अपराध सुरक्षा

युट्युबर गौतमलाई २ दिन थुना थप

युट्युबर गौतमलाई २ दिन थुना थप

काठमाडौं : नेपाली चलचित्रको व्यंग्यात्मक समीक्षा गरेबापत विद्युतीय कारोवार ऐनअन्तर्गत प्रहरी थुनामा परेका प्रनेश गौतमको तत्काल रिहाइ माग गर्दै बुधबार युवाले राजधानीमा प्रदर्शन गरेका छन् ।

गौतमको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भन्दै युवा विद्यार्थीले माइतीघर मण्डलमा गरेको प्रदर्शनमा चलचित्र उद्योगको ‘दादागिरी बन्द गर’ लेखिएका प्लेकार्ड देखाएका थिए ।

उनीहरूले संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि माग गरे । अभिव्यक्ति स्वतन्त्रता वर्जित भएको संकेत स्वरुप मुखमा कालो टेप लगाएर प्लेकार्डसहित ललितपुरको पुल्चोकदेखि माइतीघरसम्म युवा विद्यार्थीले पैदल प्रदर्शन गरेका थिए । सामाजिक सञ्जालमा थुप्रै युवाले पक्राउको विरोधमा तीखा टिप्पणी गरेका छन् । ट्वीटरमाह्यासट्याग फ्रिप्रनेश गौतम ट्रेन्डिङ भइरहेको छ ।

यसैबीच काठमाडौं जिल्ला अदालतले गौतमलाई अनुसन्धानका लागि थप २ दिन हिरासतमा राख्ने प्रहरीलाई अनुमती दिएको छ ।

गौतमले ‘वीरविक्रम–२’ को समीक्षा युट्युब च्यानल ‘मिम नेपाल’ मा गरेपछि चलचित्र निर्देशक मिलन चाम्लिङ राईले आफ्नो तथा कलाकारको प्रतिष्ठामा आँच पुगेको भन्दै अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका थिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

प्रनेश गौतम
ADVERTISEMENT