कभर स्टोरी मेरो परिवार मेरो कथा

अपांग शरीर लिएर २५ वर्ष भिख मागेका तिलबहादुर यसरी बने समाजसेवी (भिडियाेसहित)

अपांग शरीर लिएर २५ वर्ष भिख मागेका तिलबहादुर यसरी बने समाजसेवी (भिडियाेसहित)

 

कतिपय मानिसहरुलाई कुनै काम गर्नै पर्ने हुन्छ, नगर्दा बेचैन हुन्छ ।सहन नसक्ने स्थिति पैदा हुन्छ । अनी उसले त्यो काम गरेरै छाड्छ । तर, काम गर्ने बित्तिकै सबै कहाँ सफल हुन्छन् र ?त्यस्तै भएको थियो पाँचथरका तिलबहादुर कार्कीलाई । कार्की जन्मदै शारीरिक रुपमा अशक्त थिए । उनको दुबै हात रखुट्टामा ६ वटा औलाहरु थिए । साथै दुबै खुट्टा नचल्ने लुलो थियो । २४ वटा औला भएकै आधारमा उनलाई गाउँभरि नै ‘अलछ्निा’ भनियो । जन्मने बित्तिकै उनको आमालाई पूर्वजन्मको पाप बोकेको भनेर गाली गरियो । उनी अपांग जन्मेकै कारणले भगवानको श्राप लाग्छ भनेर उनी र उनको आमालाई परिवारबाट छुट्टै बस्न लगाइयो । उनी जन्मिएपछि उनीसंगै उनको आमापनि बाख्राको खोरमा थुनिएर बस्नुपर्यो । उनले यो कुरा अलि बुझ्ने भएपछि थाहा पाए, उनी अशक्त भएकै कारणले उनको आमाले समाजबाट गाली खाइरहन्थिन् । गाउँलेहरु नानाभाती भन्थे ।

उनकी आमा सधैँ रुन्थिन् । उनी आमासंगै रुन्थे । समाजले उनी र उनको आमालाई देखेपछि ‘यी अलछ्निाको अनुहार देखियो अब के दशा लाग्ने हो ?’ भन्दै मुन्टो बटार्दै हिड्थे । त्यस्तो अवस्थामा उनीसँग आफ्नो जिन्दगीलाई धिक्कार्नुबाहेक अरु कुनै बिकल्प थिएन् । उनी सानै थिए । कलिलै उमेरमा जीवनसँग मात्र हैन समाजसँग संर्घष गर्दै थिए । केही गरेर देखाउनुपर्छ भन्ने ईख लिएरस्कुल गए ।तर, स्कुलमा उनलाइ हेप्ने र नानाभाती भन्ने प्रवृती फेरिएन् ।उनलाई जिस्काउने मात्र हैन, पिट्थे, खाजा खोसेर खाइदिन्थे । त्यस्तो प्रवृतीले उनलाइ असह्य भयो । उनी २ दिनभन्दा बढी स्कुल जान सकेनन् । उनलाई आधार दिने कोही थिएन । जता गएपनि तिरस्कार मात्र खेपिरहनु पर्ने बाध्यता थियो । ‘त्यस्तो अवस्थामा आमाको धेरै माया लाग्थ्यो ।’ कार्कीले भने–‘आमालाई गरेको अन्याय आँखामा झलझली आयो । केही नसोचि आत्महत्या गर्न गए । तर, मर्न सकिँन ।’ उनले खेतको बालीको किराफट्याङग्रा मार्ने विष खाएका थिए । पटक पटक गरेर उनले सात पटक विष खाए । तर,उनको जीवनदेखि नै मृत्यु टाढा भागिदियो । बाँच्न नसक्ने भएका उनी मर्न सकेनन् । त्यसपछि उनको बैचैनी झन बढ्दै गयो । उनी गाउछोडेर हिडेँ । 

