परिवार कला साहित्य

 प्रेमपत्रमा बर्नाड शाको आक्रोस– ‘ए दुष्ट ! म तलाई टुक्रा-टुक्रा गर्न चाहन्छु’

 प्रेमपत्रमा बर्नाड शाको आक्रोस– ‘ए दुष्ट ! म तलाई टुक्रा-टुक्रा गर्न चाहन्छु’

विश्वविख्यात व्यक्तित्वहरूको प्रेम प्रसंगमा जर्ज बर्नाड शाको नाम अग्रपंक्तिमा आउँछ । उनकी प्रेमिका बेलायती अभिनेत्री क्याम्पवेल थिइन् ।

यी जोडीबीच बाक्लै मनमुटाव भइरहन्थ्यो । यद्यपि समझदारीका कारण यिनीहरूको सम्बन्ध मित्रवत रह्यो । बिरामी क्याम्पवेल सन्चो भएपछि केही दिनका लागि आराम गर्न सेण्डबिचको समुद्र तट गइन् । शा त्यहीँ गए । उनीहरूको झगडा शुरु भयो । झगडा तँतँ र ममको स्थितिसम्म पुग्यो ।  क्याम्पवेल रिसले आगो हुँदै भन्छिन्– ‘तिमी यो ठाउँ छोडेर जाउ, नत्र म आफैँ जान्छु ।’

धम्की सुनेर शा टसको मस भएनन्, बश्र क्याम्पवेलले नै शहर छोडिन । यो अपमानले उनको प्रतिष्ठामा ठूलो चोट पुग्यो । आक्रोशित उनले व्यंग्यको तीर हान्दै एकैदिन तीनवटा चिट्ठी लेखेर हुलाकमा खसाले । चिट्ठीको सारांश तल प्रस्तुत छ ।

गिल्डफार्ड होटल, स्याण्डबिच

११–८– १९१३

....खुब राम्रो, जाऊ । एउटी स्वास्नीमान्छे जानु प्रलय हुनु होइन । घाम लागिरहेको छ । यस्तोमा पौडी खेल्नु खुब राम्रो हुन्छ । र काम गर्न झन् स्फूर्ति । म एक्लै बस्न सक्छु । मभित्र ठूलो घाउ भएको छ ।

तिमीले मेरो परीक्षा लिएकी हौ । तिमीलाई मसंग सुख भएन । मैले तिमीलाई न सुख दिन सकें, न आराम नै ।  तिम्रो मन बहलाउन पनि सकिन् । आखिर यही सिद्ध भयो– वास्तवमा हाम्रो मित्रतामा कुनै अनौपचारिकता नै थिएन । म कति प्रसन्न थिएँ , कति लापर्वाह र कति खुशी ।

बेलुका खाइसकेपछि तिम्रो खोजीमा कुद्दै कुद्दै बाटोभरि गीत गाउँदै (जबकी विहान म ८ माइल हिँडेको थिएँ र आफ्नो नाटकको एउटा दृश्य लेखेको थिएँ ।) तर जुन घडी मैले तिमीलाई आफ्नो उपस्थितिले गर्दा झर्को पारेको देखेँ ।

यस्तो हुनु ठीक होइन । अनि मलाई स्वस्थ व्यंग्यपूर्ण निद्राले घेर्‍यो । के भनौं तिमीमा अलिकति धैर्य छैन् । अलिकति पनि मगज छैन् । तिमी १८ औं शताब्दीको त्यो कार्टुन मात्र हौ, हेडा गोबलरले बर्न जोन्सको गुन्द्रीमा झरेर अचम्मलाग्दो अत्तरहरूले सजाएर मजालाग्दो बनाएको थियो । तिमी केही पनि जान्दिनौं, जे जान्दछ्यौ गलत जान्दछ्यौ ।

ईश्वरले तिमीलाई सहायता गरुन । दिउँसोको उज्यालो तिमीलाई तिर्मिराउँछ । तिमी जिन्दगीको पछि पछि लुकी लुकी दौडिन्छ्यौ । जब जिन्दगी नै घुमेर पाखुरा तिमीतिर फिजाउँछ, तिमी पिठ्यूँ फर्काइ दिन्छ्यौ, आतिन्छ्यौ, कराउँछ्यौ । तिमी पुरुषका लागि अपमान हौ । उसको बुद्धि भ्रष्ट गर्ने आइमाई हौ । तिमी उसको हिरा जडिएको मुकुट बन्न सक्दिनौ ।

तिमी उल्लू हौ, जो दुई दिनमा नै मेरो सुखको प्रकाशले तिलमिलायौ । मैले तिमीसंग केही बढी राम्रो व्यवहार गरें । मैले तिमीलाई आफ्नो कल्पनामा मूर्त बनाएँ । आफ्नो मन, मस्तिष्क तिमीमा अर्पित गरें ।

यी दुई चीज म सारा दुनियाँलाई दिन्छु । यसैले कि तिमी यिनबाट के चाहन्छ्यौ, बनाऊ । तिमीले यी बाट के बनायौ ? आखिर टाढा भाग्यौ । केही छैन, जाऊ मेरो विचारको बाजा प्राणवायुले तिम्रो कलिलो फोक्सोलाई पोल्छ होला । तिमीलाई जर्जसंग विवाह गर्नु नै थिएन ।

