति गीताको माया झनै बढ्यो । ‘मेरो दाइको रगतले लेखेको पार्टी हो भन्ने लाग्यो । दाइको जस्तै माया पार्टीको लाग्न थाल्यो । त्यसपछि त म माओवादीका कार्यक्रम झन् बढी जान थालेँ ।’

गीताले पीडा र जोश मिश्रित स्वरमा भनिन्, ‘आक्रोश र बदलाको भावले मलाई माओवादीमा हिंड्न बाध्य बनायो ।’ १३ बर्ष काट्दा नकाट्दै गीता माओवादी भइन् । माओवादी छापामार भएर टमक्क मिलेको कम्ब्याट ड्रेस र टक टक बज्ने स्पोर्टस् सुज (जुत्ता) लगाउने उनको धोको पूरा हुँदै थियो । गाऊका शोसक सामन्तका सामु निर्धक्क हिड्दाको सान बेग्लै हुनेवाला थियो । उनी सपनाको क्रान्तिकारी संसारमा रमाउन थालिन् ।

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी


माओवादीका बारेमा उनले अनेक कल्पना गरेकी थिइन् । रहरै रहरले माओवादी बनेकी गीताले माओवादीभित्रको कठोर जीबनशैली बुझेकी थिइनन् । कमरेडहरुको घेरामा कठोर नियम पालना गर्दा उनलाई उकुसमुकुस हुन थाल्यो । अरुले बन्दुक बोकेको देख्दा उनलाई आफुले पनि बोकुँ बोकुँ भन्न लाग्थ्यो । साच्चै नै बन्दुक बोक्ने दिन आएपछि उनलाई असाध्यै गाह्रो हुन थाल्यो । काँध पाट्टिन्थ्यो तर बन्दुक छोड्न पाइदैनथ्यो । केही सिप नलागेपछि उनले मनमनै भाग्ने सोच बनाइन् ।

माओवादी बनेपछि समाजले बनाएको दृष्टिकोण


एक हप्तामै उनी सुटुक्क गाऊँ फर्किन् । घरमा रुवाबासी नै चल्यो । छोरा गुमाएको परिवार छोरीलाई पनि युद्धले निल्छ भन्ने भयमा पिल्सिएको थियो । उनलाई बुबाआमाले माओवादीसँगको संगत त्यागिदिन खुब सम्झाए । उनले पनि मुन्टो हल्लाइन् । फेरी बिद्यालय जान थालिन् । विद्यालयमा उनीप्रतिको व्यवहार पूरै परिवर्तन भइसकेको थियो । ‘माओवादी आई’ भन्दै साथीहरु कानेखुशी गर्थे । कतिपय देखिने गरी तर्कन्थे । सरहरु ‘के छ कमरेड ?’ भन्दै बिल्ला हान्थे । नमस्कार गर्दा ‘लालसलाम कमरेड’ भन्दै हात मिलाउन आउँथे । सरहरुले नै छेडखानी हानेपछि साथीभाइले किन बाँकी राख्थे र ? उनलाई असह्य हुन थाल्यो । माओवादीमा हुँदा भोग्नु परेको शारीरिक कष्टभन्दा बिद्यालय र समाजमा बेहोर्न परेको मानसिक र मनोवैज्ञानिक ठक्कर कैयौँ गुणा भारी थियो । उनले फेरि माओवादीमै फर्कने निधो गरिन् । माओवादीमा पूर्ण रुपले लाग्दै गइन् । माओवादी जीबनसँग उनी अभ्यस्त हुँदै गइन् । माओवादी संसारमै रमाउन थालिन् । केही समयपछि उनी अहिलेकी सभामुख ओनसरी घर्ती मगरकी स्टाफ भइन् ।