पाचँथरदेखि काठमाडौंसम्म

पाचँथर छोड्दा उनी जम्मा सात वर्षको कलिलो बालक थिए । विं सं २०३८ पुषको जाडो महिना थियो । गाडीहरु धेरै चल्दैनन् थिए । हिँड्दै झापासम्म आइपुग्दा उनलाई दुई महिना लाग्यो । झापाबाट कसैले थाहा नपाउने गरि उनी गाडी चढे । गाडीको हुटमा सामान छोप्ने त्रिपाल थियो । त्रिपालमुनि लुुसुक्क लुकेर झापादेखि काठमाडौंसम्मको यात्रातय गरे । उनी काडमाडौंको रन्तपार्कमा ओर्लिँदा काठमाडौं भन्ने चलन थिएन् । त्यतिबेला काठमाडौंलाई राजाको गाउँ नेपाल भन्थे । त्यो समयमा काठमाडौं धेरै नै सफा र सुन्दर देखिन्थ्यो । जाडोको समय थियो ।काठमाडौंमा परिचित कोही थिएनन् । के गर्ने कहाँ जाने केही थाहा थिएन् ।अशक्त शरीर लिएर भोकै नाङगै धेरै भौतारिए । पुष महिनाको जाडोमा मुटु फुट्ने गरि कठ्याङिग्रए । बल्लत तल्ल बानेश्वर एभरेस्ट होटेल पछाडिको गजुरी हाटेलमा भाँडा माझ्ने काम पाए । होटेलको साहुले राति अबेरसम्म सुत्न दिँदैन्थ्यो ।

ठूलो होटेल भएकाले धेरै भाँडा माझ्नु पर्थ्याे । खान र सुत्न समयको तालमेल थिएन् । पैसा पनि दिँदैनथ्यो । दुई महिनासम्म भाँडा माझ्दा हात साबुन र पानीले खायो । उनी काम गर्न नसक्ने भएका थिए । एकदिन होटेलमा आएको ग्राहकले उनको अवस्था देखेर कागजमा एउटा सस्थाको नाम नाम लेखेर दिए । त्यही कागजको चिर्कटोे लिएर सोध्दैखोज्दै उनी जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा पुगे । त्यहाँको पालेले उनलाई भित्र छिर्न दिएन । जुनबाटो आएको त्यही बाटो जानु भन्दै थर्कायो । उनी त्यहाँबाट भावविभार हुँदै फर्किए । होटेलबाट भागेर हिडेको उनलाई त्यही फर्कन मन लागेन् । अन्त जाने ठाउँ कतै थिएन् । हिँडडुल गर्न नसक्ने अवस्था थियो । हात घाउभएर कुहिएकोले शरीर दुर्घन्धित थियो । काम गर्न कसैले दिँदैनन् थिए । उनले त्यही आफ्नो कमजोरीलाई हतियार बनाउने बिचार गरे । सास थाम्नका लागि भएपनि मागेर खाने बाटो रोजे ।

मागेर खानुबाहेक उनीसँग अरु कुनै बिकल्प थिएन् । त्यहाँबाट उनी माग्दै हिड्न थाले । जोरपाटी, बौद्धलगाययत उनका मागने क्षेत्र थिए । माग्दा पैसा धेरै जम्मा हुन्थ्यो । सुत्दा विहान उठ्दा पैसा लुटिसकेकोे हुन्थ्यो । जाडोमा संगै सुत्न आएका साथीहरुले उनको पैसा लुटिदिन्थे । बिहान पैसा खोइभन्दा उल्टै कुट्न खोज्थे । लुटिने क्रम दिनानुदिन बड्दै गयो । लुट्ने साथीहरु उनीभन्दा ठूला र लागूऔषधका दुब्र्यसनीमा लागेका केटाहरु हुन्थे । सात वर्षको कलिलो बालक त्यसमाथि पनि शारीरिक अशक्तउनले प्रतिकार गर्न सक्ने अवस्था थिएन् । माग्नेलाई त्यो समयमा आठ–आना,चार–आना, पच्चिस पैसाको सिक्का दिने चलन थियो । माग्दा धेरै पैसा नभए पनि सिक्का भएको कारणले गाह्रौ हुन्थ्यो ।

