मुख्य समाचार

समाज

‘माओवादी मजदुर’मा ऋणको पिरलो

मङ्गलबार, २९ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

‘माओवादी मजदुर’मा ऋणको पिरलो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माउ पार्टी एकतापछि भ्रातृ संगठन एकताको कार्यदल बनाइसकेको छ । तर, तत्कालीन माओवादीको मजदुर संगठनभित्र भने सरकारी कोषको ऋण पिरलो बनेको छ ।

 

युवा स्वरोजगार कोषमार्फत आठ वर्षअघि लिएको ऋण तिर्न नसक्दा तत्कालीन माओवादीको भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ आन्तरिक विवादमा फसेको हो । ०६८ सालमा महासंघले मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका नाममा ५ करोड रूपैयाँ ऋण लिएको थियो ।

 

पेट्रोल पम्प, सहकारी पसल, गाई फार्मलगायत स्वरोजगारमूलक काम गर्ने उद्देश्यले उक्त सहकारीको नाममा मजदुर संगठनले युवा स्वरोजगार कोषबाट राजनीतिक पहुँचका आधारमा ऋण लिएको थियो ।

 

राजनीतिक प्रभावका आधारमा ठूलो रकम ऋण लिएको भन्दै त्यतिबेलै आलोचना खेपेको मजदुर संगठनले सावा-ब्याज नै नतिर्दा अहिले समस्या आएको हो । उसले अहिले पनि ४ करोड ४७ लाख रूपैयाँ तिर्न बाँकी छ ।

 

कोषको ऋण तिर्न नसक्नु र लगानी गरेका आयोजना असफल हुनुमा मजदुर नेताहरूको व्यक्तिगत लाभहानी प्रमुख कारण रहेको संगठनभित्रैबाट आरोप लागेको छ ।

 

विवाद बढेसँगै महासंघको २५ जेठमा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष जय कार्कीको नेतृत्वमा ५ सदस्यीय छानविन तथा ऋण असुली समिति गठन गरेको छ । समितिमा मजदुर नेताहरू एसबी थापा, शालिकराम काफ्ले, प्रकाश श्रेष्ठ र घनश्याम ठकुरी सदस्य छन् ।