मेरो परिवार मेरो कथा

बानेश्वर जाऔँ, अचम्म चिया खाऔँ: संर्घषशील अचम्म दिदीको कथा

बानेश्वर जाऔँ, अचम्म चिया खाऔँ: संर्घषशील अचम्म दिदीको कथा

 


काठमाडौं शान्ति नगर गेट छेवैमा हरिसिद्धि आयल स्टोर छ । त्यहाँ बिहानै  भीड लाग्ने गर्दछ । केही भएको झैँ गरी भीड लागेपनि त्यहाँ खासमा केही भएको हुँदैन । अचम्म, त्यहाँ चिया खानेको भीड लाग्दछ । सडकमै काठमाडौँका नाम चलेका क्याफेमा भन्दा मिठो चिया खान पाइने भएपछि टाढा टाढाका ट्याक्सी चालक त्यहाँ धुइरिने गर्दछन् । त्यहाँ पाइने चियाको नाम नै बेग्लै छः अचम्म चिया ।

बोलिपिच्छे अचम्म भन्ने अनु कार्कीको थेगोका कारण चियाको नाम नै अचम्म भएको हो । साहुनीपनि अचम्म दिदीका रुपमा प्रख्यात छिन् । शान्तिनगर आसपासका बासिन्दा र ट्याक्सी चालकका बीचमा अचम्म दिदी भनेपछि नचिन्ने सायदै कोही होला । ट्याक्सी चालक, बटुवा र वरपरका व्यवसायीका लागि अचम्म–ब्राण्ड बनेकी कार्कीको दैनिकी झिसमिसेमै शुरु हुन्छ । उज्यालो हुन नपाउंदै उनी शान्तिनगर गेटमा चिया उमाल्न व्यस्त भइहाल्छिन् ।

अचम्मले बानेश्वरलाई बिउझाउने गर्छिन । बिहानको एकाध घण्टाको व्यापारमा अचम्मले कम्तिमा तीनसय कप चिया बेचिसक्छिन् । चानचुन पांच सय नाफा पनि पारिसक्छिन् । achhamma-didi-nepalaaja-02 अचम्मले बानेश्वरमा चिया बेच्न थालेको झण्डै पन्ध्र बर्ष भइसक्यो । किशोरवयमा पसल शुरु गरेकी अचम्मका अहिले किशोरवयका दुई छोरी र एउटा छोरो भइसके । उनले पसल गर्दा चियाको मूल्य जम्मा पांच रुपैया थियो, अहिले तीन गुणा बढेर पन्ध्र भएको छ । अचम्मको आम्दानी बढेपनि महङ्गीले मार खुवाएको छ । छोरीहरुले उनलाई व्यवासयमा साथ दिएका छन् । चिया खाने स्थायी ग्राहकपनि छन् । कोही उनकै पसलमा आउँछन् । कसैलाई पसल वा घरमै पुर्याउनुपर्छ । फोनबाटै चियाको अर्डर हुन्छ । हसिली यिनको एउटै शब्द काफी छ: अचम्म । फोनको दुनियाँमा हेलो नभन्ने को होला र् ? तर अनुको शब्दकोषमा हेलो छैन ।

फोन उठाउदा उनी हेलो होइन, अचम्म भन्छिन् । उनको मोबाइलमा फोन गर्नेले ‘हेलो’ भन्ने सुनिहाले, बुझिहाल्छन्ः फोन अरुसंगै छ । कैयौं किस्साकी धनी छन् अचम्म दिदी । उनी तर्क गर्छिन् तर विवाद गर्दिनन् । विवाद हुने देखिए उनले अचम्मकै होलस्कायर सुत्र प्रयोग गर्छिन । अचम्म नि अचम्म । जब उनले अचम्म नि अचम्म भन्छिन्, अभ्यस्तले बुझिहाल्छन् अब उनी थप तर्कविर्तक गर्दिनन् । अचम्म दिदीको जीवनकहानीपनि अचम्मकै छ । ५ दिदीबहिनी र ३ दाजुभाइमध्येकी साहिली अनुको जन्म ओखलढुंगाको फेदीगोठमा भएको हो । घर चलाउन मुस्किल थियो । अचम्मलाई लाग्यो यसरी हुंदैन । १२ वर्षको उमेरमै उनी काठमाडौं हानिइन । ८ दिन हिडेरै उनले काठमाडौमा पाइलो टेकिन् । बहुदल भर्खरै मात्र आएको थियो । काठमाडौंकै महत्वाकांक्षा चुलिएको थियो । अनुका थुप्रै आंकाक्षा थिए, तर बाध्यताले कोरेको सीमा सबैभन्दा दरिलो थियो । उनले बुढानिलकण्ठमा गलैंचा फ्याक्ट्रीमा काम गर्न थालिन । साहुकै घरमा बस्थिन । तलब थापिन् महिनाको तीन सय ।

 

बिहान ४ बजेदेखि राति ११ बजेसम्म काममा जोतिएर कमाएको तीन सयपनि उनका लागि ठूलो थियो । घरखर्च चलाउन पैसा गाऊ पठाउंदा संसार जितेजस्तो भयो । तीन वर्षपछि गाऊ भर्किइन । गाऊ उस्तै थियो । अनुमा थुप्रै परिवर्तन आइसकेको थियो । बाले मुख फोरेः अब उमेर भयो, बिहे गर्नुपर्छ । बिहे उनको सपनाको बाधक थियो । गाऊमा घरगोठ गर्ने उनको ईच्छा थिएन । उनले बिद्रोह गरिन् । सुटुक्क घर छोडेर दशैंको दिन काठमाडौं फर्किइन् । कलकलाउंदो बैशले छोपेकी अनुलाई काठमाडौंमा थुप्रैले पिछा गरे । अनपढ अनुलाई रगतले लेखिएका पत्रपनि आए ।