जती लुकाएपनि आफ्नै साथीहरुले राति निदाएपछि चोरी गरिदि हाल्थे । मागेको पैसाले धेरै ठूलो केही गर्छु भन्ने सपना नभएपनि बिरामी पर्दा चाहिन्छ भन्ने सोच उनको मनमा थियो । मरिकाटे उनले पैसा जोगाउन सकेनन् । कसैलाई राख्न दिए पनि फिर्ता होला भन्ने विश्वास थिएन । सात वर्षे बालकले बैंकमा पैसा जम्मा गर्ने सम्भव पनि थिएन् । उनको कलिलो दिमागमा पैसा जोगाउने नयाँ विचार आयो । गुहेश्वरी मन्दिर छेउको झाडीमा रुखको फेद नजिकै खाल्डो खने । त्यो खाल्डोमा एउटा ठूलो बोरा हाले । त्यही बोरामा मध्यरातमा पैसा लगेर हाल्न थाले ।

उनी दिनभरी माग्थे । राति पैसा जम्मा गर्न गहेश्वरी मन्दिर जान्थे । यसरी नै समय चलिरहेको थियो । दिन महिना, हप्ता गर्दा गर्दै २५ वर्ष बित्यो । उनले पैसा जम्मा गर्दै गए । बिरामी पर्ने, भोकै सुत्ने र अनेक हण्डर उनको जीवमा दिनहूँ जस्तै आए । तर,खाल्डोको जम्मा गरेको पैसा झिकेनन् । हिँउदको चिसो, वर्षातको झरी र चैतबैशाकको गर्मीमा पनि मागिरहे । जाडो महिनामा बाथले शरीर चल्दैनथ्यो । त्यो अवस्थामा पनि उनले त्यो पैसा चलाएनन् । २०३८ सालदेखि माग्न थालेका उनी ६३ सालको अन्त्यतिर पैसा निकाल्ने योजना बनाउन थाले । ‘सपनामा दिनहूँ को को आएर पैसा निकाल् । त्यो पैसाले तँजस्ता अनाथ अपांको सहयोग गर् भन्थे ।’ कार्कीले भने –‘यसपछि मैले पैसा निकाल्ने बिचार गरे ।’

पाँच लाख एकमुस्ट देख्दा हर्टएट्याक भएर ढलेँ

५ वर्षदेखि एउटा खाल्डोमा राखेको पैसा उनी एक्लैलाइ निकाल्न गाह्रो थियो । उनी अरु जो पायो त्यहीलाई विश्वास गर्न सक्दैनन् थिए । किनकि, अरुलाई भन्दा लुुटिने डर थियो । त्यतिबेला गौशाला प्रहरी वृतका प्रहरी महानिरीक्षक जयराम सापकोटा थिए । सापकोटालाई उनले सबै घटनाको बेलिबिस्तार लगाए । उनको कुरा सुनेपछि सापकोटाले खाल्डोबाट पैसा निकाल्न सहयोग गरे । पैसा निकालेर साट्दा ५ लाख ५१ हजार जम्मा भएको थियो । सिक्का बाहेक कागजको सबै पैसाहरु कुहिएको थियो । सधै मागेर हिड्ने उनले पाँच लाखको एकमुस्ट रकम देखेका थिएनन् । त्यो रकम देखेपछि उनी मुर्छित बने । उनलार्इ उपचार गर्न महाराजगंजस्थित टिचिङ अस्पताल पुर्याइयो । त्यहाँबाट उनी सकुशल फर्किए ।

