मेरो परिवार मेरो कथा कभर स्टोरी

कलम समाउने कलिला हातमा 'कुरुस'

कलम समाउने कलिला हातमा 'कुरुस'
  • समिर सागर

उपत्यकाका विभिन्न घर तथा टहराहरूमा करिब-करिब २४ सै घण्टा बत्ती निभ्दैन । तिनै बत्ती ननिभ्ने घरटहरामा उमेरले भर्खर विद्यालय जाने र आमाबाबुसँग घुर्की लगाउने उमेरका बालबालिका रातभर जागा हुन्छन् । उनीहरू कुनै खुसी वा मनोरञ्जनको लोभमा जागा बसेका होइनन् । रातविरात काम गर्नु यी बालबालिकाको बाध्यता हो ।

बाबुबाजेले वा अभिभावकले पूरा गर्न नसकेका घरका अनगिन्ती आवश्यकता र परिवारको भोक बोकेर राजधानी छिरेका यी बालबालिका रातभर काम गर्छन् । अझ कानुनी र मानवीय हिसाबले भन्ने हो भने यस्ता कुनै पनि कामलाई नैतिक मान्न सकिन्न । यिनीहरूको उमेरअनुसार यो बर्जित छ । तर, कानुन  एउटा व्यवहारमा भोगाई अर्कोको विडम्बना यिनीहरूको थाप्लोमा पनि बेस्सरी परेको छ । यस्ता बालबालिकालाई काममा लगाउनुहुन्न भन्ने त धेरैलाई थाहा छ ।

तर, थाहा पाउनुले यहाँ केही अर्थ राख्दैन । यहाँ त यी कलिला हातहरू रातविरात मेसिनजस्तै चल्न बाध्य छन् । उनीहरूको बालमस्तिष्कलाई सुनौलो भविष्यको कुनै जानकारी छैन् । थाहा छ त परिवारको गरिबी र अभाव । गरिबी र अभावको जाँतोमा पिसिएर उमेर र अनुभवभन्दा पाका भएका कैयन बालबालिकाले गरिबी टार्ने विकल्प देखेको पेशामध्ये एक हो– बजारमा महँगो दाममा बेचिने सारीहरूमा झलक्क टल्किने बुट्टा वा सितारा ।

हो सारीमा भरिने जरी र सिताराका साहुहरुले कयौं बालबालिकालाई गरिबी मेटाइदिने आशा देखाएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र यस्ता कैयन घर टहरा छन, जहाँ विद्यालय जाने उमेरका यस्ता बालबालिकालाई जरी र सितारा भर्ने काममा लगाइन्छ । उपत्यकाका तीन जिल्लामा मात्र करीब ६० वटा जरी सितारा भर्ने कारखाना छन् । यी कारखानाहरूमा करिब ४ सय बालमजदूर काम गर्छन् । यसरी काम गर्ने बालबालिकाको उमेर १४ वर्षभन्दा माथि छैन् । त्यसमा पनि ९ देखि १२ वर्षसम्मका बालबालिकाको संख्या बढी छ ।

जरी सिताराको काममा बालिकाको संख्या न्यून छ । भौगोलिक रूपमा सबैजसो बालबालिका तराईमूलका छन् । यस्ता कारखाना चलाउनेहरू पनि तराईमूलकै छन् । यही कारण पनि यसरी कुबेलाको श्रम बेच्न राजधानी छिर्ने बालबालिका उनीहरूका आफ्नै गाउँछिमेकबाट ल्याइएकाहरू हुन् । यसरी काम गर्ने बालबालिका सबै गरिबीकै कारण यहाँसम्म आएका छन् । आफूले कमाएको पैसाले घरकै गरिबी हटाउने आशामा बालश्रम बेचिरहेका छन् । बालअधिकारका कुनै पनि घोषणापत्र, सन्धि वा कानुनले बालश्रमलाई वैध मान्दैन । बालअधिकारकै क्षेत्रमा काम गर्ने संस्थाहरूको पनि कमी छैन् । कानुनले तोकेका मापदण्डको पनि अभाव छैन् । तर कलम समाउने हातमा कुरुस चलिरहेका छन् ।