अन्त्यमा, तिमी उसबाट पछि हटौली या एउटा खुब बलियो हृदयले तिमीलाई आफूबाट पर धकेलिदेला । तिमीले मेरो अहंमा चोट पुर्‍याएकी छौ । ....कस्तो अकल्पनीय दुस्साहस हो यो । कस्तो अदम्य अपराध...., ल त विदा मागें । जसलाई मैले माया गरें ।

बर्नाड शा

११–८–२०१३

..ओहो, मेरो डाहा अझै शान्त भएको छैन् । धेरै गाली गर्न सकेको छैन् । तँ कस्ती नीच दुरात्मा होस् , तैंले मेरो आत्मालाई घरिघरि चिथोरि रहेकी छस् , तानिरहेकी छस् । आफ्नो जीवनको ५७ वर्ष मध्ये २० वर्ष यातना भोगेर ३७ वर्ष परिश्रम गरें । अनि बल्ल एकपलको आनन्द पाएको थिएँ । तँसंग प्रेमचर्या गर्न मैलै आफैंलाई खसाएँ । मैले मित्रताको गहिरो जरा उखेल्न र आफ्नो पवित्र सम्बन्ध नष्ट गर्नसम्म खतरा स्वीकार गरें । मैले सुख्खा बालुवामा साहससंग पाइताला जमाएँ ।

म झूटो प्रकाशपछि अन्धकारमा कुदें । के गरिरहेछु भन्ने जान्दाजान्दै मैले स्त्रीको प्राचीनतम धोखालाई प्राप्त गर्ने कोशिस गरें । एकमुठी सुकेका पात हातमा लिएर मैले भने– ‘म यिनलाई सुन मानेर ग्रहण गर्छु ।’

यस्तो निर्णय गरेर म उजाड समुद्रको किनारमा ओर्लिएँ, जहाँबाट रेक्सगटका बत्ती देखिरहेको थिएँ । यी बत्ती स्वर्गको पर्वतमा बस्ने अतिथि सेवक देवताको शिविरमा बलेका बत्तीजस्तै देखिन्थे । मैले भने– ‘ग्रह सात हुन्छन, कष्ट सात हुन्छन् । स्वर्गको रानीका दरबारमा सातवटा तरबार थिए । र म पनि आफ्नो लागि सात दिन माग्छु ।’

ती दिन शुरु भए, तर मैले रोकिराखें । म लोभी थिइँन । म ती दिनमध्ये अन्तिम दिनहरूलाई बढी रमाइलो बनाउन चाहन्थें । तिमीले झर्को मान्यौ । हाईहाई गर्न लाग्यौ । बाँकी पाँच दिन विताउन कुनै रद्दी ठाउँमा नोकर्नी र ड्राइभरसाथ बेपत्ता भयौ । भगवान गरुन, त्यहाँ तिमीलाई यति नरमाइलो लागोस् कि निरास भएर आफ्नो नोकरसंग कहीँ हिँड्न परोस् ।

तिमी कुनै स्त्रीको प्रेतभन्दा पनि वाहियात छौ । उ कमभन्दा कम घृणा त गर्न सक्छ । आफूमा दृढ हुनसक्छ । तिमीले त न माया गर्न सक्यौ, न घृणा । दीन, दुरात्मा म आयरल्याण्डबासी हुँ । यो रोमन क्याथोलिक प्रवृत्ति कसरी सहन सक्छु ?

यो अकाल प्रौढ, उद्दीपन भावुकतालाई, यो साँघुरो विचारलाई, यो अज्ञानलाई र यो बाध्यतालाई जुन अरुमाथि लादिन चाहन्छ । यो कसैको अनुशरण गर्दैन र सक्दैन पनि । यसले कुनै तार्किक परिवर्तन ल्याउँदैन् ।

ऊसंग प्रेमशक्ति बाहेक अरु कुनै शक्ति छैन् । रुपको बोली शिवाय अरु कुनै बोली छैन् । मैले तिमीलाई स्वतन्त्रता र सहयोगिताको क्षेत्रमा ल्याउन आँट्दा तिमीमाथि भनेका संस्कारहरूलाई मेरो सामुन्ने राखिदिन्छ्यौ ।

ए तार्किक मन । ए शुक्ष्म दृष्टि । यस छिचरो प्राणीसंग उचित व्यवहार गर्नका निम्ति सम्भव छ भने यससंग राक्षसी बद्ला लिनका निम्ति मलाई आवश्यक विवेक प्रदान गर । यस स्त्रीका निम्ति मैले जति असल साथीहरू उपेक्षा गरें, ती सबै मसंगै उभिउन । यसलाई बदनाम गर्नेहरूलाई पनि म स्वागत गर्छु । अनि म उसलाई भनुँला, तिमी आफ्नो विष थुकिदेउ, आफ्नो बदमासी बाहिर फ्याँक र ईष्र्या उकेलिदेउ ।