प्रहरी महानिरीक्षक सापकोटाले उनलाई सोधे–‘के गर्छौ यत्रो पैसा ? घरजग्गा जोड्ने हो ?’–‘हैन म यो पैसाले म जस्ताहरुको सेवा गर्छु । मैले देखेको सपना पूरा गर्छु ।’ उनले यस्तै जवाफ दिए । उनको कुरा सुनेपछि सापकोटाले खुसी हुदै उनलाई १० हजार आफ्नो तर्फबाट दिँदैभने–‘आँटेको काम पूरा होस्, खुसी रहनु, सुखी रहनु ।’


भिकारीदेखि समाजसेवीसम्म

त्यो पैसाले उनले विं सं २०६४ सालमा ७ जनाको टिम बनाएर जोइन्ट डिसेवल युनीटी आवाज नामक सस्था दर्ता गरे । सस्थामा द्वन्दपीडित, अपांग, अशक्त बालबालिकाहरु ल्याए । रुकुम, रोल्पालगायत विकट बस्तिका बच्चाहरु हुन् या बाबुआमा जेलमा परेका बच्चाहरु सबै बच्चाहरुलाई उनले सहारा दिए । भूकम्पपछिपनि उनको सस्थाले धेरै अनाथहरुलाई सहयोग गर्यो । उनको सस्थामा अहिले नर्सरी पढ्नेदेखि क्याम्पस पढ्नेसम्मका बच्चाहरु छन् । उनले अहिलेसम्म देशविदेशमा बस्ने नेपालीहरुको सहयोगबाट सस्था चलाइरहेका छन् । बालबालिकालाई पढाउन खुवाउन र बस्न दिन अत्यन्त गाह्रो छ ।स्रोतको लागि अशक्त शरीर लिएर एक ठाउँबाट अर्को ठाउँ धाइरहेका छन् । ४० जना बच्चा पाल्नको लागि अशक्त शरीर लिएर संर्घष गरिरहेका छन् । उनको सस्थामा कलाकारहरु जन्मदिन मनाउन आउँछन् । व्यावसायीहरु विवाहको वार्षिक उत्सव मनाउन आउछन् । यसरी नैसस्थामा विभिन्न पेशा व्यावसाय गर्ने व्यक्तिहरु आएर बच्चाहरुलाई खाना खुवाउछन् । लत्ताकपडा प्रदान गर्छन् । केही आर्थिक सहयोग गरेर जान्छन् । यसरी नै ती बालबालिकाहरुलाई सहयोग हुँदै आएको छ ।

बानेश्वरको शान्तिनगरमा स्थापना भएको उनको सस्था अहिले गोकर्णमा छ । शान्तिनगरबाट सरेर उनले गोकर्णमा जग्गा भाडामा लिएर टहरो बनाएका छन् । त्यो टहरो बनाउने स्रोत जुटाउन उनले महायज्ञ लगाएका थिए । महायज्ञमा उनले १६ जना अनाथ बच्चाहरुको ब्रतबन्ध पनि गराएका गराए । उनले बच्चाहरु राख्नको लागि राम्रोसँग टहरा बनाइसकेका छैनन् । बच्चा पाल्न अत्यतै गाह्रो भएपनि हिम्मत नहारेको कार्की बताउछन् । अहिले टहरो बनाउन सहयोग जुटाउँदै छन् । ‘सहयोगको धेरै खाँचो छ । बच्चाहरुको लागि धेरै गर्नुछ । म मरेर गएभने उनीहरुको के हुन्छ ?’ उनले भने–‘म मरेर गएपनि उनीहरुले बस्ने र अरु अनाथहरुको लागि केही गर्न सक्ने बनाएर मर्नुछ ।उनीहरु फेरि सडकमा आएभने मैले यत्रो गरेको केही अर्थ हुदैन् ।’