एउटा सामान्य वयस्क मानिसका लागि पनि ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने विश्वव्यापी मान्यता छ, तर यी बालबालिका दिनमा कति घण्टा खटिन्छन् ? यिनको पारिश्रमिक कति हो ? यिनले खाने खानामा यही उमेरका बालबालिकाका लागि हुनैपर्ने भनिएको पोषण छ कि छैन त्यसको कुनै टुंगो छैन् । कारखाना सञ्चालकहरू हाक्काहाकी यसखाले श्रमबाट आफूहरूलाई फाइदा हुने बताउँछन् । बालबालिकालाई काममा लगाएर श्रमशोषण नभई पारिवारिक कल्याण गरेको उनीहरूको दाबी छ ।

एक त श्रम गर्न नहुने उमेर, त्यसमाथि श्रमका लागि  तोकिएका मापदण्ड पनि यी बालबालिकामा लागू हुँदैन । त्यो कसरी भने सामान्यतया कुनै पनि पेशा वा रोजगारीमा काम गर्ने अधिकतम समय ८ घण्टा हो । तर, सारीमा जरी सितारा भर्ने यी बालबालिका दैनिक १५ घण्टा काम गर्छन् । त्यो पनि कुबेलामा ।

पारिश्रमिकको त कुरै नगरौं, यस्तो कडा मेहनत गरेर पनि कमाई महिनाको २५ सय नाघ्दैन । उनीहर"को तलब ठेकेदारले सोझै अभिभावकलाई बुझाउँछन् ।

यसरी कुबेला सुत्ने र कुबेला काम गर्ने बालबालिकाले खाने खाना कस्तो होला ? विश्वव्यापी रूपमा बालबालिकाको खानामा हुनुपर्ने पोषणको मात्र तोकिएको छ । तर, यी बालबालिकाको खानामा पोषणको न्यूनतम आधार पनि पाइन्न । यसरी अपूरो पोषण, सस्तो पारिश्रमिक र सानै उमेरमा श्रम बेचिरहेका कैयन बालबालिकालाई पारिवारिक बेमेल, अभाव, गरिबीले उमेरभन्दा निकै पाको बनाएको छ । उनीहरू जरी सिताराको कामलाई ‘इलम’ मान्छन् । यो इलममा सानै उमेरमा यिनीहरूले प्रगति पनि गरिसकेका छन् । यहाँ काम गर्ने बालक जुलिन अन्सारी भविष्यमा जरी कारखानाकै साहु बन्ने सपना देख्छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सन्धि-महासन्धिले बालश्रम रोक्नेदेखि बालबालिकाले उमेरअनुसार पाउनुपर्ने अधिकार पनि सुनिश्चित गरेको छ । तर, अन्तर्राष्ट्रिय श्रम संगठनकै तथ्यांकले पनि विश्वभर २१ करोडभन्दा बढी बालश्रमिक छन् । तीमध्ये १२ करोड बालबालिका जोखिमपूर्ण श्रममा संलग्न छन् । नेपालमा मात्र साढे २१ लाख बालश्रमिक रहेको तथ्यांक छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको महासन्धिले १५ वर्ष उमेरका बालबालिकालाई पनि हलुका काम मात्र लगाउन सकिने प्रावधान राखेको छ । विश्वका करिब १ सय राष्ट्र सदस्यले हस्ताक्षर गरेको महासन्धि आइएलओका सदस्य राष्ट्रमै लागू भएको छैन । आइएलओले सन् २०१६ सम्ममा विश्वबाट बालश्रम अन्त्य गर्ने लक्ष्य राखेको छ । तर, अहिलेसम्म भएका प्रयासबाट लक्ष्य नभेटिने पनि आइएलओको भनाइ छ ।

त्यसो त नेपालले पनि सन् २०२० सम्म सबैखाले बालश्रम अन्त्य गर्ने लक्ष्य राखेको छ । २०१६ सम्ममा निकृष्टखाले बालश्रम अन्त्य गर्ने सरकारको लक्ष्य छ । नेपालका आन्तरिक कानुनहरूले पनि बालबालिकालाई काममा लगाउन बर्जित गरेका छन् । तर, राजधानीमै खुलेआम बालश्रम शोषण भइरहेको छ । विद्यालय जाने उमेरका बालबालिका सस्तोमा श्रम बेचिरहेका छन् । के यी बालबालिकाको बालअधिकार हनन् भएको छैन् ? कलम समाउने कलिला हातमा कुरुस सुहाएको छ  त ? यो प्रश्नको उत्तर सजिलो छैन ।

यो सामग्री पब्लिक न्युज एजेन्सीको सहयोगमा तयार पारिएको हो।

बालबालिका कलिला हातमा कुरुस