विदेश

अमेरिका–इरान द्वन्द्व अझै चर्किने, इरानले अमेरिकी ड्रोन खसालेको पुष्टि

अमेरिका–इरान द्वन्द्व अझै चर्किने, इरानले अमेरिकी ड्रोन खसालेको पुष्टि

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको हो।

आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले 'अमेरिकालाई स्पष्ट सन्देश दिएको' बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो।  इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन्।

"हाम्रो आकाश हाम्रो रेड लाइन हो र इरानले त्यसको उल्लङ्घन गर्ने जुनसुकै देशलाई जवाफ दिनेगरेको छ," अर्थसरकारी समाचार संस्था तसनिममाले अली सम्खानी उद्धत गर्दै भनेको छ। सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले 'उत्तेजक व्यवहार' देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।

उक्त नयाँ तैनाथी गत महिना नै १५ सय सेना खटाउने राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणामा थपिएको हो।  अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला गरेको आरोप लगाएको छ।  अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ।