फोटो पर्यटन अभिलेख

घनाबस्तीमा अद्भूत संग्रहालय (फोटोफिचर)

राजु सुवेदी ‘कल्पित’

घनाबस्तीमा अद्भूत संग्रहालय (फोटोफिचर)

डिल्लीबजार र घट्टेकुलोबीचको घनाबस्ती । यही बस्तीको माझमा एउटा सामान्य घरभित्र अद्भूत कलाको संग्रहालय छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । सिंहदरबारदेखि चिया पसलसम्म सरकारले यसो गरेन, उसो गरेन भनेर असन्तुष्टिका स्वरहरु उठिरहँदा एउटा परिवार चुपचाप कलाको साधनामा जुटिरहेको छ । न कसैको आस, न कसैको त्रास । बरु यी अमूल्य कला कतै लोप होला कि भन्ने भयले रातदिन चिमोटिरहन्छ । उही गोविन्दबहादुर गुरुङ यो अद्भूत कलाका सर्जक हुन् । उनका बाजे दरबारका जर्नेल थिए । राणाजीका दरबारमा सजाइएका मृत जनावरका अंगबाट बनेका जीवन्त कलाले उनलाई तान्यो ।


जतिबेला ती कलाकृति विदेशबाट झिकाइन्थे । आजभन्दा ६ दशकअघि उही गोविन्दबहादुरलाई लाग्यो– नेपालीकरण गरेर यो कलालाई नेपाली मौलिक सीप, ज्ञानमा किन नढाल्ने ? यही इच्छाशक्तिले जन्मायो यो अलौकिक कलायात्रा । उनीभित्र कतिसम्म भूत सवार थियो भने आफ्नै खर्चले यो कलासम्बन्धी ज्ञानका लागि उनी जर्मनी पुगे ।  स्याङ्जाबाट पोखरा हुँदै काठमाडौं छिरेका उही गोविन्दबहादुरका पिताको राणासंँगको उठबसले छोरालाई कालिगढ बनाउन मद्दत ग¥यो । बाबुको यही पेसालाई निरन्तरता दिइरहेका ५७ वर्षीय मदन गुरुङ शुरुवातका ती दिनलाई यसरी स्मरण गर्छन । 


गोविन्दबहादुर यो संसारमा छैनन् । उनले देखेको सपना र सीप यति जीवन्त छन कि मानौं प्रत्येक कलाभित्र बाँचेका छन् । अनि भनिरहेका छन– ‘म मरेपनि मेरो कृति नमार । आउँदो पुस्तालाई नासोका रुपमा यसको संरक्षण गर ।’ मरेका जनावरको शरीरभित्र यस्ता जीवन्त कलाका यी शिल्पीको साधना सतिसालभन्दा कम थिएन । यही कलाको मर्मभित्र उनको तप, जप वित्यो । एक्लो साधनाबाट गोविन्दबहादुर पाँचसय जाति प्रजातिका जनावर, चराचुरुङगीका कला छोडेर गएका छन् । जहाँ झण्डै सात दशकअघि देखिका कला बाँचेका छन् । 


हुने खाने बाउका छोरा मदन शोखको कुनै पेसामा जान चाहन्थे तर बाबुको मेहनत, पसिना र अन्तिम इच्छा बुझेपछि उनलाई लाग्यो– मैले यी कलाको संरक्षण गर्न सकिन भने महापाप हुन्छ । त्यसैले उनी पनि होमिए टयाक्सीडर्मी कलायात्रामा । उही गोविन्दबहादुरले कलायात्रा शोखबाट शुरु गरेका थिए । कालान्तरमा यसले बृहद कला संग्रहालयको रुप लियो । संग्रहालयमा के को कलाकृति छ भन्दा पनि के छैन भन्ने हो । मदन आठ, पाँच आउने काम बाहेक संरक्षणको पिरलोमै दिनरात हुटहुटिरहन्छन् । 


