समाज

हराउँदै जान थाल्यो दसैंको च..च..हुइ्य

हराउँदै जान थाल्यो दसैंको च..च..हुइ्य

 


असोज १५ । च...च...हुइ्य गर्दै दसैंमा लिंगे पिङमा मच्चिनुको मजा नै बेग्लै हुन्छ । टिका थापेर भूँई छाड्नु पर्छ भन्ने मान्यताका कारण दसैंमा पिङ खेल्ने परम्परा पनि छ । तर पछिल्लो समय सहरबजारमा मात्रै नभएर गाउँघरमा समेत लिंगे पिङ हराउँदै गएको छ । आधुनिक र ठूलो आकारका रोटेपिङका कारण परम्परागत रोटेपिङ त फाटफुट मात्रै देखिन्छ ।

काठमाडौंका टोलटोलमा केही दशकअघिसम्म प्रशस्तै लिंगे पिङ हाल्ने गरिन्थ्यो । पुराना कुरा सम्झँदै काठमाडौं बत्तीसपुतलीका प्रभास दाहाल भन्छन्, ‘पहिले हामी आफै पिङ हाल्थ्यौं । अचेल हामीले अग्रसरता लिन छाड्यौं । नयाँ पुस्तालाई पिङमा कुनै वास्तै छैन । परम्परा हराउँदैछ ।’

पिङ बनाउन कम्तिमा चारवटा सग्ला, छिप्पिएका बाँस चाहिन्छ । एक गरालो, लठ्ठा आदि आवश्यक पर्छ । सामाग्री भएर मात्रै हुँदैन । पिङ बनाउन जान्ने मान्छे पनि चाहिन्छ । अचेल पिङ बनाउन जान्ने मान्छे पाउन पनि मुस्किल छ । रोजगारीका लागि युवा सहर र खाडी पुग्ने गाउँमा नयाँ पुस्ताले वास्ता नगर्ने कारण पिङ हराउँदै गएको छ ।

सिन्धुपाल्चोकबाट बसाइँ सरेर काठमाडांैमा आएका ६१ वर्षीय वीरबहादुर विक भन्छन्, ‘रोटे पिङकालागि चाहिने काठपात नै अब पाइन्न । किन्दा धेरै महंगो हुन्छ । बनाउने मान्छे पनि छैनन् । लिंगे पिङ चाहिँ अझै फाट्टफुट्ट हालेको देख्दा रमाइलो लाग्छ ।’

सहर बजारमा बस्ती बाक्लिएको छ । पिङ हाल्न चाहिने खुला चौरको अभाव पनि हुने गर्छ । ठाउँको अभाव तथा आधुनिकताका कारण मानिसहरुले पिङ विर्सदै गएको काठमाडौं काँडाघारीका ६५ वर्षीय हरिप्रसाद नेपाल बताउँछन् । उनले भने, ‘अचेल मानिसहरुसँग रमाइलो गर्ने विकल्पहरु धेरै भए । पिङ एउटा समान्य विकल्प मात्रै हो ।’

सहरमा मात्रै होइन गाउँमा पनि पिङ हाल्न चाहिने सामाग्रीको अभाव छ । रामेछापका कृष्ण मगर भन्छन्, ‘गाउँमा लठ्ठा बनाउन बाबियो नै पाइँदैन ।’

dashain-ping-nepalaaja-01


युवाहरु रोजगारीका लागि विदेशीएका कारण पिङ लोप हुँदै गएको दोलखाकी २५ वर्षीया नम्रता अधिकारी तर्क गर्छिन् । नम्रता भन्छिन्, ‘गाउँमा युवाहरु छैनन्, अरुले पिङ हाल्दैनन् । बाँसलाई ठड्याएर नुहाउँन महिलाहरुलाई गाह्रो हुन्छ ।’

ओखलढुंगाकी अमृता खत्री भने युवाहरुको उदासिनताका कारण पिङ संस्कृति लोप हुँदै गएको हो । पहिले युवाहरु क्लबमा संगठीत हुन्थे । अचेल क्लब नै छैनन् ।’

दुई वर्षअघि मलेसियाबाट फर्केका शम्भु बस्नेतलाई दसैं÷तिहारमा पिङ खेल्न असाध्यै मन पर्छ । तर त्यो अवसर अहिले उनलाई जुर्दैन । काठमाडौंमै व्यव्साय गरेर बसेका बस्नतेले पोहोर साल एक पटक पिङ खेले । त्यो पनि एक घण्टा पैदल हिँडेर मात्रै । काठमाडौंमा मात्रै होइन गाउँमा पनि पिङ हाल्न छाडिएको उनले अनुभव सुनाए ।

काठमाडौं खहरेकी १५ वर्षीय मनिता राईलाई पिङ खेल्न, चङ्गा उडाउन रमाइलो लाग्छ । काठमाडौंको फनपार्क घुम्न जाँदा उनको पहिलो रोजाई पिङ हुने गर्छ । उनी दसैं तिहारको स्कुल बिदामा पुख्र्याैली घर ओखलढुङ्गा जाने गर्छिन् । गाउँ जाँदा एक दुई पटक मात्र पिङ खेल्न पाएको उनी बताउँछिन् । उनी भन्छिन,‘ म दसैं तिहारमा गाउँ जादा पिङ खेल्न मन लाग्छ तर गाउँमा पिङ त हुन्छ तर खेल्नै पाइदैन् पिङ एउटा मात्र हुन्छ तर खेल्ने मान्छे धेरै हुन्छन् हाम्रो त पालो नै आउदैन् ।’

मानिसहरुलाई लिंगे पिङ प्रति मोह असाध्यै छ तर पिङ संस्कृति भने क्रमशः हराउँदै गएको छ । यो ‘संस्कृति थियो’ भन्ने शुभकामना आदान प्रदान गर्ने कार्डमा राखिने चित्रले मात्रै नझल्काओस भन्नका लागि नयाँ पुस्ता चनाखो हुनु पर्ने आवश्यकता छ । प्रस्तुतिः विश्वराम सुनुवार

dashain ko ping ping haraudai

विशेष

ADVERTISEMENT