अपराध सुरक्षा समाचार मुख्य समाचार समाज

कहालीलाग्दो बालयौन दुर्व्यवहार

कहालीलाग्दो बालयौन दुर्व्यवहार
  • राजेश शर्मा

धनुषाको तुल्सी गाउँपालिकाका २६ वर्षीय कुलमणि थापाले  ५ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भयो । प्रहरीले थापालाई पक्राउ गर्‍यो । बालिकाको स्वास्थ्य परीक्षणबाट उनी बलात्कृत भएको प्रमाणित भएपछि थापालाई जवरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको छ । मकवानपुरको राई गाउँका ७१ वर्षीय ढोलबहादुर राई १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे । भैंसी चराउन गएको बेला चकलेट दिई फकाएर बलात्कार गरेको बयान बालिकाले दिएकी छन् ।

यी माथिका २ वटा घटना बालयौन दुर्व्यवहारका प्रतिनिधि घटना हुन् । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र प्रहरीमा दर्ता भएका घटना हेर्दा कहालीलाग्दो अवस्था छ । एक महिनाभित्र २२ वटा बालयौन दुर्व्यवहारका घटना प्रहरीमा दर्ता भएको छ । उमेरले नेटो काटेका, समाजका प्रतिष्ठित व्यक्ति, नजिकैका नातेदार मात्र हैन जन्म दिने  बाबुसमेत यस्ता अपराध कर्ममा लिप्त देखिएका छन् । बालयौन दुर्व्यवहारका घटना बाक्लिएको प्रहरी तथ्यांकले पुष्टि गर्छ ।

सिन्धुली जिल्लाको ककुरठाकुर गाविसका ६५ वर्षीय मानबहादुर तामाङले ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भयो । तामाङले घटनाको बारेमा कसैलाई नभन्न धम्की दिएका कारण बालिकाले आफ्नो पीडा कसैलाई भन्न सकिनन् । तर, उनको दिनचर्या परिवर्तन भयो । कसैसँग नबोल्ने, खाना नखाने गर्न थालेपछि बालक्लबका प्रतिनिधिले सोधपुछ गरी घटना सार्वजनिक गरे । तर, तामाङ अहिले बेपत्ता छन् ।

तामाङको  खोजी भइरहेको प्रहरीले बताएको छ । साविकको बर्दिया बानियाभार गाविसका एक बाबुलाई आफ्नै ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बाबुले छोरीलाई जवरजस्ती बलात्कार गरिरहेको देखेपछि गाउँलेले समाएर प्रहरीलाई बुझाएका थिए । यसअघि पनि आरोपीले गाउँकै ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक खड्कबहादुर भण्डारीले जानकारी दिए ।

यसैगरी, साविक अर्घाखाँची चिदी गाविसका २५ वर्षीय प्रकाश पाण्डेले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । पाण्डेले घरमा बाबुआमासँगै रहेकी बालिकालाई काम छ आऊ भनी नजिकैको जंगलमा लगेर बलात्कार गरेको बालिकाले बयान दिएकी छन् । पाण्डे फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले बताए ।

साविकको कास्की सराङकोट गाविसका ७५ वर्षीय टेकबहादुर थापाले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थापालाई प्रक्राउ गरी जबरजस्ती करणीको मुद्दा चलाइरहेको छ । सिन्धुपाल्चोक ठूलोशिरुबारीका ५२ वर्षीय एक व्यक्तिले  नातिनी नाता पर्ने ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गर्‍यो । आफ्नै घरमा बसिरहेकी बालिकालाई काम छ भनी बोलाएर नजिकैको बारीको कुनामा लगेर उनले बलात्कार गरेका थिए ।

संखुवासभा माम्लिङका १६ वर्षीय किशोरले ७ वर्षीया बालिकालाई बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दर्ता भयो । बालकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । भरतपुर नगरपालिका गणेशस्थानका ६५ वर्षीय शेरबहादुर थापाले दिउँसोको समयमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको भनी पीडितका परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालय भरतपुरमा थापाविरुद्ध जाहेरी दिए । जाहेरीलगत्तै प्रहरीले थापालाई पक्राउ गर्‍यो ।

नवलपरासी रामग्राम नगरपालिकाका १८ वर्षीय विक्रम यादवले ७ वर्षीया बालिकालाई आफ्नै घरमा बोलाएर बलात्कार गरे । यादवले ललाइफकाई बालिकालाई बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालय परासीमा जाहेरी दर्ता भएकोमा यादवलाई प्रहरीले पक्राउ गर्‍यो । कालिकोट मान्मका १६ वर्षीय बालकले ५ वर्षीया बालिकालाई बलात्कार गरेको भनी १२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भयो । घरमा कोही नभएको मौका पारी दिउँसो ३ बजे बालिका बलात्कृत भएको र आफू कामबाट घर फर्कदा रक्ताम्य अवस्थामा छोरीलाई फेला पारेको बालिकाकी आमाले जाहेरीमा उल्लेख गरेकी छन् ।