यति कि तिम्रो हृदय स्वच्छ होस् । तैपनि तिमी सच्चाईमा पुग्न सक्तिनौ र उसको मित्र, ऊ द्वारा छलिएका व्यक्ति र उसका प्रशंसकहरूसंग म भनुँला– तपाईंहरू जे भन्नुहुन्छ, त्यो साँचो त हो, तर त्यो आधासम्म पनि होइन ।

वास्तवमा त्यो केही पनि होइन । त्यो स्त्री स्वर्गपरीको वीणाको तारलाई पार्सल बाँध्नका लागि चुँडाउने खालको हो, त्यसले मेरो हृदय वीणाको तार यसै गरी । भो, अब पुग्यो । म सुत्छु । मलाई निद्रा लागेको छ । .....

बर्नाड शा, सेण्डबिच,

१२–८–१९१३

......आज रमाइलो दिन बन्न सक्थ्यो । म के बनेको छु ? यी यतिका वर्षमा मैले थोरै मान्छेलाई चोट पुर्‍याएको छु । तर, त्यही भावना जुन भावना डाक्टरले तिम्रो औंला दुखाएको थियो । शायद कतिपल्ट निक्कै दुखायो होला । तर, कहिले पनि इश्र्यावश होइन । ती दर्दनाक औषधिहरूको लेप विना होइन, जसलाई मेरो तुरुन्त बुद्धिले खोज्न सक्यो ।

मैले कहिल्यै झूठो, अन्यायपूर्ण अथवा द्वेषपूर्ण कुरा गरिन, र गर्न पनि चाहिन । र आज झूठ, द्वेषपूर्ण, घृणाजनक, नीच, तुच्छ कुरा म भन्न सक्दछु । यदि त्यसले तँलाई चोट पुर्‍याउन सक्छ भने । म तँलाई चोट पुर्‍याउन चाहन्छु । किनभने तैंले मलाई चोट पुर्‍याएकी छस् । बद्नाम, नीच, हृदयहीन, दुरात्मा, दुष्ट, फटाहा, ओठ फटाहा, आँखा फटाहा, फटाहा हात, बचन भंग गर्ने धोकेबाज विश्वासघातिनी ।

प्रथम खाजा खानुभन्दा पहिले पौने आठ बजे म नुहाउँछु । अब द्वितीय, आऊ नुहाउन जाउँ । (मुसुमुसु गर्दै नोकर्नी बाहिर आउँछे ।) उहाँ त गइसक्नुभएको छ श्रीमान् ।  के आज ?’ मैले सोचें, यो भोलिपल्ट थियो । यस बुढो खेलाडीको आवाज अथवा मुस्कुराहट कति राम्रो भयो होला, जो कुरा लुकाउने कोशिस गर्दैन, यद्यपि उ गर्दछ । एउटा मानव हृदयले कसरी यस्तो ठोकेर हिर्काउन सक्यो ? र, यही अपराधलाई मैले क्षमा गर्नु छ । स्टेला, किन यस्तो गरेकी छौ तिमीले ?

.....र तिमी । तिमी कहाँ गयौ ? के तिमीले आराम पायौ ? के तिमीले त्यहाँ आनन्दपूर्वक दिन वितायौ ? यदि यस्तै भएको हो भने म तिमीलाई क्षमा दिन सक्छु । तिम्रो सुखद कामना गर्न सक्छु । होइन, भने ए दुष्ट ! म तेरो टुक्रा टुक्रा गर्न चाहन्छु ।

शालाई स्टेला क्याम्पवेलको जवाफ

....ए आवारा अन्धा, शब्दजाल बुन्न सिपालु रिसले पिरोपिरो भएको सत्य लुकाउने, तुच्छ दीन पुरुष । यस्तो पुरुष, जसको एउटी मामुली स्वास्नीमान्छे बुझ्ने योग्यता पनि छैन् । तर जेहोस तिमी मेरो मित्र नै हौ । तिम्रो कुनै केटी छैन, जसले लालसा शान्त गरिदेओस् । कुनै सानो बच्चा छैन, जुन तिम्रो व्यंग्यपूर्ण बकवास कम गरोस् ।

म तिम्रो सवै कमीहरूको शिकार किन बनौं ? ए कुचो र खर्पन लिएर हिँड्ने तथाकथित सुधारक । तिमीभित्र व्यंग्यको पटाखा र फटाईंको खरानी भरिएको छ । आफ्नो झुत्राहरूले बेरिएकी या सुन्दर भुषामा सजिएकी म, मेरो अन्तरात्मामा एउटा चाँदीको दीपक बन्छ र तिमीसंग यही चाहन्छु, त्यसको ज्योति तिमी बल्न देउ । म तिमीसंग यही प्रार्थना गर्दछु । मेरो मित्र, हर दशामा मेरो प्यारो मित्र ।

स्टेला


प्रस्तुति : राजु सुवेदी ‘कल्पित’

 प्रेमपत्र जर्ज बर्नाड शा बेलायती अभिनेत्री क्याम्पवेल प्रेमिका