परिवारसँगको सम्बन्ध

२८ वर्षअघिदेखि उनी घरमा गएका थिएनन् । परिवारले उनको माया मारिसकेको थियो । काजक्रिया नै गरिसकेको थियो । उनलाई यसको बारेमा केही थाहा थिएन् । उनलाई घरपरिवारको भन्दा आफूले पालेको बच्चाहरुका माया लाग्थ्यो । उनी समाजसेवामा लागेपछि उनको चर्चा परिचर्चा हुँदै थियो । उनको घरका परिवारहरुले टिभी मार्फत उनी जिउँदै भएको थाहा पाए । त्यसपछि खोज्दै उनका परिवारहरु आए । उनको फेरि पुर्नजन्म गरेर न्वारान गरियो । अहिले परिवासँग राम्रो समबन्ध रहेको उनी बताउँछन् । सात वर्षको उमेरमा घर छोडेका २८ वर्षपछि परिवासंग पुर्नमिलन भयो । अहिले उनी ४४ वर्षको भइसकेका छन् । कार्की महिनामा १ पटक पशुपती आर्यघाट जाने बताउछन् । त्यहाँ जादा मनमा शान्ति मिल्ने उनको तर्क छ । उनले कहिलेकाही पशुपतीमा माग्न बसेकाहरुलाई खानासमेत खुवाउने गरेका छन् । भन्छन् – ‘अचानोको चोट अचानोले नै बुझ्छ खुकुरीले बुझ्दैन् ।’

प्रचण्ड सरकारले अनाथको पैसा पचायो 

उनी नेपाल सरकारले अनाथ अपांगलाई कहिल्लै नहेरेको बताउँछन् । सरकार र राजनीतिक दलका नेताहरुले अनाथ बालबालिकाहरुलाई आएको पैसामा बार्गेनिङ गर्ने गरेको उनको आरोप छ । ‘२०६५ मा बनेको प्रचण्ड सरकारमा पम्फा भुसाल महिला तथा बालबालिका मन्त्री थिइन् । सरकारले १० लाख दिने कुरामा पनि उनीहरुले दिएनन् ।’ कार्कीले भने– ‘त्यहाँका सचिव र अन्य कर्मचारीहरुले १० लाख पैसामा ३ लाख पैसा पाउनुहुन्छ । अरु हामीले पावर लगाएकोले त्यो हाम्रो हुन्छ भने ।’ त्यस्तो प्रतिक्रिया आएपछि त्यो पैसा उनले नलिएको बताउँछन् ।

उनलाई अहिले विभिन्न संघ सस्थाले विभिन्न सम्मान गरेको छ । पछिल्लो समय सरकारबाट पनि सम्मानित भएका छन् । उनले गरेको काम बुझ्नेजतिले उनलाई राम्रो भनेका र सहयोग गरेका छन् । तर उनी सम्मानमा हैन अनाथका लागि सहयोग गर्न आग्रह गर्छन् । गास बास र कपासबाट बञ्चित बालबालिकाहरुको जीवन बदल्न आग्रह गर्छन् । यस्तो सोचले उनलाई ‘रियल लाइफ हिरो’ भन्ने धेरै छन् । उनी असली जीन्दगीका हिरो त हुन नै, आफ्नो जीन्दगीमा आधारित रहेर चलचित्र पनि बनाएका छन् । त्यसमा आफू जन्मेको ठाउँमा गएर सुटिङ गराएका छन् । आफ्नो जीन्दगीको कथा भएकाले आफैँ अभिनय पनि गरेका छन् ।

‘जो जति सक्छ, त्यति नै गर्छ । तपाईहरु पनि जति सक्नुहुन्छ त्यति नै गर्नुस् ।’ उनी बारम्बार आग्रह गर्छन्– ‘मेरो सपना भनेको नै मैलै पालेको जस्ता अनाथ बालबालिकाहरु अरु सडकमा नहुन् । सबै बालबालिकाले पढ्न पाउन् । खान पाउन् । बस्न पाउन् । सबैजनाले सानै भएपनि योगदान गर्नुहोस् ।’ प्रस्तुतिः सागर बुढाथोकी  

अपांग तिरस्कृत तिलबहादुर कार्की समाजसेवी