उमेरको झोक्कालाई रोक्न नसके जीबन बर्बाद हुन्छ भन्ने अठोटले अनुलाई जस्तै प्रस्तावपनि इन्कार गर्ने साहस दियो । कोटेश्वर नजिकैको जडीबुटीमा त्यतिबेलासम्मपनि घरघरमा ट्वाइलेट थिएन । झाडीतिर जानुपर्ने त्यतिबेलाको अवश्था सुनाउदा अहिले पनि उनलाई लाजले छपक्कै छोप्ने गर्दछ । काठमाडौंको बसाइमा उनले समाजलाई चिन्न पाइन । समस्यासंग जुध्ने साहस बटुलिन् । हक्की स्वभावले उनलाई ठूलाबडाको डरबाट टाढा राख्यो । फरासिलो शैलीकी अनुले भित्रभित्रै अठोट गरिन्ः अन्तरजातिय विवाह गर्छु । नभन्दै उनको सिन्धुपाल्चोकका रानेमगरसंग मागि विवाह भयो । विवाहले जीवनसाथी त दियो तर जीवनलाई झनै जटिल बनाइदियो । बच्चाबच्ची जन्मिएपछि घरव्यवहारले झनै थिचो । उनले जीवनमा के गरिनन् ? डान्स रेण्टुरेन्टमा गेष्ट होष्टेस भइन । इट्टा भट्टीमा ज्यामी बनिन् । अस्पतालमा सेकुरीटी गार्डपनि भइन् ।

धेरै भइन् तर दुःख जस्ताका तस्तै रहे । उनले अठोट गरिन्ः अब केही नयां गर्नुपर्छ । तीन सन्तानकी औंला छाप अनुले ट्याम्पो सिक्न थालिन । अंग्रेजी भाषा सिक्न थालिन् । सिलाई सिक्न थालिन् । विहानमा ५ देखि ११ बजेसम्मको समय उनले ट्याम्पो, अंग्रेजी र सिलाइबुनाइमा खर्च गरिन् । १२ बजे देखि ६ बजेसम्म अस्पतालमा गार्ड बस्थिन । ७ बजेदेखि राति १२ बजेसम्म उनी डान्सबारमा होष्टेस हुन्थिन् । राति एकबजे घर पुग्थिन । ४ बजे उठिसक्थिन् । यो संर्घषले उनको जीबनमा नयां मोड ल्याइदियो । उनले व्यवसाय थालिन् । कहिले टेम्पो चलाइन् । कहिले अनामनगरमा मट्टितेल डिपो राखिन् । बिहान र बेलुका शान्तिनगरमा चिया बेच्न थालिन् ।

achhamma-didi-nepalaaja-03


आफ्नै कमाइले उनले ट्याक्सी किनिन् । ट्याक्सी बेचेर अहिले क्याफे खोलेकी छिन् । सिनामंगलस्थित भत्केको पूलबाट भीमसेनगोलातर्फ लागेर बायाँ मोडिएपछि उनको क्याफे आइपुग्छ । क्याफेको नाम भनिरहनै परेनः अचम्म क्याफे । क्याफेमा एका बिहानै ग्राहक आउँदैनन् । उनी सबेरै उठेर शान्तिनगर पुग्छिन् । चिया उमाल्न थाल्छिन् । दुई चार सय कप बेचिसकेपछि उनी क्याफे खोल्न हतारिन्छिन् । भन्छिन्, ‘पहिले म बाध्यताले सडकमा चिया बेच्थे । अहिले मन राख्न चिया बेच्छु । मैले बनाएको चिया खान चाहने धेरै हुनुहुन्छ ।

आज केही उभो लागे भन्दैमा म ठूली हुन भएन नि, अचम्म ।’ अनुको नेटवर्क फिंजिएको छ । उनी समाजसेवामा पनि लागेकी छिन् । भुकम्प जाँदा सिन्धुपाल्चोक ठूलो सिरुवारीको बस्ती सखाप भयो । उनले काठमाडौँबाट चिनेजानेका पत्रकारलाई लिएर गाऊँ गइन् । संचारमाध्यममा उनको गाऊँको व्यथा प्रशारण भएपछि मनग्गे सहयोग पुग्यो ।

सबैले अचम्मले गर्दा खान र लाउन पाइयो भन्दै खुशी व्यक्त गरे । उनले गाउँमा आफ्नै खर्चले आखाँ शिबिर पनि संचालन गरिन । 


पछिल्लो समय समाचार माध्यममा छाउन थालेकी उनलाई सम्मान गर्न थालिएको छ । हिजो बाटोमा चिया बेचेकी भनेर हेप्नेहरुले उनको संर्घषका बारेमा पढेपछि आदर गर्न थालेका छन् । बटुवाले समेत अचम्म दिदी नमस्ते भन्छन् यदाकदा । उनी लाजले भुतुक्कै हुन्छिन् । चौतारामा घडेरी किनेकी छन् । दुई छोरी र एक छोरालाई राम्रैसंग पढाएकी छन् । जेठी छोरी र छोरा बानेश्वरको प्रिमियर कलेजमा पढ्छन् । कान्छी रत्न राज्य स्कुलमा पढ्दैछिन् । बुढा बैदेशिक रोजगारमा गएका छन् । छोराछोरीलाई भनेजति भनेजसरी पढाउने उनको धोको छ ।

achamma dd ko achamma sangarsha achhamma cafe
ADVERTISEMENT