मोरङ उर्लाबारीका ३५ वर्षीय मामाले आफ्नै १३ वर्षीया भान्जीलाई बलात्कार गरे । सोही दिन प्रहरीमा जाहेरी दर्ता भए पनि पीडक फरार रहेको प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिए । संखुवासभा हटियाका २७ वर्षीय च्याङडुक भोटे र मकालु गाउँपालिकाका १९ बर्षीय भुपाल कार्कीलाई जिल्ला अदालत चैनपुरले १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरेको छ । दुई युवाले बालिकालाई खाँदबारीको यात्री होटलमा लगी बलात्कार गरेका थिए ।

बैतडीको सिगासका ३५ वर्षीय रामसिंह साउदले १७ वर्षीया किशोरीलाई साउन  गरे । सोही दिन प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि प्रहरीले साउदलाई पक्राउ गर्‍यो । धनकुटा नगरपालिका २ का ५१ वर्षीय अमर वाग्लेले ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

उदयपुर पञ्चावतीका २६ वर्षीय नवराज कोइरालाले १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गर्‍यो । प्रहरीकाअनुसार राति ८ बजेतिर बालकलाई  कोइरालाले बलात्कार गरेका हुन् । यसैगरी दैलेख बराहका ४५ वर्षीय बिर्खबहादुर विकले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गर्‍यो । विकले शारीरिक तथा मानसिक समस्या भएकी बालिकालाई दिउँसो घरमा एक्लै बसिरहेको अवस्थामा साउन ४ गते बलात्कार गरेका हुन् ।

नाताले फुपाजु पर्ने विकले फकाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । कैलाली मालाखेतीका २१ वर्षीय प्रकाश कामीले १७ वर्षीया किशोरीलाई बलात्कार गरी झुण्ड्याएर हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मालाखेतीमा मृतकका बाबु पदम सुनारले जाहेरी दिएका छन् । जाहेरीपछि कामीलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

बालयौन दुर्व्यवहारका घटना प्रायजसो बालबालिकाको विद्यालय बिदा भएको बेला बढी हुने गरेको पाइएको छ । बालमनोविज्ञ डा. नन्दिता शर्मा भन्छिन् ‘असार साउन र दशैँ-तिहारतिर बालबालिकाको विद्यालय लामोसम्म बन्द हुने र मानिसहरू पनि कामबाट फुर्सदिलो हुने भएका कारण यो समयमा बालयौन दुर्व्यवहारका घटनामा वृद्धि भएको हो ।’

यौन दुर्व्यवहारबाट बच्न बालबालिका र अभिभावकले देहायका सचेतता अपनाउन जरुरी छ ।

१) छिट्टो कसैलाई विश्वास नगर्ने ।

२) सकेसम्म एकान्तमा कसैसँग नभेट्ने ।

३) आफूप्रति अरूको ध्यान किन बढी वा कम छ भन्नेमा सचेत रहने ।

४) अरूले गरेको माया, सहयोग र प्रशंसा किन मलाई नै त भन्नेमा आत्मसमीक्षा गर्ने ।

५) म अरूभन्दा के फरक छु र मलाई महत्त्व दिएको भनी  सचेत रहने ।

६) आफूसँग कुरा, हिँड्न, बस्न खोज्नेसँग सचेत रहने ।

७) कसैले यौन दुर्व्यवहार गर्‍यो, गर्न खोज्यो वा लक्षण देखायो भने विश्वासिलो अभिभावक या शिक्षकसँग कुरा गर्ने ।

अभिभावक

१) आफ्ना छोराछोरीको व्यवहारप्रति सचेत रहने ।

२ उनीहरूको संगत, बोलीचाली, नियमित काममा भइरहेको परिवर्तनप्रति निगरानी राख्ने ।

३) उसले उठाएका विषयमा दबाब नदिई उनीहरूको भावनालाई कदर गर्दै सन्दर्भ अगाडि बढाउने ।

४) यौन दुर्व्यवहारका बारेमा छोराछोरीसँग छलफल गर्ने ।

५) यदि कसैले यौन दुर्व्यवहार गरेमा छोराछोरीलाई गाली नगर्ने, सम्झाउने र कानुनी बाटो अवलम्वन गर्ने ।

६) छोराछोरीमा देखिएको परिवर्तन वा उनीहरूमा टोलाउने, एकोहोरिनेजस्ता समस्या आए बालमनोविज्ञको सहयोग लिने ।

यस्ता घटना भएमा नजिकैको प्रहरी कार्यालय, प्रहरीको हटलाइन एक सयमा खबर गर्न सकिन्छ । बाल हेल्पलाइन १०९९ (दश–नौ–आठ) र १६६०-०१-१०,००० मा खबर गर्न सकिन्छ ।


यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

बालयौन दुर्व्यवहार

विशेष