भिडियो कभर स्टोरी राजनीति

नाम जनजागरण, काम भण्डाफोर

नाम जनजागरण, काम भण्डाफोर

नेपाली कांग्रेसले बैशाख ११ गतेबाट देशभर संचालन गर्ने भनेको जनजागरण अभियान सरकारबिरुद्धको भण्डाफोर अभियान हो । सरकारका कारण संघीयता, धर्मनिरपेक्षता, समावेशिता मात्र होइन गणतन्त्र नै धरापमा परेको भन्दै कांग्रेसले देशका ७७ वटै जिल्लामा संविधानको रक्षा र सरकारका गलत कामका बारेमा अभियान चलाउन लागेको हो । 

 


संविधानमा प्रतिबद्ध

 


कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङका अनुसार सरकारप्रति लचिलो हुँदाहुँदैपनि बर्तमान सरकारका गतिविधि मुलुक र जनताका लागि नै खतरा सावित भएपछि जनतालाई व्युँझाउन देशब्यापी अभियानमा जानु परेको हो । 

">


‘दुई तिहाईको दम्भका कारण लोकतन्त्र खतरामा पर्न थाल्यो, प्रेसमाथि नियन्त्रण दैनिक बढिरहेको छ, जनताका अधिकार एकपछि अर्को गरी कुण्ठित हुँदैछन्, अपराधिलाई संरक्षण र निर्दोषलाई सजाय हुने स्थिति देखा परेको छ, यस्तोबेला यो सरकारलाई कसरी ठीक भन्नु ?’ नेतृ गुरुङको तर्क छ । 

 


उनी भन्छिन्, ‘नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले संविधानको रक्षा गर्नुपनि कांग्रेसको कर्तव्य हो । अहिले संघीयतालाई असफल बनाउन, धर्मनिरपेक्षता हटाउन, गणतन्त्र मास्न बिभिन्न चलखेल भैरहेका छन् । यी क्रियाकलापबिरुद्ध जनतालाई सजग गराउन जरुरी छ । यसकै लागि हाम्रो अभियान हो । ’

 


जसले जे जस्तो हल्ला चलाएपनि कांग्रेस संविधान कार्यान्वयन गर्न इमानदार भएकाले मुलुकमा राजसंस्था फर्किने कुरा कल्पनाभन्दा बाहिर भएको उनी बताउँछिन् । 

 


कांग्रेस एकढिक्का

 


नेतृ गुरुङका अनुसार कांग्रेसमा बिभिन्न मुद्दामा मतान्तर भएपनि पार्टी एकढिक्का छ । नेताहरुबीच पार्टी संरचना र जिम्मेवारीका बिषयमा केही विवाद जस्तो देखिएपनि त्यसले राष्ट्रिय अभियान र मुलुकलाई दिने योगदानमा केही फरक पर्ने छैन । 

 

">
केन्द्रीय सम्पादन समिति गठन, नेबिसंघ तदर्थ समिति, बिभिन्न बिभागहरुको गठन लगायका बिषय पनि चाँडै टुंगिने उनको बिश्वास छ । 
पार्टीमा नेतृत्वप्रति बितृष्णा उत्पन्न गराउने गरी भैरहेका गतिविधिलाई अनुशासन समितिले गम्भीरतापूर्वक लिएको समेत उनले बताइन् । जिल्ला सभापतिहरुका गतिविधि, उनीहरुका कामलाई नेतृत्व पङ्तीबाटै भैरहेको मलजल लगायतका बिषय तत्काल रोकी आर्थिक उन्नतीको मार्गमा लाग्नु नै अबको बाटो भएको उनको भनाइ छ । 

 


आन्दोलन

 


जनजागरण अभियानकाक्रममा जनताको भावना बुझी आन्दोलन घोषणा हुनसक्ने छ । सरकार एकपछि अर्को गर्दै तानाशाही शैलीमा अघि बढेकाले जनताको अधिकार रक्षा गर्न कांग्रेसले आन्दोलनको बाटो तय गर्न सक्ने छ । 

 


‘यसका लागि इतिहासमा जस्तै के प्रजातान्त्रिक के बामपन्थी सबै शक्तिलाई एकीकृत गरी सरकारबिरुद्ध उतार्न सक्ने तागत कांग्रेसमा अझै छ । हेर्दै जानु होला, भविश्यको परिणाम पनि । ’ गुरुङले भनिन् । 

">