पर्यटन

मुस्ताङ पुगेपछि शुरुमै निस्किने वाक्यः ‘नेपाल त हामीले देखेकै रहेनछौं’

मुस्ताङ पुगेपछि शुरुमै निस्किने वाक्यः ‘नेपाल त हामीले देखेकै रहेनछौं’

–कञ्चन न्यौपाने

काठमाडौंबाट गाडीमा मुस्ताङ पुग्न २१ घण्टा जति लाग्दो रहेछ । मुस्ताङसम्मको दुरी ५ सय किलोमिटर पनि छैन । मुस्ताङ पहिले पनि पुगिसकेकाहरुको प्रतिक्रिया थियो, ‘बाटो बनेपछि मुस्ताङ आउन सजिलो भएको छ ।’ काठमाडौंबाट पोखरा पुग्न गाडीमा ५ घण्टा जति लाग्छ । दुरी २ सय किलोमिटर छ । ५ सय किलोमिटरभन्दा कम दुरीको मुस्ताङ पुग्न अझै २१ घण्टा लाग्छ । घुम्नजानेहरु मुस्ताङ पुग्दा नपुग्दै थाकिसक्छन् ।

 

 

मुस्ताङ पुगेर अग्ला, सेता सुन्दर हिमाल तिर फर्केर हेर्नेहरुको मुखबाट स्वतः निस्कन्छ– नेपाल त हामीले देखेकै रहेनछौं । तराईमा बाफिलो तापमा बस्नेहरुले मुस्ताङको चिसोमा आएर यी दृश्य देख्न पाउँदा के भन्दा हुन् ? वर्षौ पहिलेदेखि पृथ्विको कुना–कुनाबाट विदेशीहरु आएर मुस्ताङलगायत सुन्दर ठाउँहरु घुमिसकेका छन् । हामीले भन्दा बढि विदेशीले चिनिसकेका छन् । सायद, त्यही भएर हाेला सगरमाथामा हाम्राे पाइलाभन्दा पहिले नै विदेशीकाे पाइला पर्याे । र नाम पनि अर्कैैले राखिदियो ।

[caption id="attachment_34938" align="alignleft" width="577"]manang-mustang-nepalaaja-03 तस्बिर- कन्चन न्यौपाने[/caption]

मुस्ताङमा अहिले स्वदेशी पर्यटकहरुको खचाखच छ । फेसबुकमा मुस्ताङ जानेको आइरोलाई व्यंग्य गर्दै एउटा ट्रोल भेटिएको थियो, ‘थानकोट बसेर ढुंगा हान्ने हो भने, मुस्ताङ जानेकै टाउकामा लाग्छ ।’

 

 

मुस्ताङमा २० प्रतिशत जति विदेशी पनि देखे । काठमाडौंबाट पोखरा हुँदै बेनी पुग्दासम्म बाटो राम्रो छ । घासादेखि लेतेसम्मको सडक के सडक ? साघुराे र अप्ठ्यारो बाटोमा गाडी, मोटरसाइकल कष्टले गुड्छन् । जम्मा १४ किलोमिटरकोे दूरी पार गर्न घण्टाैँ लाग्छ ।

 

 

मेचीदेखि महाकालीसम्म घेरै पर्यटकीय सम्भावनाका क्षेत्र छन् । त्यसमाथि हिमाल पारिका जिल्लाका रुपमा चिनिएका मनाङ र मुस्ताङको विशेषताः भने बेग्लै छ । जोमसोम पुगेपछि सिनेमामा देखिने मरुभूमि जस्तो भूगोल शुरु हुन्छ । हाम्रो देशमा मरुभूमि छैन, समुद्र पनि छैन । मरुभूमिजस्तो मुस्ताङ पुगेर हेर्दा लाग्छ नेपालमा के छैन र ? सब थाेक छ । मुस्ताङ मरुभूमिजस्तो मात्रै हो, तर मरुभूमि भने होइन । नेपालकै सबैभन्दा उर्बर भूमि हुन सक्ने जिल्ला पनि हाे ।

 

 

मुस्ताङको परिवेशमा बनेको चलचित्र कबड्डी कबड्डीमा मामा भान्जाको एउटा सम्वाद चर्चित भएको थियो ।

 

मामाले भन्छन्, – ‘चुनाव त जसरी भए पनि जित्नै पर्छ भान्जा, ५० हजार भोट ल्याएर जित्छु ।’ भान्जाले जवाफ फर्काउँछन्, – पूरै जिल्लामा ८ हजार भोट छ , ४२ हजार चाहिँ कहाँबाट ल्याउँछौं  ?

