अर्थ बैंकिङ मुख्य समाचार

एभरेष्ट बैंकद्वारा आफ्नै ग्राहकको गोपनियता भंग, पूर्वमन्त्रीलाई दियो झगडीया पक्षको स्टेटमेन्ट (प्रमाणसहित)

एभरेष्ट बैंकद्वारा आफ्नै ग्राहकको गोपनियता भंग, पूर्वमन्त्रीलाई दियो झगडीया पक्षको स्टेटमेन्ट (प्रमाणसहित)

काठमाडौ । सिंहदरबारस्थित एभरेष्ट बैंकको शाखाले ग्राहकको गोपनियता भंग हुने गरी मुद्दामामिलामा रहेका दुई मध्ये एक पक्षलाई अर्को पक्षको निजी कागजात उपलब्ध गराएको छ । 

 

बैंकले अदालतमा मुद्धामामिला गरिरहेका दुई पक्ष मध्ये पूर्वमन्त्री कृपासुर शेर्पालाई उनका  झगडीया पक्ष गणेश शेर्पाको बैंक स्टेटमेन्ट उपलब्ध गराएको हो । कृपासुरका आफ्नै छोरा गणेशले कृपासुरविरुद्ध अंश मुद्धा दायर गराएका छन् । अंशमा बाबुले ठगेको दावी गर्दै गणेशले आफ्ना बाबुविरुद्ध अर्को मुद्धा थपेका छन् । 

 

यो अवस्थामा आफूले छोरालाई अंश दिइसकेको भन्ने प्रमाणका रुपमा कृपासुरलाई चाहिएको गणेशको बैंक स्टेटमेन्ट सो बैंकले उपलब्ध गराएको हो । 

 

बैंकले आफ्नो निजी स्टेटमेन्ट झगडीय पक्षलाई दिएपछि गणेशले भने, ‘आफ्नो ग्राहकको गोप्य कागजात अर्को पक्षलाई दिनु गम्भीर खेलवाड हो । मेरो आपसी कानुनी लडाईंमा एभरेष्ट बैंक मेरो पक्षमा उभियो । ग्राहककै कुभलो चिताउने बैंक रहेछ ।’

 

बैंकले आफ्नो गोपनियता भंग गरेको दावी गर्दै गणेशले नेपाल राष्ट्र बैंकमा उजरी गरेका छन् । उनको उजुरीपछि राष्ट्र बैंकले एभरेष्टलाई पत्र लेख्दै यो विवाद आपसी सल्लाहमा सुल्झाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग गुनासो व्यवस्थापन समितिको सचिवालयका उपनिर्देशक राजेशप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा आपसी सल्लाहले विषय सुल्झिन नसके घटनाविवरण विस्तृत रुपमा खुलाई स्पष्टिकरण पठाउन निर्देशन दिएको छ । 

बाबुसँगै मुद्दा लडिरहेका छोराको स्टेटमेन्ट किन बाबुलाई दिएको भन्ने प्रश्नमा सो शाखाका प्रबन्धक रामराज उप्रतीले भने, ‘गुड फेथका आधारमा दिएको हुन सक्छ । हामीले दिएको स्टेटमेन्ट हाम्रो आधिकारिक कागजमा छैन । बाबुले छोराको पनि दिनुस न भनेर लगेको हो कि भन्ने लाग्छ ।’

 

प्रचलित कानुनअनुसार छोराको स्टेटमेन्ट बाबुलाई दिन मिल्छ ? भन्ने प्रश्नमा उनले भने , ‘दिन त मिल्दैन । तर यो विषयमा उनका बाबुलाई पनि हामीले सल्लाह गर्न बोलाएका छौं ।’


 

ADVERTISEMENT