विचार कला साहित्य

जोशमा हुन्न होश

जोशमा हुन्न होश


घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु

 

सुमन स्मारिकाको यो गजल निकै चर्चित छ । सामाजिक संजालमा गजल सुन्दै वाह ! वाह ! भन्दै आपसमा शेयर हुने क्रम पनि त्यत्तिकै छ । गजल पुरानै भएपनि यसले बोक्ने भाव र दिएको सन्देश गज्जब छ । 

 


हुन पनि जवानी साँचेर के काम ? एकबारको जुनीमा जवानीको उपयोग गरेर तनमन किन आनन्दित नबनाउनु ? मरिजाने चोला न हो । गोपालप्रसाद रिमालले  आफनो कवितामा भने जस्तो, आउ हामी सहवास गरौं, म तिमीलाई गर्भाधान गर्छु । 

 


ओ युवती, ओ रुपवती,
अर्कोचोटि तिमीलाई भेट्दा
म तिमीलाई सोझै भन्नेछु
‘म तिमीलाई गर्भाधान गर्छु’

 

तर, जीवनमा होश पुर्याउन पनि जरुरी छ । कुमार बस्नेतको गीतमा भने जस्तो ‘ जोशमा हुन्न होश’ पनि त गर्नुभएन । अहिले नेपाली समाजमा जोशमा होश गुमाउँदा त थुप्रै विकृति बिसङ्गति देखा परेका छन् । 

 


किशोर किशोरी मात्र होइन विवाहइतर प्रेम तथा यौन सम्बन्ध राख्नेहरु पनि प्रशस्त छन् । अझ शहरी क्षेत्रमा त पत्नी तथा पति साटासाट समेत हुने गरेको सुन्न थालिएको छ । लामो समय श्रीमान श्रीमती छुट्टिनु पर्दाको नकारात्मक परिणाम दैनिक सुन्नमा आइरहेका छन् । 

 


प्रेम त नाम मात्र हो, चाहना त वासना नै हो । यौन नै हो । साँचो वा भनौ आत्मिक  प्रेम त भन्ने कुरा मात्र भएको छ । अझ यौनको पनि व्यापार हुन थालेको छ । सम्बन्ध पनि स्वार्थका लागि मात्र गाँसिन थालेका छन् । ती सम्बन्धमा कुनै लगाव छैन, प्रेम छैन, अनुभूति छैन, मात्र प्रेमको कृत्रिम लेपन । 

 


यिनै कारणले परिवार तथा समाजमा हिंसा बढेको छ । मानवीय संवेदना समाप्त हुन थालेको छ । निकै विकृति बढ्न थालेपछि अहिले अमेरिकाका विभिन्न राज्यमा कुनैपनि प्रकारको गर्भपतन निषेध गर्ने कानून पारित भएका छन् । 

 


नेपालमा आफनो शरीरमा आफनो अधिकार भन्दै गर्भपतनले मान्यता पाएका बेला संसारकै नेतृत्व गरिरहेको आधुनिक देश भनिएको अमेरिकामा यो प्रकारको कानून बनेपछि धेरै मानिस चकित परेका छन् । यद्यपी यो कानूनको विरोधमा प्रदर्शन भैरहेका छन् तर ती प्रदर्शनले पारित भएका कानून फिर्ता हुने सम्भावना छैन । 

 


पछिल्लो समय नेपालमा प्रविधि र देखासिकीले मात्र यौनतर्फ आकर्षित गरेको छैन, हाम्रा साहित्यकारले सृजना गर्ने कविता, गीत, गजलले पनि त्यसलाई मलजल गरेको पाइन्छ । अझ गीतको छायाङ्कनमा देखाइने कथावस्तुले ‘मल्टिरिलेसन’ लाई सामान्य नै बनाएको पाइन्छ । जुन कुरा हाम्रो कानूनले निषेध गर्छ, त्यो विषयवस्तुको कथा समेटिएका सामग्री राष्ट्रिय संचारमाध्यममा निर्वाधरुपमा प्रसारण भैरहेको हुन्छ । अर्को उदाहरण दिन्छु, गजलकार प्रकट पगेनी शिवको । 

 


साँझ थियो तिमी थियौ, हल्का हल्का मात थियो
जुनेलीको उज्यालोमा जवानीको वात थियो 

 

यहाँ पनि जवानीकै कुरा छ  । अर्थात भनौ मीठासपूर्ण यौनमा गएर गजल टुंगिन्छ । सुन्न त बडो आनन्द आउँछ । प्रेम र यौन मानव जीवनका लागि अपरिहार्य छन्, तर कहिलेकाहिं मन भड्काउन यस्तै सृजनाले काम गरिदिन्छन् । 

 

अर्की चर्चित गजलकार शीतल कादम्बिनीको गजल पनि यस्तै छ । यसलाई चर्चित गायक शिव परियाले गाएका छन् । 


कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ
समयले जवानी लुटेपछि आयौ 

 

गजलकार कादम्बनीको यो गजलमा पनि यौन भाव नै प्रकट भएको छ । जवानी हुन्जेल तिमी आएनौ, अब जवानी छैन, तिमी आएर के काम ? 
वास्तवमा यहाँ यदि प्रेम हो भने जवानी कुर्नुपर्ने किन ? जवानीमा मात्र प्रेम हुने हो र ? तर, गजलमा प्रेम भन्दा यौन पक्ष बढी हावी छ । 

 

 

प्रेमले सिंगारिएका यौन बाहुल्य सृजना हामीकहाँ प्रशस्त छन् । सृजनामा त एक हदसम्म इमान्दारी देखिन्छ तर मानिस प्रेम र यौन दुवैमा बेइमान हुँदै गएको छ । जंगली पारा बढी देखिन्छ । 

 

 

प्रेम र यौनको आवेगले जसरी सम्बन्धमा समस्या ल्याउँदै आपराधिक गतिविधिसमेत बढाइरहेको छ, त्यसले भविष्यमा थप विकराल समस्या निम्त्याउने देखिन्छ । एक बृद्धबाट बालिका र एक युवाबाट बृद्धासमेत बलात्कार भइरहेका बेला यौनजन्य गतिविधि बैंश अर्थात जवानीमा मात्र हुन्छन् भन्ने छैन । 

 

 

यौन भन्ने कुरा शारीरिक कम र मानसिक बढी हो । यसकारण यौनजन्य गतिविधि उमेर नियन्त्रित मात्र हुँदैनन् । मात्र ‘जोशमा हुन्न होश’ भन्ने उक्तिलाई गलत सावित गर्न सक्नु पर्यो ।