 

 

वास्तबमै मुस्ताङको क्षेत्रफल ३५७३ बर्गकिलोमिटर तर जनसंख्या १३ हजार मात्रै । यी १३ हजार जनताको आय ह्वात्तै बढ्ने सम्भावना धेरै छ । मुस्ताङसँग अवसर नै अवसर छ । स्याउ बेचे पनि पैसै, पर्यटक आउँदा पनि पैसै ।

 

 

बेनीमा पुगेर एउटा उसिनेको अण्डा ५० रुपैयाँ तिरेर खानु पर्यो । त्यसमाथि लेतेमा पुग्दा त्यही अण्डको भाउ १५० पुग्यो । एउटा अण्डाको १५० रुपैयाँ तिर्नु परेको जीवनको पहिलो घटना थियो । जोमसोममा एक कप चियाको ८० रुपैयाँ तिर्दा मनमा यति पैसाले काठमाडौमा ४ कप चिया आउँछ भन्ने लागि रह्यो ।

 

ओइरिएका पर्यटकलाई छुनै नसकिने मूल्यले स्वागत गरेको हो कि ‘अब देखि नआउनु भनेको हो ?’ बुझ्न सकिनँ । जहाँ ट्रक पुग्छन्, त्यहा सामान ढुवानी सजिलै हुन्छ । वस्तुको मूल्य त्यति धेरै अकासिँदैन । ट्रकले बोकेर लगेको वस्तुलाई भरियाले बोकेर लगेको वस्तुको दाम सरह राखिएको थियो । त्यो एक किशिमले व्यापार भन्दा पनि लुट थियो । नत्र १३ रुपैयाँको एउटा अण्डा लेतेसम्म पुर्याएको ढुवानी खर्च १३७ रुपैयाँ कसरी हुन्छ ? अण्डाको मूल्य १३ रुपैयाँ ढुवानी १३७ क्या गजब ।

[caption id="attachment_34939" align="alignleft" width="450"]manang-mustang-nepalaaja-04 तस्बिर - कन्चन न्यौपाने[/caption]

जोमसोमबाट मुक्तिनाथ जाँदाको कालीगण्डकीमा एउटा गिरोह तैनाथ रहेछ । त्यो गिरोहले २५ सय रुपैयाँ ठग्यो । ‘कालीगण्डकीले लैजाला बगाएर’ भन्दै वरै आतंक फैलाउनेहरुको समूह नियोजित ढंगले तैनाथ रहेछ । डोजर ल्याएर गाडी तार्दाको ज्याला २५ सय तिर्नु पर्यो । खासमा त्यो नदी त्यसै तर्दा पनि हुने रहेछ । जाँदा पैसा तिरेपछि फर्कदा जीप आफैले नदी तर्यो ।

 

 

मुक्तिनाथबाट कागबेनी हुँदै अपर मुस्ताङ जाने योजना नै थिएन । मुक्तिनाथ दर्शन गर्न यो सिजन ठीकै हो । चिसो बढेपछि हिँउ पर्न थाल्छ । मनाङ मुस्ताङमा वर्षात त त्यस्तै हो ।

 

 

मूक्तिनाथबाट झरेर कागबेनी आइपुग्दा खोला किनारमा स्याउका तीनवटा बोटहरु भेटिए । बोटमा स्याउ लटरम्म फलेका थिए । पाकेर भूँइमा झरेका स्याउ कुहिएका पनि थिए । ती बोट वरपर न कोही मानिस थिए, न कसैको घर । काठमाडौंमा कोसेली लैजाँदा स्याउ लैजाने चलन छ । त्यहाँ त हामीले बोक्ने कोसेली स्याउ कुहिरहेका थिए । त्यहाँ पुग्दा मलाई स्याउ भन्ने फल खास चिजको हैन रहेछ जस्तो पनि लाग्यो ।

 

 

सानो झोला भरी स्याउ टिपे । पैसा नतिर्न नियत थिएन । तर पैसा लिइदिने साउजी थिएनन् । देउरालीमा भेटी चढाए जसरी स्याउको बोट फेदमा पैसा राखेर हिड्न मन लागेन । पैसा पनि गोजीमा, त्यसमाथि झोलाभरी स्याउ । त्यो स्याउको स्वादको के कुरा गर्नु । यस्ता मिठा स्याउ फल्ने प्रशस्त जमिन छ मुस्ताङमा । सरकारले युवालाई हवाईजहाज चढाएर विदेश पठाउँछ । साना जीप चढाएर तराईका बेरोजगार युवालाई स्याउ खेति गर्न मुस्ताङ पठाउनु नि ।

