रोजगार मेरो परिवार मेरो कथा सफलताको कथा कभर स्टोरी

मकै बेचेरै महिनामा ७५ हजार ! पढ्नुहोस् लक्ष्मीको कथा

- शकुन्तला लोथ्याल

मकै बेचेरै महिनामा ७५ हजार ! पढ्नुहोस् लक्ष्मीको कथा

काठमाडौं । हरेक दिन जब मध्याह्न १२ बज्छ अनि उनको पसल सलबलाउँछ । काठमाडौंस्थित मैतीदेविको रातोपुल सडकछेउमा छ उनको पसल । उनी अर्थात् लक्ष्मी बस्नेत, दुब्लीपात्ली, झट्ट हेर्दा चालीस पुगेकी जस्ती  देखिने मकै व्यापारी ।

 

मीठो मुस्कानले ग्राहककाे स्वागत गर्ने लक्ष्मीकाे ठेलामा मध्याह्न १२ देखि बेलुका ८ बजेसम्मै  छुम्मिन्छन् ग्राहक । लक्ष्मी दिनमै दुइ हजारदेखि दुइ हजार पाँचसयसम्मकाे मकै बेच्छिन् । 

 

३६ वर्षीया लक्ष्मीको घर रामेछापको मन्थली नगरपालिकामा हाे । हाल उनी मैतीदेवीमा श्रीमान् र दुई छोरीसँग एक कोठा भाडामा लिएर बस्छिन् ।

 

पैसा विदेशमा मात्र कमाउन सकिन्छ भन्ने नेपाली गलत मानसिकतालाई तोड्ने अचुक अस्त्र हो लक्ष्मीको मकै पसल। उनले स्वदेशमै आफ्नो इलम र परिश्रमबाट सुन्दर भविष्य बनाउन सकिन्छ भन्ने उदाहरण दिएको छन् । स्वदेशमै आधादिन दुःख गर्दा  उनले मासिक ७५ हजारसम्म आम्दानी गरेर देखाएकै छिन् । 

 

१६ वर्षकै उमेरमा विवाह भयो । पढाइ लेखाइ त्यस्तै भयाे ।  उनलाई त कालाे अक्षर भैँसी बराबर थियो पढाइ लेखाइ । तर पढ्न रहर समय र समाजले छक्न सकेन । प्रौढ शिक्षाबाट उनले साँवा अक्षर चिनन्। सानातिता जोड घटाउ जानिन् । त्यही प्रौढ शिक्षाको ज्ञानले अहिले उनलाई व्यापार गर्न सहज भएको छ ।

 

उनको तीनजना छोरी छन् । नेपाली समाजमा छोरा नभए भोलि कस्ले पाल्छ? भन्ने प्रश्न धेरैको मुखबाट सुनिन्छ । बूढेसकालको सहारा छोरा नै हुन्, छोरी पराइ घर गइहाल्छन् । छोरीमात्र हुने घरको बंश नै नाश हुने, छोरा नभए मरेपछि स्वर्ग जान नपाउने जस्ता यावत मान्यता अझै पनि व्याप्त छन् । जुन प्रचलन र मान्यतामा उनको आफन्त र परिवारको पनि विश्वास ताजा नै छ । त्यही कारण उनले प्राय घरपरिवार र आफन्तहरूको  किचलो सुन्नु पर्ने र उनीहरुबाट हेपिनु पर्‍यो ।

 

श्रीमान पनि अशिक्षित भएकै कारण बेरोजगार, घरको कमजोर आर्थिक स्थिति, त्यही माथि तीन जना छोरीहरुको पालनपोषण, शिक्षादिक्षाको जिम्मेवारीले गर्दा श्रीमानसँग पनि मनमुटाब हुने गर्थियो । अनेक पीडा र अभावबाट पिल्सिएकी उनीमा एकाएक समाजसँग विद्रोह गर्न मन लाग्यो । उनले साना दुई छोरी टिपेर काठमाडौं हानिन् । आएलगत्तैबाट उनले मकै बेच्न शुरु गरिन् । राम्रो आम्दानी हुन थालेपछि परिवारमा पनि सम्बन्ध सुद्धियो । उक्त व्यवसायबाट राम्रो आम्दानी प्राप्त हुन थालेको एक वर्षपछि उनको श्रीमान पनि उनको काममा सहयोग गर्न काठमाडौं बोलाइन् ।

आजभोली श्रीमान-श्रीमती दुवै मिलेर उक्त व्यवसाय गर्दै छन् ।

 

उनको श्रीमानले कालीमाटीबाट प्रति मकै १० रुपैयाँले मकै किनेर ल्याउँछन् भने मकै पोल्नलाई दाउराको प्रतिकेजी २० रुपैयाँमा मैतीदेवी क्षेत्रबाट जाहो गरी उनलाई सजिलो गरिदिएका छन् । उनी भने मध्य दिउँसो १२ बजेदेखि बेलुका ८ बजेसम्म मकै बेच्दै व्यस्त हुन्छिन् । श्रीमानले मकै बेच्नमा पनि प्रायजसो सहयोग गर्ने उनी बताउँछिन् । यसरी दिनमा सय घेागासम्म मकै बिक्री गरी मासिक ७५ हजारसम्म आम्दानी गर्छिन् । जसमा मकै र दाउरा किन्दा ३५ हजारजति खर्च लाग्ने बाकी ४० हजार नाफा हुने गर्छ ।

 

यो व्यवसायका लागि एक ठेलागाडा अनिवार्य र बाकी मकै र दाउरा  चाहिन्छ । यो व्यवसाय करिव १२ हजारसम्मको लगानीमै शुरु गरेर राम्रो आम्दानी गर्न सकिने भए पनि दिनभरी सडकको धुलो, आगो बाल्दा निस्कने धूवाँ खेप्नुपर्ने जस्ता बाध्यता हुने बस्नेतको अनुभव छ । आगोमा दिनभरी मकै पोल्दा हात धूवाको मुस्लोले हेरिनसक्नु हुन्छ उनको । मुसोले कालो भएर फुटेको हात देखाउँदै बस्नेत भन्छिन्, ‘मेरो हात कुकुरलाई 'ल खा' भनेर दिए पनि खादैन होला ।’

 

१६ वर्षकी जेठी छोरी भने गाउँमै हजुरआमासँग बस्छिन् । अब आउने चैतमा छोरीको (एसइइ) परीक्षा सक्केपछि उनलाई पनि यतै ल्याउने उनले बताइन् । उनी छोरीलाई शिक्षित बनाएर छोरा मात्र नभएर छोरी पनि बूढेसकालको सहारा बन्छन् भन्ने त्यो समाजलाई देखाउन चाहान्छिन् ।

 

देशमा कामको अवसर र भविष्य नदेखेर विदेशिने नेपाली युवाजमातलाका लागि उदाहरण हुन् बस्नेत जोडी । मकै पोल्दै गर्दा धूवालाई छिचोल्दै भन्छिन्, ‘देशमै छ सुन्दर भविष्य, बस् मिहिनेत र परिश्रम गर्नुपर्छ । देशमा केही छैन्भन्दा पनि सबथोक छ भनेर इलम गरे सफल भइन्छ ।’

मकै व्यापार लक्ष्मी बस्नेत मैतीदेवी मेरो परिवार मेरो कथा