फोटो व्यापार अपराध सुरक्षा

नक्कली सुनकाण्डको चर्चा सेलाउन नपाउँदै राजधानीमा लसुनकाण्ड

नक्कली सुनकाण्डको चर्चा सेलाउन नपाउँदै राजधानीमा लसुनकाण्ड

काठमाडौं । साढे ३३ किलो सुनकाण्ड र प्रहरीले बरामत गरेको भनिएको नक्कली सुनकाण्डको चर्चा सेलाउन नपाउँदै यतिखेर राजधानीमा अर्को अनौठो काण्ड सार्वजनिक भएको छ । राजधानीमै वन लसुन भन्दै नक्कली लसुन भिडाएर ८४ लाख रुपैयाँ ठगी भएको घटना बाहिरेको हो । 


महानगरीय प्रहरी परिसर काठमाडौंको अपराध अनुसन्धान विभागमा नक्कली लसुन बचेर लाखौं ठगी गरेको उजुरी परेपछि अहिले विभागले यस विषयमा अनुसन्धान थालेको छ । 

 

होम बहादुर बिक नाम गरेका एक व्यक्तिले नक्कली लसुनसहित प्रहरीमा जाहेरी दिएपछि यो घटना बाहिरिएको हो । बिकले ३ सय केलोग्राम बराबरको वन लसुन ८४ लाख रुपैयाँमा किनेका थिए ।

 

उनले उक्त लसुन वनस्पति विभागमा जाँच गराँउदा दुर्लभ वन लसुन नभएको पक्का भएको छ। हेर्दा लसुन जस्तै लाग्ने तर कुनै गन्ध नआउने सेतो वस्तु अहिले प्रहरीले बरामद गरेको छ । 

 

अन्नपूर्ण संरक्षित क्षेत्र र पश्चिमका हिमाली जिल्लामा पाइने वन लसुन दुर्लभ औषधीजन्य वनस्पति मानिन्छ । सरकारले दुई वर्षमा एकपटक खन्न अनुमति दिने यस्तो लसुन १४ देखि ३० हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गर्छ। 

 

करिब २ हजार ५ सयदेखि ५ हजार मिटरसम्म उचाइमा रहेको जंगलमा वन लसुन पाइने गर्छ । तर महानगरीय प्रहरीकाअनुसार कार्यालयमा उजुरी सहित ल्याइएको ३ सय किलो सेतो पदार्थ नक्कली वन लसुन हो। 

 

मकवानपुरका सुरेश भुजेल मार्फत काठमाडौं सोल्टीमोडकी माया तामाङबाट होमबहादुरले खरिद गरेका थिए। ठगिएको थाहा पाएपछि पैसा फिर्ता गराउन उनी प्रहरी शरणमा पुगेका हुन्।

 

प्रहरीमा होमबहादुरले जाहेरीसहित जिल्ला वन कार्यालय लमजुङ र काठमाडौंले वन लसुनको ओसारपसारका लागि दिएको छुट पत्र समेत समावेश गरेका छन्। यसले दुई जिल्लाका वन कार्यालय समेत घटनामा ठगिएको पुष्टि भएको छ।  

 

होमबहादुरलाई माया, सुरेश, राकेश रोक्का र पासाङ लामाले योजना बनाएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। परिसर प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार माया र पासाङलाई नियन्त्रणमा लिई ठगी मुद्दामा कारबाही अघि बढाएको छ। ठगी धन्दाका अर्का दोसी राकेश भने फरार रहेका छन्। 

 

बरामद नक्कली लसुन विभिन्न ब्यक्तिलाई ठगी गर्ने साधनका रुपमा दुरुपयोग भएको पाएका छौं,’ एसएसपी लामाले भने ‘यस प्रकारको ठगी बढ्न सक्छ। सर्वसाधारण सचेत हुन जरुरी छ।

 

वन लसुन कानुनी एवं गैरकानुनी दुवै किसिमबाट तिब्बततर्फ निकासी हुने गरेको छ । घाउ लागेको ठाउँ तथा शल्यक्रिया गरेका बिरामीका लागि औषधिका रूपमा यो प्रयोग गरिन्छ।

वन लसुन