मनोरञ्जन कला साहित्य भिडियो कभर स्टोरी

एउटा गीत गाउन नमानेका जगजित सिंहले जब आलोकका १० गीत गाए

‘जगजित सिंहले  भारु एक लाख  बाटो खर्च दिए’ 

एउटा गीत गाउन नमानेका जगजित सिंहले जब आलोकका १० गीत गाए

कुन माया सदर भो, मेरो माया वदर भो
मैले देको माया भन्दा, जाली माया कदर भो

 

गीत संगीतका पारखी नेपालीहरुको मन मस्तिष्कमा अमिट भएर बसेको यो गजल भारतीय गजल गायक जगजित  सिंहले गाएका हुन् । यसमा  प्रसिद्ध संगीतकार आलोकश्रीको संगीत र जे.बी. संयोगीको शब्द छ । 

 

 

करिब १४ वर्षअघि रेकर्ड भएको यो गजल आज पनि उत्तिकै कालजयी छ । यो प्रकारका सुगम संगीतका श्रोता एवम दर्शकहरु नेपालमा प्रशस्त छन् । यति राम्रा कर्णप्रिय सदावहार गीत निकाल्ने संगीतकार आलोकश्रीको जगजितका बारेमा अचम्मको अनुभव छ । 

 

 

उनी भन्छन्, ‘मलाई जगजित सिंह एकदम मन पर्ने । उनलाई गीत गाउन नलगाई नहुने हुटहुटी । त्यो बेला केही नयाँ गर्नुपर्छ भन्ने भोक अलि बढी थियो । अनेक गरेर जगजित सिंह कहाँ पुगियो । गीत गाउन प्रस्ताव गरें । तर, जति गरेपनि उनले गाउनै मानेनन् । एक दिन होइन, दुई दिन होइन लगातार मैले अनुरोध गरिरहें । पछि के सोचे ख्वै, मेरो व्यवहार मन पराएर हो कि, उनी गाउन तयार भए । ’

 

आलोक थप्छन– ‘जगजित सिंह आफनो संगीतमा गाउन तयार भएपछि सार्है  खुशी लाग्यो । पछि त अचम्म के भयो भने, एउटा गीत गाउन भनेर आएका जगजितले मेरा दशवटा गीत गाए । २ वटा गीत त मैले स्टुडियोमै उनकै अगाडि कम्पोज गरे । त्यहीं मैले उनलाई सिकाएँ । उनले बडो राम्रोसंग गाए । स्टुडियोमै मैले गीत कम्पोज गरेको देखेर उनी बहुत प्रभावित भए । मेरो प्रतिभाको प्रशंशा पनि गरे ।’ 

 

">

जगजित सिंहले आफूहरुसंग कुनै पारिश्रमिक माग नगरेको  आलोक बताउँछन् । त्यसअघि लता मंगेशकर,  उषा मंगेशकर, आशा भोस्ले जस्ता गायिकाले नेपाली गीत गाइसकेकाले उनलाई पनि नेपाली गीत गाउने अभिलाषा रहेछ । हामीले जति दियौं, उनले त्यति नै लिए । 

 

 

तर, अचम्म जगजितले त हामीलाई भित्रभित्रै मन पराइसकेका रहेछन् । उनी विशाल हृदयका मालिक ।  हामी फर्किदा त उनले लौ केही किन्नु भनेर उल्टो एक लाख रुपैयाँ दिए । हामी नतमस्तक भयौं । जगजित महान कालाकार मात्र होइन रहेछन्, उनी त भगवान हृदय भएका मानवसमेत रहेछन् । 

 

 

एक समय नेपाली गीत संगीतमा भारतीय गायक गायिकाको बाढी जस्तै आयो । हामीले पनि ठूलो मेहनत गरेका थियौं । अहिले त्यो अवस्था छैन । आजभोलि नेपाली गीत गाउने भारतीय कलाकार कोही पनि छैन अथवा भारतीय कलाकारलाई नेपाली गीत गाउन लगाइएको छैन । 

 

गायक/गायिक संकटमा

 

संगीतकार आलोकका अनुसार अहिले सुगम गीत संगीतका सबै स्रष्टाहरु ओझेलमा छन् । अहिलेको समाजमा उत्ताउला गीत संगीतको बढी प्रभाव रहेकाले काम गरेपनि आफूहरुका सृजना ओझेलमा पर्ने गरेको उनको भनाइ छ । 

 

 