आफू माओवादीमा होमिएपछि निर्दोष दिदीको रहस्यमय मृत्यु


‘दिदीको मृत्यु सम्झिदा अझै पनि कहाली लागेर आउँछ ।’ उनका ओठ थरथराउन थाले । माओवादी युद्धका कारण उनको सानो र सुखी परिवारलाई तहस नहस भएको थियो । दाजु माओवादी युद्धमा मारिएको तथा बहिनी भुमीगत भएको भनेपछि सुरक्षाकर्मीको तारोमा परेको थियो उनको परिवार । उनी त भुमीगत थिइन्, युद्धका लागि हरेक क्षण तम्तयार रहनुपथ्र्यो । मृत्युलाई स्विकारेर हिड्नुपथ्र्यो । सबैभन्दा जोखिममा पथ्र्यो परिवार । एक साझँ गीताका घरमा सेनाको टुकुडी पुग्यो । बेस्करी ढोका ढक्ढकायो । ढोका खोल्न नपाउँदै सैन्य जत्था भित्र झिर्यो र भित्रबाट चुक्कुल लगायो । सेनाले घरका प्रत्येक सदस्यलाई बन्दुक तेर्साउँदै चुप रहन आदेश दियो । केही सैनिक दिदीको कोठामा प्रवेश गरे । ‘सुतिरहेकी दिदीमाथि अत्याचार शुरु भयो । पापीहरुले दिदीलाई सामुहिक बलात्कार गरेछन् । भोलिपल्ट विहान हेर्दा दिदीको लासलाई रुखमा झुण्ड्याइएको थियो र उनको गुप्तांगबाट रगत बगीरहेको थियो ।’ गीता थप बोल्न सकिनन् । दिदीको हत्या पछि रसायली परिवार पीडाको पहाडले थिचियो । आमा कैयौँ दिनसम्म मुर्छा परिरहिन् । अत्याचार र दमका बिरुद्ध माओवादी युद्धमा होमिएकी गीता थप अत्याचार र अकल्पनीय पीडा सुन्न अभिसप्त थिइन् ।

आफ्नो कारणले दिदीको मृत्यु भएको भान


दिदी माओवादीमा आबद्ध थिइनन् । उनी गीतालाई पनि सम्झाउँथिन्, ‘जे गर्ने हो पढाइ सकेर गर्लिस् । उमेरपनि सानै छ ।’ बहिनीलाई माओवादीमा नलाग्न सुझाउने दिदी माओवादीको आरोपमा बलात्कृत भइन् । मारिइन् । दिदीको बर्बर हत्याको खबर सुन्दा नसुन्दै गीताको मन बिझायो, ‘पापीहरुले मलाई भनेर दिदीलाई मारे ।’ गीतालाई दिदीको मृत्युको कारक आफु भएको भान हुन थाल्यो । ‘मेरो कारण दिदी मारिई, दिदीलाई सम्झँदा मेरो मुटु बिझाउँछ ।’ गीता भावुक भइन् ।

कमरेड भएपछि सिकेका उपलब्धी


हुन त माओवादी द्वन्दले थुप्रै समस्याहरु ल्याएर गयो । माओवादी आफै सत्तामा पुगेपनि पीडितको पीडा कम गर्न सकेन । बर्गबिहिन समाजको सपना बाँडेको माओवादी आफैँ बर्ग बर्गमा विभाजित भएको छ । आजको दिन देख्दा र आफ्नो परिवारको तहसनहस हेर्दा गीताको मनमा माओवादी युद्धप्रति अनेक प्रश्न उब्जिने गर्दछन् । तरपनि उनी दुःख मनाउ गर्दिनन् । कराएर र विरोध मात्रै गरेर पनि केही सिप नलाग्ने उनी बताउँछिन् । उनी आफ्नै स्वइच्छाले युद्धमा होमिएकी थिइन् । माओवादीमा लागेकै कारण प्रतिकुल परिश्थितिसमेत पचाउन सक्ने गरी आफु निडर र साहसिलो हुन सकेको उनको ठम्याइ छ । सानै उमेरमा दयित्वबोध गर्न सक्ने भएको र कम उमेरमै परिपक्व बन्न सकेकोमा उनी माओवादी युद्धप्रति धन्य छिन् ।

एकमात्र पछुतो


युद्धमा होमिएका धेरै बाल सैनिकले आफ्नो पढाई गुमाएका छन् । त्यस्तै गीताले पनि पढाई गुमाइन् । शान्ति प्रक्रिया पछि पढाई सुरु गरेर अहिले उनले ब्याचलर्स सकिसकेकी छिन् । सँगै पढेका साथीहरुले धेरै पढिसक्दा मनमा चिसो पस्ने उनले बताइन् । हिजो उनीजस्तै कैयौँ कलिला बालबालिका पढाइ छोडेर माओवादीमा युद्धमा होमिए । कतिले त शान्ति प्रक्रियामा आएपछि पनि पढाइ थालेका छैनन् । अहिले जताततै त्यही प्रमाणपत्र चाहिन्छ जुन प्रमाणपत्र हिजोका दिनमा बुज्र्रुवाका रुपमा त्याज्य थियो । आज छोराछोरीलाई त्यही सर्टिफिकेट दिलाउन नेताहरुले महंगा बोर्डिङ छान्ने गरेका छन् । हिजो आफैँले आर्दश मानेका नेताले छोराछोरीलाई पजेरोमा राखेर बोर्डिङ पुर्याउँदै गरेको देख्दा उनको मन चसक्क हुन्छ । ‘आर्दशको मानक बनेको माओवादी आन्दोलनले के संस्कृति जन्मायो ?’ यो प्रश्नको उत्तर उनले ठम्याउन सकेकी छैनन् ।

प्रस्तुति: कन्चन न्यौपाने

gita rasaili sabhamukh gharti