अपराध सुरक्षा

आइजीपी खनाल फ्रान्स प्रस्थान

आइजीपी खनाल फ्रान्स प्रस्थान

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहीबार फ्रान्सको लियोन प्रस्थान गरेका छन् ।

 

चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं Heads of National Central Bureau (NCB) सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष आयोजना हुने सम्मेलनमा NCB नेपालको प्रमुखको रुपमा महानिरीक्षक खनालले सहभागिता जनाउन लागेका हुन् ।

 

सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट NCB हरुको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुनेछ । विकसित नयाँ प्रविधिमा साक्षात्कार एवम् अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै भावी रणनीति तय गरी कार्यान्वयनमा लैजान विभिन्न सदस्य राष्ट्रहरुबीच द्विपक्षीय छलफलका साथै एसिया तथा दक्षिण प्यासिफिक क्षेत्रीय गोलमेच छलफल समेत हुने कार्यक्रम रहेको छ ।

 

प्रविधि एवम् प्राविधिक क्षेत्रमा भएको परिवर्तन, आतंकवाद र आतंककारी क्रियाकलाप, साइवर अपराध, डार्क-नेट, क्रिप्टो करेन्सिज, डिएनए, फिङ्गरप्रिन्ट डाटावेश तथा फेसियल रिकगनिसन लगायतका विषय र ती विषयका चुनौती तथा समाधानका पक्षमा समेत सम्मेलनमा विशेष छलफल हुने कार्यक्रम तय गरिएको बताइएको छ ।