अभिलेख

आफ्नै छोरा कहाँ पढ्छन् भन्ने थाहा रहेनछ प्रचण्डपुत्र प्रकाश दाहाललाई !

प्रचण्डका नातिका नाममा हदैसम्मको बदमासी गर्दैछ यो स्कुल

सोमबार, १२ भदौ २०७४ गते मा प्रकाशित

angadh-singh-prakash-dahal-bina-nepalaaja

काठमाडौं । माआवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सहिद बेनोज अधिकारीकी आमाको विशेष आतिथ्यतामा शुरु भयो । ती वृद्धाले आफ्नो छोरालाई त्यस्तो युद्धमा गुमाएकी थिइन् जुन युद्धको एउटा प्रमुख मुद्धा शिक्षामा सबैको पहुँच र शैक्षिक क्षेत्रमा निजी क्षेत्रलाई निषेध थियो । सोही नारालाई सार्थक बनाउने उद्देश्यमा होमिएका बेनोजदेखि पुण्य पौड्याललगायतका सयौँले आफ्नो जीवन गुमाए । उनीहरुकै आहूतिको बलमा माओवादी सरकारसम्म पुग्यो । तीन पटक राज्यसत्ताको नेतृत्व लियो । तर, निजी क्षेत्रलाई निषेध गर्नुको साटो माओवादी शैक्षिक माफियाको मित्र बन्यो । ठूल्ठूला महंगा बोर्डिङमा माओवादी नेता कार्यकर्ताले निःशुल्क वा एकदमै कम शुल्क तिरेर आफ्ना सन्तान भर्ना गरे । 

जुंगाको रेखी बस्दा माओवादी आन्दोलनमा लागेका र निजी क्षेत्रको विरोधमा घाँटीको नशा फुलाउने गरी चिउरिएका विद्यार्थी नेताहरु विस्तारै बाउ बने । सौदाबाजीमा आफ्ना सन्तानलाई बोर्डिङ भर्ना गरे । त्यसैले शैक्षिक मुद्धा, शिक्षामा व्यापार र शैक्षिक माफियाका बारेमा सो संगठनको सम्मेलन मौनप्रायः रह्यो । यसरी शैक्षिक माफिया भनिएकाहरुसँग मित लगाइसकेपछि बेनोज, पूण्यको तस्बिर राखियो । आत्मा भने भुलियो । बेनोजहरुको आत्मालाई स्टेपिङ स्टोनलगायतका देशभरका निजी क्षेत्रबाट सञ्चालित विद्यालयले जिस्काइरहेका छन्, सायद । ललितपुुरस्थित स्टेपिङ स्टोन इन्टरन्यास्नल प्रि स्कुलको प्रचार शैली गज्जबको छ । भारतीय नागरिकको लगानीमा सञ्चालित सो विद्यालयले आफ्नो ब्राण्ड स्थापित गर्न माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री प्रचण्डको नामलाई प्रयोग गरिरहेको छ ।

‘प्रधानमन्त्री प्रचण्डका नाति त हाम्रोमा पढ्छन् !’ अनेक प्रश्नसहित आएका अभिभावकलाई एकै जवाफले निःशब्द बनाउने उपाय बनेका छन् प्रणव दाहाल जो स्टेपिङमा गत वर्ष भर्ना भएका थिए । प्रि स्कुल आफ्नो क्षमताका बारेमा भन्छ ः १५ महिनाको हुँदादेखि प्रधानमन्त्रीजीको नाति हाम्रोमा छन्, तपार्इंहरुले आफ्नो बच्चाको कुनै चिन्ता लिनु पर्दैन ।’

माओवादी ‘जनयुद्ध’ का क्रममा १७ हजार नेपालीको ज्यान गयो । अझै कति बेपत्ता छन् । कतिपय अझै घाइते अवस्थामै छन् । उनीहरुको उपचार हुन सकिरहेको छैन । जनयुद्धका क्रममा कति महिलाको सिउँदो पुछियो । कति बालबच्चा टुहुरा भए । माओवादी जनयुद्धको नेतृत्व अध्यक्ष प्रचण्डले गरेका थिए । जनयुद्धकै कारण प्रचण्डका सपरिवारमाथि अहिले पनि सुरक्षा थ्रेट छ । सुरक्षा थ्रेटको कुरा प्रचण्ड आफैले बेला बेलामा पनि उठाउने गर्छन् ।