ट्याक्सीडर्मी भन्ने यो कला कतिपयका लागि नौलो पनि हुन सक्छ । ट्याक्सी डर्मी भनेको पशुपंक्षीको शरीर प्रदर्शन तथा अध्ययनका लागि केही वस्तुहरु मृत शरीरमा भरेर राख्ने वा सुरक्षित राख्ने काम वा कला हो । ट्याक्सी डर्मी भन्ने शब्द ग्रीकभाषाको ट्याक्सी डर्माबाट आएको हो । जसमा ट्याक्सको अर्थ चल्नु र डर्माको अर्थ हुन्छ छाला । 


अर्थात पशुपंक्षीको छाला झिकेर त्यसभित्र अरुवस्तु हाल्ने र पशुपंक्षीलाई जीवन्त जस्तै बनाउने कला ट्याक्सीडर्मी हो । यो कलाको संग्रहालयमा जीवविज्ञानका विद्यार्थीहरु शैक्षिक भ्रमणमा कहिलेकाहीँ आएर अनुगमन गर्ने बाहेक अरु उपलब्धी हासिल हुन सकेको छैन । त्यसै पनि महँगो र दुर्लभ कला बनाउन जति कठिन छ, संरक्षणमा पनि त्यति नै टाउको दुखाई छ । बस्नका लागि बनाइएको घर, घरायसी चाँजो नमिल्दा अहिले एउटै कोठामा थुपारिएको छ । संग्रहालयमा के छैन ? विदेशी च्यानलमा देखेका नयाँ पुस्ताले यहाँभित्र अजिंगर, बाघ, भालुदेखि सानोमा चराजत्रो खरायो पनि हेर्न पाउँछन् । दिनप्रतिदिन यी कला संकटको अवस्थामा छन् । हातमा सीप छ । मदन भन्छन– कमिलादेखि हात्तीसम्म संरक्षण गर्न सकिन्थ्यो तर न काम गर्ने ठाउँ, न कसैको प्रोत्साहन । 


मदनलाई अर्को एउटा दुखले पिरोलिरहन्छ– आपूmले त जेनकेन यो कलायात्रालाई यहाँसम्म धकेलियो । आफ्नो एकमात्र सन्तान विदेशमा छन् । उनलाई बाउबाजेले पसिना बगाएको कलाप्रति कुनै मोह छैन । बाबुको नाममा सरकारले कुनै ठाउँ दिएर म्युजियम बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । यसका लागि उनले कुन सरकारी निकाय धाएनन ? तर सुन्नेहरु सुन्छन काम गर्दैनन् । एक वर्ष, दुई वर्ष हुँदै दशकौं बित्यो प्रयास थालेको तर अहिलेसम्म सिन्को सार्ने काम भएको छैन । संस्कृति मन्त्रालय, पुरातत्व विभागमा गरिएका प्रयास असफल भएका छन् । तर उनले मन मारेका छैनन । 


मानिस स्वभावतः प्रयोगवादी जात हो । नयाँनयाँ प्रयोग चाहन्छ । अझ एउटा सिद्धहस्त कलाकारले कलाभित्र अनौठो प्रयोग खोज्नु अनौठो होइन । विश्वका होचा नेपाली नागरिक ७२ वर्षीय चन्द्रबहादुर डाँगीको शब ट्याक्सीडर्मी गरेर दुर्लभ कला बचाउने प्रस्ताव आएको थियो । यस्तो प्रस्तावले उनी कम उत्साही भएका थिएनन । तर नेपालमा कानुनको अभाव र राख्ने ठाउँको समस्याले गर्दा त्यो अवसर गुमेकोमा उनलाई चुकचुक भइरहेको छ । 


व्यक्तिको घरमा राखिएको देखिए पनि यो अमूल्य कला देशको निधि हो । यदि नष्ट भयो भने यसको क्षतिपूर्ति कतैबाट हुन सक्दैन । एउटा व्यक्तिको इच्छाशक्तिबाट देशको कला ढुकुटी भर्न लगाइएको यो गुनको जति प्रशंसा गरेपनि अधुरो हुन्छ । कलालाई बुझ्न मनभित्र अर्को कला हुन जरुरी छ । त्यसैले यो अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई दिएको नासो संरक्षणका लागि सबैले आफ्नो ठाउँमा सहयोग गर्न जरुरी छ । 

ट्याक्सीडर्मी गोविन्दबहादुर गुरुङ म्युजियम