म आफै अनवरतरुपमा नयाँ नयाँ गीत तथा एल्बम निकालिरहेको हुन्छु तर चर्चा छैन । यू ट्यूबमा गएर आलोकश्री भनेर टाइप गर्नुस, मेरा नयाँ सृजना देखिन्छन् । तर, हिजो जस्तो चर्चा छैन । जबरजस्ती चर्चा गराउन अस्वाभाविक गतिविधि गरेर म हिँंड्दिन । सुगम संगीतका अन्य कलाकारको अवस्था पनि यही हो । 

 

">

अहिले रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई, अञ्जु पन्त जस्ता गायक गायिका पनि ओझेलमा देखिन्छन् । कुरा के हो भने धेरैजसो संगीतकारहरुले आफै गीत गाउन थाले । राम्रो गीत पायो कि उनीहरु आफै गाउँछन् । फाट्टफुट्टरुपमा कहिलेकाहिं मात्र गीत गाउने अवस्था भएपछि संकट देखिएको छ । 

 

 

१३ सय  बढी गीतमा संगीत

 

आलोकश्रीले १३ सय बढी गीतमा संगीत भरेका छन् । तर, अचम्म दर्जनौ यस्ता गीत पनि छन् जसबाट उनलाई ठूलो अपेक्षा थियो तर ती चलेनन् वा भनौ फ्लप भए । कतिपय खासै अपेक्षा नभएका गीत थिए, जसले अनपेक्षित रुपमा चर्चा लिए । 

 

 

उनी भन्छन्, ‘शर्मिला वर्देवाले गाएको फूलको जवाफ पत्थरले दिनेलाई..’ भन्ने यो गीतबाट मलाई खासै आशा थिएन । तर यसैले देश खायो ।  यस्तै, रामकृष्ण ढकालको स्वर र आनन्द अधिकारीको शब्द रहेको यो गीतबाट मलाई ठूलो आशा थियो, तर खासै चलेन । 

 

रातो सीमल फूल आँखैको अगाडि सेतो भैगयो
त्यै माया भनेर दिन होइन मेरो त जूनी गैगयो

 

पालुङटारमा कृषि फर्म

 

 

संगीतकार आलोकश्री गीत संगीतमा मात्र होइन संगीत पाठशाला र कृषि उद्यममा पनि लागेका छन् । उनले गोरखाको पालुङटारमा ४ बिगाह क्षेत्रफलमा तरकारी खेती सुरु गरेका छन् । 

 

 

पूरै अर्गानिक खेती भएको र यहाँबाट बेमौसमी तरकारी उत्पादन गरिरहेको उनी बताउँछन् । टमाटर, काउली, सिमी लगायत बिभिन्न प्रजातीका तरकारी लगाएर आफूले स्थानीयलाई रोजगारी दिनुकासाथै आम्दानी पनि राम्रै गरिरहेको  बताउँछन् ।  उनी भन्छन्, ‘कृषि फर्म, स्टुडियो र पाठशालामा कार्यरत स्टाफलाई महिनाको ५ लाख बढी तलब मात्रै बाँड्नु पर्छ । ’

 

 

आउँदो  चुनावमा  उम्मेद्वार 

 

 

संगीतकार आलोक मुलुकको अवस्थाप्रति दिक्क छन् । आफू मात्र होइन आफनो सर्कलका रामकृष्ण, यम वराल, राजेशपायल, दीपक लिम्बु लगायतका गायक, गायिका, संगीतकार लगायत सर्जकहरुकाबीचमा मुलुकको दयनीय अवस्थाका बारेमा छलफल हुने गरेको उनी बताउँछन् । 

 

 

उनी भन्छन्, ‘समस्या भनेको यो देशका नेता होइनन्, जनता हुन् । सबै प्रकारको विभेद सहने, नेता तथा कर्मचारीलाई सुविधा दिइरहने । हामी जनता पनि सुविधामुखी भयौं । एकछिन कष्ट सहन सक्दैनौ । एकछिनको सुविधाका लागि घुस दिएर भएपनि आफना काम छिटो गर्न चाहन्छौं । भ्रष्टाचारको जननी यहींबाट सुरु हुन्छ । ’

 

 

‘यो सब देखेर आउँदो चुनावमा उम्मेदवार हुने जोश पनि चलेको छ । हुन त मलाई राजनीतिमा रुचि छैन । म नेता पनि होइन । तर, के गर्नु देशको अवस्था देखेर आउँदो चुनावमा उम्मेदवार बन्ने इच्छा पलाइरहेको छ । त्यो अवस्था आयो भने पनि म राजनीतिक दलकातर्फबाट उम्मेदवार बन्दिन, स्वतन्त्र चुनाव लड्छु । ’ आलोकले आफनो कुरा टुंग्याए । 
">