तर, स्टेपिङ स्टोन इन्टरन्यास्नल प्रि स्कुलले भने सुरक्षा थ्रेटलाई चटक्कै बिर्सेर आफ्नो स्कुलको विज्ञापनका नाममा प्रचण्डका नाति आफ्नो स्कुलमा पढ्ने प्रचार गराइरहेको छ । सो स्कुलको यस्तो प्रचार हदैसम्मको बदमासी हो ।

माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको जारी सम्मेलनमा शैक्षिक मुद्धा ओझेल परेको र निजी शिक्षाको विरोध गर्दै जन्मिएको संगठन निजी विद्यालयकै अंशियार भएको आरोप सो संगठनलाई लागेको छ । सो संगठनका नेतादेखि माओवादीका अध्यक्ष प्रचण्डका सन्तानसमेत निजी विद्यालयकै विद्यार्थी भएको समाचार नेपाल आजमा प्रकाशित भएपछि प्रचण्डपुत्र प्रकाशले कडा अभिव्यक्ति दिएका छन् । भाडाका पत्रकारको आरोप लगाउँदै उनले आफ्नो छोरा कञ्चनपुरमा रहेको तस्विर पोष्ट गरेका छन् । त्यसलगत्तै नेपाल आजले स्टेपिङ स्टोनमा फोन गरेको थियो । विद्यालयका सञ्चालक अंगत सिंहले प्रचण्ड नाति आफ्नो विद्यालयमा पढिरहेको दाबी गरे । नयाँ भर्ना गर्नका लागि अभिभावक बनेर गरिएको संवादमा उनले विद्यालयमा फोन गरी थप बुझ्न आग्रह गरे । विद्यालयमा गरिएको फोनमा प्रणव केही दिनका लागि बिदामा रहेको र उनी आफ्नैमा भर्नारत रहेको जवाफ दिइयो ।

सो विद्यालयको भित्तामा प्रचण्डका नाति, बुहारी बिनाले छोरा स्कुल पु¥याउँदै गरेको तस्बिर राखिएको छ । विद्यालयका सञ्चालक अंगत सिंहले आफ्नो फेसबुकवालदेखि अन्तर्वार्तामा प्रचण्डपुत्र आफ्नो विद्यालयमा पढ्ने गरेको भन्दै प्रचार गरिरहेका छन् । ती तस्विर यहाँ पोष्ट गरिएको छ । प्रणव नाबालक छन् । सामान्य अवस्थामा उनी समाचारको पात्र बन्न सक्दैनन्, बनाउनुपनि हुँदैन । तर उनी असामान्य परिवारका पात्र हुन् र उनको विद्यालय भर्ना उनको परिवारको चाहनामा भएको हो ।

हिजो शैक्षिक क्षेत्रमा निजी लगानीलाई निषेध गर्ने लगायतका मुद्धामा रक्तपातपूर्ण युद्धको नेतृत्व गर्ने नेताको नवजात सदस्य पाइला टेक्ने नहुँदै निजी क्षेत्रकै विद्यालयमा भर्ना हुनु सामान्य विषय नहोला । माओवादी इतरका शक्तिका लागि यो त काइदाको कुरा भो । माओवादी नेता आफ्नै पथमा आउँदाको उन्माद उनीहरुमा नहुने कुरै भएन । माओवादीभित्र यसको विरोध हुने कुनै गुञ्जायस छैन, किनकी विरोध गर्नेको त्यहाँ भविश्य सायदै रहनेछ ।

                                                                     र यो पनि, 

                                                पजेरो चढेर पढ्न जान्छन् प्रचण्डका डेढ वर्षीय नाति

                                             प्रकाश दाहाल भन्छन्, 'मलार्इ बाेर्डिङ सञ्चालकले झुक्यायाे'