पर्यटन

पर्यटकको सङ्ख्यामा वृद्धि

पर्यटकको सङ्ख्यामा वृद्धि
कञ्चनपुर, २५ असोज । पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै स्थल मार्ग भएर आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ । गड्डा चौकीस्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन वर्षयतादेखि नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । नेपालमा शान्ति सुव्यवस्था सुदृढ हुँदै गएपछि यस नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा वृद्धि भएको कार्यालयका प्रमुख पदमराज भट्टले बताउनुभयो । गड्डा चौकी नाका भएर सन् २०१५ मा दुई हजार ६० पर्यटक भित्रिएका थिए भने सन् २०१६ को सेप्टेम्बर महिनासम्म एक हजार ६७३ पर्यटक भित्रिएका छन् । जुन गतवर्षको यही अवधिको भन्दा पर्यटक भित्रिने सङ्ख्यामा आधाले बढी भएको अधिकृत भट्टले बताउनुभयो । सन् २०१५ मा यसै नाका भएर एक हजार, ५३६ पर्यटक बाहिरिएकामा सन् २०१६ को सेप्टेम्बरसम्म एक हजार १८१ पर्यटक बाहिरिएका छन् । सन् २०१३ मा यस सीमा नाका भएर एक हजार ६३९ भित्रिएका थिए भने सोही अवधिमा एक हजार ६१० पर्यटक बाहिरिएका थिए ।सन् २०१४ मा एक हजार ८०८ पर्यटक भित्रिएकामा सोही अवधिमा एक हजार ५९० पर्यटक बाहिरिएका कार्यालयले जनाएको छ । सीमा पुल वनवसा खुल्ने समय बढ्नु, यातायात र सडकलगायतमा हुँदै आएको सुधारले स्थल मार्ग भएर आउने पर्यटक बढ्न थालेको कार्यालय प्रमुख भट्टको भनाइ रहेको छ । गड्डा चौकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रसुवा, काँकडभिट्टा, भैरहवा, धनगढी, नेपालगन्जलगायतका आठ नाकाबाट विदेशी पर्यटक नेपाल आउने गर्छन् । गड्डा चौकी नाकाबाट आउने पर्यटक बर्दिया, चितवन, काठमाडौं, पोखरा, कर्णाली घुम्नका लागि बढी भित्रिने गरेका छन् । पछिल्लो समय शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटको सङ्ख्यासमेत बढेको छ । रासस

tourist increased
ADVERTISEMENT