 

 

१ अर्ब जति खर्च गर्ने हो भने मुस्ताङ भरी स्याउका बोट, देशभरी मुस्ताङे स्याउ, युवाका गोजीमा हात्तीको फोटो भएका नोट हुने थिए – यस्ता कल्पना पनि आए मनमा । करोडौ रुपैयाँको विदेशी स्याउ किन्न पैसा हुने अलिकति पैसा खर्च गरेर देशमै स्याउ फलाउन नहुने भन्ने के छ र ?

 

 

काठमाडौंबाट हिँडेको दिन बेनीमा वास बस्यौं । भोलिपल्ट तातेपानीबाट घाँसा र घासाँबाट लेते आइपुगेपछि बल्ल बिहानको खाना खाइयो । हामी जति उकालो चढ्दै जान्थ्यौं खाना, खाजा, चियाको मूल्य पनि उकालो लाग्दै जान्थ्यो । लेतेसम्मको डरलाग्दो बाटोले मुटु कमायो । अप्ठ्यारो बाटोका ठाउँ–ठाउँमा साना ठूला झरनाहरु मन लोभ्याउने थिए ।

 

 

 

ठुला टुरिस्ट बसदेखि ट्याक्सी, मोटरसाइकलमा पनि जोमसोम पुग्ने धेरै थिए । विदेशी पर्यटकहरु त साइकलमै उकालो चढिरहेको पनि भेटिन्थ्यो । हामीलाई जीपको यात्राले नै धेरै थकित बनाएको थियो । साइकलमा कष्टपूर्ण यात्रा गर्दा तिनलाई कस्तो रमाइलो लागेको होला ? ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ भन्ने गीत चाहिँ यतैका गाउँ हेरेर लेखिएको जस्तो लाग्यो । मुक्तिनाथ हिमालकै काखमा छ । अहिलेनै त्यति धेरै चिसो मुक्तिनाथमा पछि झन कति होला । मुक्तिनाथका १०८ धारा र २ वटा कुण्डमा नुहाउँन त बलियो मुटु चाहिन्छ । पाप पखालीने भनेपछि त्यस्तो चिसो पानीमा डुबुल्की लगाउनेहरु धेरै थिए । तेस्तो चिसोमा डुबुल्की तिनले पनि लगाउँछन होला जसले १३ रुपैयाको अण्डालाई १५० लिए ।    मैले त के नै पाप गरेकी थिएँ र पखाल्नु ?

[caption id="attachment_34937" align="alignnone" width="816"]manang-mustang-nepalaaja-02 तस्बिर - कन्चन न्यौपाने[/caption]

कति मानिसहरु छन् जो काठमाडौं खाल्डो नाघेर कतै गएका छैनन् । तराईमा पनि त्यस्ता कति मान्छे छन् जो चुरे फेदीबाट पहाड हेरै ‘अरे वाह’ भन्छन् । कतिले त त्यही पहाड पनि नजिकबाट हेरेरका छैनन् । हिमाल पहाड र तराईमा बस्ने हामी नेपालले हाम्रो भूगोल बुझ्नै सकेका छैनौं । हामीले देश देखेकै छैनौं । कम्तिमा तराइका मान्छेलाई हिमाल, हिमाल पहाडका मान्छेले तराई घुम्नु पर्छ । काठमाडौंका नेवारहरुले ‘... मस्र्या खः’ भन्ने, तराईकाले पहडीयाहरुले सबै अधिकार खोसे भन्ने आवाजलाई मत्थर पार्न एकअर्काको प्रदेश घुम्न जरुरी छ । मुस्ताङ पुगेपछि मनबाटै लाग्यो, यस्तो देश छाडेर विदेश के जानु ? विदेश जाने सोच यसै हरायो ।

 

 

नेपालमा विकास नभएको होइन रहेछ । दुइ वर्षअघि निकै कष्ट झेलेर गएका मानिसहरु सबै चकित थिए, दुई वर्षमा बाटो त गतिलै बनेछ भनेर । यही गतिमा काम हुँदै जाने हो भने अबको ४ वर्ष भित्र मुस्ताङको बाटो पिच हुने कुरामा दुई मत छैन ।

Kanchan Neupane Mustang story by kanchan