समाचार

गाउँपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटिन्

गाउँपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटिन्

इटहरी उपमहानगरका मेयर द्वारिका चौधरीले कर्मचारी कुटेको घटना नसेलाउँदै नुवाकोटमा यस्तै घट्ना दोहोरिएको छ । तार्केश्वर गाउँपालिकाकाको प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले आफूलाई गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालले कुटपिट गरेको भन्दै न्यायका लागि जिल्ला प्रहरी कार्यालय विदुरमा जाहेरी दिएका छन् । 

आफूले सिफारिस गरेका योजनाको लागि बजेट दिन नमानेको भन्दै नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित उपाध्यक्ष रिमालले प्रमुख प्रशासकीय अधिकृत दाहालमाथि कुटपिट र दुव्र्यबहार गरेकाले पक्राउ गरी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिइएको छ । 

आफ्नै कार्यकक्षमा सेवाग्राहीका काम गरिरहेको समयमा बिहीबार अपरान्ह  उपाध्यक्ष रिमालको कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत दाहालले लगाएको कपडा च्यातिएको तथा गालीगलौज भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख  छ । 

गाँउसभामा समावेश नभएका विभिन्न चारवटा योजनामा ६ लाख रुपैयाँ बजेट तर्जुमा गर्न उपाध्यक्षको  निर्देशन कार्यान्वयनको लागि ‘कानूनले नमिल्ने’ बताएपछि आफूमाथि कार्यकक्षमै कुटपिट भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । 

उपाध्यक्षले गरेको कुटपिट र लछारपछारबाट आफू अन्यायमा परेको भन्दै दाहालले सार्वजनिक अपराध सम्बन्धी कसुरमा प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । 

कर्मचारीमाथि भएको दुव्र्यबहार विरुद्ध जिल्लामा रहेका बाह्रैवटा स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले संयुक्त विज्ञप्ति निकाल्दै गाँउपालिका उपाध्यक्ष रिमाललाई कारवाहीको माग गरेका छन् । उनीहरुले दोषीमाथि शीघ्र कारवाही हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । 
 

प्रमुख प्रशासकीय अधिकृत गाउँपालिका उपाध्यक्ष