समाचार

काठमाडौंमा ‘स्काई रेल’ चलाउन चीनको प्रस्ताव, दुई वर्षमा निर्माण सम्पन्न

काठमाडौंमा ‘स्काई रेल’ चलाउन चीनको प्रस्ताव, दुई वर्षमा निर्माण सम्पन्न

काठमाडौं । चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल चलाउने प्रस्ताव गरेको छ । बेइजिङ चाइना एयर रेल ग्रुप (सिसिएआर) ले लगानी बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा स्काई रेल चलाउन प्रस्ताव गरेको हो । सिसिएआरले पहिलो चरणअन्तर्गत २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । ‘लगानी बोर्डका अध्यक्षसमेत भएका कारणले होला प्रधानमन्त्रीलाई सम्बोधन गरेर प्रस्ताव प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘हामीले प्रस्तावपत्र लगानी बोर्डमा पठाइसकेका छौँ, यस विषयमा अध्ययन भइरहेको छ ।’

 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग भएको छलफलका आधारमा काठमाडौंमा स्काई रेलको सम्भावनाबारे अध्ययन गरेको कम्पनीका नेपाल प्रतिनिधि घनश्याम अधिकारीले जानकारी दिए । सिसिएआरका अनुसार काठमाडौंको चक्रपथमा पाँच हजार यात्रु बोक्न सक्ने स्काई रेल चलाउन सकिनेछ । ‘अहिले एक घन्टामा पाँच हजार यात्रु बोक्न सक्ने क्षमताको रेल सञ्चालनका लागि प्रस्ताव गरेका छौँ,’ अधिकारीले भने, ‘यसको क्षमता विस्तार गरी १० हजार पुर्याउन सकिन्छ ।’ सिसिएआरले दुई वर्षभित्र आफ्नै लगानीमा स्काई रेल निर्माण गर्ने दाबी गरेको छ । रेल २८ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उसको प्रस्ताव छ । काठमाडौंमा चैतमा भएको लगानी सम्मेलनबाट आफू प्रभावित भएको कम्पनीको दाबी छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

स्काई रेल