फोटो पर्यटन कभर स्टोरी

सुनको छानो, सुनकै गजुर, मनकामना जाउँ  न है हजुर ! (फोटो फिचर)

मन्दिरको छानो र मलम्बामा १८ किलो सुन

सुनको छानो, सुनकै गजुर, मनकामना जाउँ  न है हजुर ! (फोटो फिचर)

भारतको पञ्जावस्थित अमृतसरमा रहेको ‘स्वर्ण मन्दिर’को गाथा सुनेका नेपालीले अब आफ्नै धर्तीकी प्रसिद्ध साक्षात देवी मनकामना माईको मन्दिर सुनकै छानो, सुनकै गजुरमा देख्न पाउने भएका छन् । मन्दिरको छानो र मलम्बामा १८ किलो सुन उपयोग भएको छ । 

तीन वर्ष लगाएर गरिएको पुनर्निर्माण सम्पन्न भएसंगै मनकामना माईको दर्शन गर्न भक्तहरुको भीड बढ्न थालेको छ । आन्तरिक र भारतीय दर्शनार्थीको आकर्षणले मनकामनामा यतिबेला आगन्तुकको चहलपहल तीब्रसंग बढेको छ ।

दैनिक ५ हजारको संख्यामा भक्तजन मनकामना पुग्ने गरेका छन् । यो केबुलकार उपभोग गरेर त्यहाँ पुग्नेको संख्या हो । गोरखा, खैरेनी, कुरिनटार हुँदै सडक र पैदल यात्राबाट  उल्लेख्य दर्शनार्थी थपिने गरेका छन् । 


गर्मी मौसममा मनकामनाको चिसो हावापानीमा रात गुजार्ने प्रशस्त भेटिए । कुरिनटारको तातो हपहपी, मनकामनाको जाडो थुरथुरी थोरै दूरीमा आकास जमिनको फरकले यात्रुलाई रोमाञ्चक बनाइदिन्छ । मनकामनामा दर्शनार्थीको चाप यति बाक्लिएको छ कि केबुलकारको टिकट काटन, लाईनमा जान, मन्दिरमा दर्शन गर्न दुई दिन वित्न थालेको छ । 

मन्दिर छेउछाउ लज प्रशस्त थपिएका छन् । काकाकुल मनकामना क्षेत्रमा अहिले प्रशस्त पानी छ । चारैतिरबाट सडक मार्गबाट मनकामना जोडिदैछ । यति हुँदाहुँदै पनि व्यापारका नाममा लुटतन्त्रले बढावा पाउँदै आएको पीडा हरेक तीर्थयात्रुले प्रत्यक्ष भोग्छन् ।

सडकमार्गले जोडिएपछि खाद्य सामग्री सर्वसुलभ हुुनु साटो झ्नझ्न मूल्य आकाशिएको छ । घरैपिच्छे अलग अलग भाउ छ । मन्दिरमा जम्मा हुने भेटीको पारदर्शिताका विषयमा पनि बेला बेलामा बहस हुने गरेको छ । 


मनकामना माईको मन्दिर समुन्द्र सतहबाट १३ सय २ मिटरको उचाईमा छ । प्राकृतिक सौन्दर्यले ओतप्रोत यस तपोभूमिमा हरिया जंगलसंगै बक्रेश्वरी र त्रिवेणी मन्दिर रहेको छ । अन्नपूर्ण, हिमचुली, धौलागिरी, गणेश, मनास्लु र माछापुच्छ्रे जस्ता मनमोहक हिमश्रृंखला र त्यसको फेदीबाट बगेका नदीनाला र स्वच्छ हावाले यहाँको वातावरण आकर्षक बनाएको छ । 


मनकामना माईको मन्दिरले ३ सय ५० वर्ष पुरानो इतिहास बोकेको छ । १३ मिटर उचाईको यो मन्दिरमा दक्षिणतर्फ मात्र एउटा ढोका छ । बज्र र कलात्मक अग्राखबाट निर्मित यो मन्दिर पृथ्वीपति शाहको शासनकालमा बनेका देवलहरुको सूचीमा समावेश छ ।

मन्दिरको प्रवेशद्वार स्वर्णपाताले मोरिएको छ । खापामा विसं १८५९ ताका सुरविर रानाको अभिलेख छ । यो मन्दिरमा थापामगर पुजारी छन् । मगर पुजारी हुनुमा आफ्नै किंवदन्ती छ । गोरखाका राजा राम शाहकी रानी लीलावतीले देहत्याग गरेपछि मनकामना देवीको रुपमा कफेक डाँडामा शक्तिरुपा उत्पन्न भई लखन थापाले पूजा आरम्भ गरेका थिए ।

 


मनकामना मन्दिर मातहत जग्गा जमिन छ । श्रोत, साधनको खाँचो छैन् । पहिलो चरणमा आकर्षक मन्दिर निर्माण भएको छ । दोस्रो चरणमा भक्तजनका लागि पूर्वाधार बनाउन आवश्यक छ ।

धर्मशाला, पाटीपौवा, मन्दिरको सरसफाई, बत्ती, पार्क, धारा, शौचालाय, बजार क्षेत्रमा बन्ने संरचना कलात्मक बनाउने दायित्व मन्दिर व्यवस्थापन समितिको छ । यस्ता रचनात्मक काममा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको सहयात्रा उत्तिक्कै खाँचो छ । 


आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको यस ठाउँलाई मुलुककै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अवसर र चुनौती दुवै छ ।

हिन्दु र बौद्ध धर्मालम्बीको समान आस्था बोकेकाले पनि यसको महत्व झन्झन् फराकिलो बन्दै जाने निश्चित छ ।

यहाँ आउने धार्मिक पर्यटकलाई त्रिवेणी, मनकामना, बक्रेश्वर, लखन थापा गुफा, ताक्लुङ, घैरुङ, बुङ्कोट, बुढीगण्डकी परियोजना हुँदै गोरखा दरबारदेखि पोखरासम्मको धार्मिक सर्किट तयार गर्न सके यसक्षेत्रको विकासमा कायाकल्प हुने विश्वास गर्न सकिन्छ ।

  

मनकामना सुनको छानो