देश

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको लागि तयारी तीब्र

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको लागि तयारी तीब्र
कात्तिक - १२ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीब्र पारिएको छ । राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समितिले यतिखेर आफ्नो तयारीलाई तीब्रता दिएका छन् । पश्चिमाञ्चल क्षेत्रीय सहप्रशासक दिवाकर बाँस्तोलाका अनुसार उपसमितिले आफ्नो जिम्मामा भएका सम्पूर्ण कार्य कात्तिक १८ गते अगावै सम्पन्न गर्ने गरी काम थालेका छन् । प्राप्त कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः ४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । विमानस्थलबाट सिधैँ पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपरान्ह ३।०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडाैँ फर्कने कार्यक्रम छ । उनकाे भ्रमणको सिलसिलामा पोखराको सुरक्षा व्यवस्था मिलाइएको छ । यसको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन्। राष्ट्रपतिको भव्य स्वागतका लागि होटल ग्रान्डदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागतद्वार बनाइनेछ भने उनी सवार गर्ने बाटोमा नेपाल र भारतका झन्डा फहराइनेछ । त्यस्तै नेपाली मौलिकपनमा आधारित सांस्कृतिक झाँकी, बाजागाजा एवम् अभिवादनबाट श्रद्धाएवम् हार्दिकताका साथ राष्ट्रपतिको स्वागत गरिने छ । पोखरा भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले भारतीय पेन्सनक्याम्पबाट अमरसिंह, पृथ्वीचोक, हल्लनचोक, लेकसाइडलगायतका स्थानको दृश्यावलोकन गर्नुहुने क्षेत्रीय सह–प्रशासक बाँस्तोलाले जानकारी दिए । विश्वमै पर्यटकीय ख्याती कमाएको पोखरामा अघिल्लो वर्ष सम्पन्न सार्क मन्त्रिपरिषद्को बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै दिपावलीलगत्तै हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणले यहाँको गरिमा र महत्वलाई अझै उचाइमा पुर्याउने विश्वास पोखरेली जनताले लिएका छन् ।

pokharama pranab mukharji