मनोरञ्जन कला साहित्य भिडियो

प्रीतमलाई माधुरीको मायासंगै  दिल्ली र दक्षिण अफ्रिकामा कन्सर्टको प्रस्ताव

प्रीतमलाई माधुरीको मायासंगै  दिल्ली र दक्षिण अफ्रिकामा कन्सर्टको प्रस्ताव

भारतको जी टीभीबाट प्रसारित सारेगमप लिटल च्याम्पसमा तेस्रो स्थान हासिल गर्न सफल नेपाली बाल गायक प्रीतम आचार्य चर्चाको शीखरमा छन् । उनीसगै चौथो स्थान प्राप्त गर्न सफल अर्का गायक आयुष केसीको पनि उत्तिकै चर्चा छ ।  


यी दुई मध्ये प्रीतमको क्रेज अझ बढी देखिन्छ । त्यसमा पनि भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितले प्रीतमप्रति अझ बढी चासो र माया देखाएपछि उनको चर्चा चुलिएको हो । 


बाल गायक प्रीतम आचार्यले आफनो करिब पाँच महिना मुम्बइको यात्रामा बलिउडका कलाकारहरूसँग सङ्गत गर्ने मौका पाए ।  उनका अनुसार बलिउडमा धेरै कलाकारहरूसँग उनको भलाकुसारी भयो। धेरैले उनको गायन कलाको प्रशंसा गरे । प्रीतमका अनुसार सबैभन्दा बढी माया उनले माधुरी दीक्षितबाट पाए । 


उनले भने, “ माधुरीले कार्यक्रम रेकर्डिङ भएका बेला खाना खाने समयमा मलाई छेउमा बोलाएर तिमी धेरै राम्रो गाउँछौ, तिमी र म एकचोटी अवश्य काम गर्छौं भन्नुभयो।“


प्रतियोगिता सकिएसंगै गायक प्रीतमलाई भारतको दिल्ली र दक्षिण अफ्रिकाको कन्सर्टका लागि प्रस्ताव आइसकेको छ । ती कन्सर्टका लागि दुई महिनापछि भारत जाने उनको योजना छ । 


कन्सर्टबाट हुने  आम्दानीको ६० प्रतिशत जी टिभी र ४० प्रतिशत आफ्नो हुने उनले बताए । उनले भने, “जी म्युजिकबाट एउटा गीत पनि रेकर्डिङ गराउने योजना छ ।“