समाचार

हेटौँडा–काठमाडौँ सुरुङ मार्ग प्रदेश ३ सरकारले बनाउने

हेटौँडा–काठमाडौँ सुरुङ मार्ग प्रदेश ३ सरकारले बनाउने

काठमाडौं । छोटो समय र कम दूरीमा हेटौँडा र राजधानीलाई जोड्ने उद्देश्यसहित निर्माणका लागि प्रस्तावित काठमाडौँ–हेटौँडा सुरुङ मार्ग निर्माण गर्न प्रदेश ३ सरकारले चासो देखाएको छ । 

सो सुरुङ मार्ग निर्माणको जिम्मेवारी पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले केही गर्न नसकेपछि प्रदेश ३ सरकारले चासो देखाएको हो । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी यो सुरुङ मार्ग निर्माण गर्न सन् २०१२ मा सरकार र नेपाल पूर्वाधार विकास कम्पनीबीच सम्झौता भएको थियो । सो सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद्को २०६९ वैशाखको बैठकले पारित गरेको थियो । 

प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले अब कुनै पनि बहानामा सरकारले विकास कार्यमा विलम्ब नसहने भन्दै हेटौँडा–काठमाडौँ सुरुङ मार्ग अब आफै निर्माण गर्ने निष्कर्षमा प्रदेश सरकार पुगेको जानकारी दिए । 

‘पेन्डिङ’मा रहेका प्रदेश ३ अन्तर्गतका योजनालाई सरकारले गतिशील बनाउने बताउँदै उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो सुरुङ मार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ समावेश गरी बजेट विनियोजन गर्ने तयारीमा जुटेको जानकारीसमेत दिए ।

'यो प्रदेशको तीव्र आर्थिक विकासका लागि सरकारले सुरुङ मार्ग निर्माणलाई नै प्राथमिकतामा राखेको छ जसअन्तर्गत हेटौँडा–काठमाडौँ सुरुङ मार्गसमेत पर्दछ', उनले भने । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

सुरुङ मार्ग