मुख्य समाचार

समाज

बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाए छैठौं पटक

आइतबार, ०२ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाए छैठौं पटक

भक्तपुर । मध्यपुर थिमीको बोडेमा आज छैठौं पटक बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन् । स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र गत वर्ष जिब्रो छेडाएका थिए ।

 

वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्नेकर्मी नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

 

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिँ बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ ।

 

बाँस एवम् निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप (भ्यय) बालेर जिब्रो छेड्ने व्यक्तिलाई बोकाई विभिन्न टोलटोलमा घुमाइन्छ ।

 

टोलटोल घुमाई पाँचोगणेशको रथलाई भागुटोल पुर्याएपछि नकर्मी नाइकेले जिब्रोमा रहेको सियो निकाली महालक्ष्मीको माटो जिब्रोको प्वालमा राखिदिन्छन् र सियो गणेश मन्दिरमा ठोकिदिन्छन् । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले नाट्यम्बरको पूजा गरेपछि मात्र बोल्न, खान र छुन हुने परम्परा छ ।

 

 

बोडेमा वैशाख १ गते बेलुकादेखि वैशाख २ गतेसम्म जात्रा हुन्छ । चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुन्जेलसम्म निराहर बस्नुपर्ने परम्परा छ ।

 

जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपंक्षी र महिलालाई छुन नहुने परम्परा छ ।